सानो झुप्रोमा ६५ बर्षिया सिवर्तीको ठुलो व्यथा

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विजय कुमार सिंह/राजकरण महतो

जनकपुरधाम, १३ फागुण ।

(नागरिकते नै है त वृद्धा पिल्सिन कतसँ भेटत) नागरिकता नै छैन भने वृद्धा पेन्सन कहाँबाट भेट्छ ? लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडाकी ६५ वर्षीया सिवर्ती सदा (मुसहर) भन्छिन् ‘मेरो श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ’ । उनका छोरो मुनेश्वरले रामअशिष यादवकहाँ बुवाको नागरिकता बन्धकी राखेर २ हजार ऋण लिएका थिए ।

मुनेश्वरले भारतको पञ्जाव गई पैसा कमाएर बुवाको नागरिकता साहुबाट फर्काउने वाचा आमासँग गरेका थिए । ‘छोरो ऋण लिएर पञ्जाव गयो, कमाउन सकेन, रित्तै फर्कियो’, सिवर्तीले भनिन, ‘महाजनको कर्जा चुक्ता भएन, नागरिकता फर्किएन ।’ मुनेश्वरले साहुको ऋण चुक्दा गर्न नसक्दा हामिनीको नागरिकता फर्किएन । ‘साहु–महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे ।

सिवर्तीले १० बर्षअघि श्रीमान् गुमाइन् । हमिनी पखाला लागेर बिरामी परेका थिए । उनको उपचारका लागि सिवर्ती गाउँभरि भौतारिइन् तर सहयोग पाइनन् । थला परेको एक महिनामा हमिनिको ज्यान गयो । श्रीमानको अन्तिम संस्कारका लागि उनले दुई धुर जग्गामध्ये एक धुर २५ हजार रुपैयाँमा बेचिन् । ‘मर्दा पनि समाजले छाड्दैन’ श्रीमान् मर्दा घडेरी बेचेर जातभरिलाई भोज खुवाउनुप¥यो, सिवर्तीले दुखेसो पोखिन ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–२ सिनुरजोडामा ४४ घरपरिवारको मुसहर बस्ती छ । ४४ घरपरिवारको वस्तीमध्ये अधिकांश घरपरिवारले जीवनयापन गर्न निकै कठिनाई भोग्दै आएका छन् । ती बस्तीको बीचमा अघनुको घर छ । अघनु सिवर्तीको जेठो छोरा हुन् । सिवर्ती दम्पतीका जेठो अघनु, माईलो मुनेश्वर र कान्छो जुगेश्वर तीन छोरा थिए । सिवर्तीको कान्छो छोरा जुगेश्वरले आत्महत्या गरे । मुनेश्वर ऋण तिर्न नसक्दा १० वर्षदेखि घर फर्किएका छैनन् । अघनु २० वर्षअघि कमाउन पञ्जाव गएका थिए । उनी त्यतै मानसिक रूपमा विक्षिप्त भए । परिवारले खर्च अभावमा अघनुको उपचार गर्न सकेन । अघनुलाई गरिबीका कारण घरपरिवारको जीवन धान्नै मुस्किल छ ।

अघनु श्रीमती सुभद्राका भरमा छन् । सुभद्राले बनिबुतो गरेर पाँच जनाको परिवार पालिरहेकी छिन् । उनी दिनको १० किलो धान ज्याला पाउँछिन् । त्यही धान बेचेर उनले दाल, तिहुन–तरकारी जुटाउँछिन् । काम नपाएको दिन मुखमा माड लाग्दैन । उनले हिजोआज काम पाएकी छैनन् । ‘घरमा अन्नपात केही छैन’, सुभद्राले भनिन ‘बिहान–दिउँसो कमाएर बेलुकाको छाक टार्छौं । काम नपाए भोकै बस्नुपर्छ’ ।

सम्पत्तिका नाममा सिवर्तीको एक धुर मात्र घडेरी छ । चार पुस्तादेखि उनको परिवार यहीं बसोबास गर्दै आएका छन् । तर, घडेरीको लालपुर्जा छैन । सिवर्ती जेठो छोरो अघनु, बुहारी सुभद्रा र दुई नातिनी कविता र अमृतालाई लिएर सानो झुपडीमा बस्दै आएका छन् । अघनु र सुभद्राको चार वर्षकी छोरी अमृता कुपोषणले ग्रस्त छिन् । कविता सरकारी विद्यालयमा पढ्छिन् । दुवै जनाको जन्मदर्ता छैन । सिवर्तीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन् । यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायत राज्यका सेवा–सुविधाबाट वञ्चित छिन् ।

उनीहरूको घर थोत्रो साडी, झिक्राको खाँबो र प्लास्टिकले छाएको छ । उनीहरू त्यही झुप्रो (घर)मा ओतिएका छन् । भुइँमा बोरा ओछ्याएर चिसो काटेका उनीहरूलाई फागुन–चैतमा हुरीको चिन्ता छ । ‘वर्षामा घर चुहिन्छ, माघ–पुसमा जाडो पस्छ’, झुप्रोको पीडा सुनाउँदै सुभद्राले भनिन्, ‘चैत–वैशाखमा हुरीले झुप्रो उडाउँछ ।’ रातमा टुकी बाल्न मट्टितेलसमेत छैन । सातादेखि यो घरमा बत्ती बलेको छैन । ‘सहर–बजारको सडकमा दिउँसै बत्ती बल्छ’, सिवर्तीले भनिन्, ‘तर, हाम्रो घरमा टुकी बाल्ने तेल पनि छैन ।’

सिनुरजोडाका मुसहरको गरिबी पीडा सुनिसाध्य छैन । ऋणमै जन्मिन्छन, ऋणमै हुर्किन्छन् र ऋणमै जीवन गुजार्छन् । कुनै पनि कामका लागि ऋण नकाढे गर्जो टर्दैन । साहु–महाजनले पनि सजिलै पत्याउँदैनन् । ऋण लिन साहुले कपाली तमसुकमा औंठाछाप गराउँछन् । अरूसँग पनि ऋण खान्छ भनेर साहुले नागरिकता पनि बन्धकीमा लिन्छन् ।

सिवर्तीकी छिमेकी कोशिला सदाले बुहारीलाई सुत्केरी गराउन ऋण लिइन् । उनले रामअशिषसंग १० हजार ऋण मागिन् । रामअशिषले पैसा दिए तर नागरिकता बन्धकी लिएर । ‘एक महिनाअघि साहुबाट १० हजार लिएँ’, कोशिलाले भनिन्, ‘तर, नागरिकता राख्यो, कपाली कागजमा आंैठाछाप पनि गरायो ।’ ऋण तिरेपछि मात्र साहुले नागरिकता फिर्ता गर्ने उनले सुनाइन् ।

रामअशिषलाई मुसहर बस्तीका सबैले ‘महाजन’ भन्छन् । उनकै भर पर्छन् । मुसहर बस्तीकै भुनेश्वर सदाका बुवा दुई वर्षअघि एक्कासी बिरामी परे । उपचारका लागि उनले रामअशिषसँगै २० हजार ऋण लिए । यद्यपि उनले बुवालाई बचाउन सकेन । भुनेश्वरलाई बुवाको काजक्रियाका लागि पनि महाजनकै दैलो धाउनुप¥यो । ‘नागरिकता नहुनेले ऋण पाउँदैन आफ्नो पीडा सुनाउँदै भुनेश्वरले भने, ‘धन्न मसँग नागरिकता थियो र पाएँ ।’

ऋण चुक्ता गर्न नसक्दा समाज पछि परेको सिनुरजोडाकी रामेश्वरी सदाको ठम्याइ छ । ‘साहु–महाजनले तमसुक लेखाउँछन, नपढेका मुसहर महाजनकै विश्वासमा औंठाछाप गरिदिन्छन् उनले भनिन्, ‘नागरिकता बन्धकी राखेर ऋण खानेले महाजनको हप्कीदप्की सहनुपर्छ । यातना पनि भोग्नुपर्छ । ‘ब्याज तिरेन भने कुटपिट पनि गर्छन्’, रामेश्वरीले सुनाईन् ।

८० वर्षीय रामअशिषको घर मुसहर बस्तीनजिकै छ । मुसहरलाई दिएको ऋणबारे उनी मुख खोल्दैनन् । उनले यसको जिम्मेवारी छोरा सञ्जीवकुमार यादवलाई सुम्पेका छन् । अरूसँग ऋण नखाओस् भनेर नागरिकता लिने र काम परे फर्काइदिने गरिएको उनको दाबी छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here