समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुष ।

प्रहरी उच्चअधिकारी सहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा जेलमा रहेका सांसद रेशम चौधरीको सपथ आज हुने भएको छ । सिंहदरवारस्थित राज्य व्यवस्थाको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउने भएका हुन् ।

बिहान साढे ११ बजे नै सपथको तयारी भएपनि नाटकीय रुपमा अपरान्ह ३ बजेका लागि सारिएको छ । सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले डिल्लीबजारस्थित कारागारबाट ल्याउन समय लागेको तथा प्रतिनिधिसभा बैठक समेत अहिले बसिरहेकोले सपथ अपरान्हका लागि सारिएको बताए ।

चौधरीको सपथ गराउने लगायत माग राख्दै राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिदै आएको थियो । पछिल्लो अन्टिमेटम सकिएको २ दिनपछि संसद सचिवालयले सांसद चौधरीलाई सपथ गराउन लागेको हो ।

राजपाका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । सपथ लगत्तै चौधरीलाई पुनः डिल्लीबजारस्थित कारागार चलान गर्ने स्रोतको भनाई छ । अहिलेसम्म एक सर्वसाधारणको रूपमा कारागारमा रहेका सांसद चौधरी अबदेखि निलम्बित सांसदका रुपमा कारागारमा रहेनछन् ।

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने बताएको छ।

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ, निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि सपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने,-‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन्। संसद बैठकमा बस्न पाउँदैनन्।’

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि चौधरीलाई सपथग्रहण गरेपछि पुरानै प्रक्रिया अनुसार अघि बढ्ने बताइन् । ‘पुरानै प्रक्रिया अनुसार हुन्छ । उहाँ सपथ ग्रहणपछि कारगार जानुहुन्छ’, उनले भनिन्।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ । यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ ।

नियमावलीको २४४ (३) मा उल्लेख छ : संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजका पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here