जेलबाट निस्किने आशमा समर्थकहरुलाइ फोरम प्रवेश गराउदै

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २४ पुष ।

संजय साह ‘टक्ला’ का सहयोगी कार्यकर्ताहरू उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने भएका छन् । पछिल्लो समय टक्लाका दाहिने हात मानिएका अतिनिकटका सहयोगी नवीन यादवको नेतृत्वमा उनका सहयोगीहरु फोरम नेपालमा प्रवेश गर्न लागेका हुन् ।

मधेश क्रान्ति फोरमका संयोजक समेत रहेका यादव पुस २७ मा जनकपुरमा फोरम अध्यक्ष एवं संघीय सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा फोरममा प्रवेश गर्न लागेको बताए । यादव सँगै साहका सहयोगी तथा समर्थकहरु समेत फोरम प्रवेश गर्न लागेको यादवले बताए ।

पार्टी प्रवेश गर्न लागेको विषयमा कुरा गर्दै यादवले जनकपुर टाइम्ससँग भने,-‘अहिलेको आवश्यकता सक्रिय राजनितिमा आउनु हो, त्यहि भएर हामी पार्टी प्रवेश गर्दैछौँ, फोरम राष्ट्रिय पार्टी हो र मधेशी जनजाती, थारुको मुक्तिको लागि लड्दै छन्, उपेन्द्र यादवज्युको भिजन सँग सहमत भई पार्टी प्रवेश गर्दैछौँ ।’ कतै नवीन यादवले संजय साहको छाडेर उपेन्द्र यादव सँग जान लागेको त होईन भन्ने प्रश्नमा उनले भने,-‘संजय साह मेरो दाइ समान हुनुहुन्छ, दाइ जस्तै हुनुहुन्छ अनि दाईलाई छाड्ने त कुरै आउदैन नि ! यादवले साहसित सल्लाह गरेरै फोरम प्रवेश गर्न लागेको संकेत गरे ।यादव संजय साह संगै काम गर्दै आईरहेका थिए ।

साह जेल गइसकेपछि यादव आफैं मधेश कान्ति फोरमका संयोजक भएका छन् । उनी मधेश आन्दोलनको क्रममा प्रहरीको कुटाइ बाट घाइते भएका थिए । केही दिन पहिला नवीन यादवले उपेन्द्र यादव संग जनकपुरमा भेटघाट गरेपछि संजय साहले आफुलाइ जेलबाट छोडाउन पहल गरिदिन उपेन्द्र यादव संग नवीनलाई कुराकानी गर्न पठाएको अड्कल समेत बजारमा काटिन थालिएको थियो ।

भेटघाटको केही दिन नबित्दै साहका समर्थकहरु फोरम प्रवेश गर्न लागेपछि साहले बार्गेनिङ गरेपछि यादवले ‘ग्रीन सिग्नल’ दिएको दाबी गरिएको छ । तत्कालीन सद्भावना पार्टीमै रहदा साह जेल परेपछि सद्भावनाका तत्कालीन अध्यक्ष राजेन्द्र महतो हाल राजपा अध्यक्ष मण्डलका संयोजक)ले सहयोग नगरी उल्टै फसाउने काम गरेको साहले आरोप लगाउदै आएका छन् ।

पछिल्लो समय साहले संसदीय चुनावमा आफ्ना केही कार्यकर्ताहरुलाइ नेपाली कांग्रेस प्रवेश गराएर महतो विरुद्ध चुनावी अभियानमा प्रयोग गरेर जेलबाट छुटाइदिने सर्तमा विमलेन्द्र निधिलाई सहयोग गरेका थिए । तर चुनावी नतिजा निधिको विपक्षमा आएपछि निधिले समेत साहलाई वास्ता गर्न छाडेपछि साह अन्ततः उपेन्द्र यादवको शरणमा पुगेका छन् ।

निधिले समेत आफुलाइ प्रयोग मात्रै गरि धोका दिएको साहले आफ्ना निकटस्थहरुसँग गुनासो गर्ने गरेका छन् भने निधिले साहको सहयोगले आफुलाइ चुनावमा झन घाटा नै सावित भएको आफ्ना निकटस्थहरुसँग चर्चा गर्ने गरेका छन् ।

साहले आफ्नो राजनीति क्यारियरको सुरुवात नै उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट गरेका थिए । २०६४ सालको संविधानसभा चुनावताका चौतर्फी विरोधका बाबजुद उपेन्द्र यादवले साहलाई धनुषा ४ बाट टिकट दिएका थिए । र साहले जित हासिल गर्दै यादवको टिकट वितरणमा निर्णय सहि रहेको सावित गरिदिएका थिए ।

तर, फोरम फुट्दा साहले मन्त्री बन्ने लोभमा विजय गच्छदारलाइ सहयोग गरि उपेन्द्र यादवलाई समेत धोका दिएपछि पछिल्लो समय यादव समेत साह सँग रुष्ट भइ वास्ता गर्न छाडेका थिए ।

तर कहिकतैबाट कुनै उपाय नलागेपछि अन्ततः साह उपेन्द्र यादवकै शरणमा पुगेपछि यादव पनि पछिल्लो समय साहलाई एकचोटी अझै मौका दिने मनस्थितिमा पुगेको स्रोतले बताएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here