समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बेइजिङ

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि उत्तरी छिमेकी चीनले राष्ट्रपतिलाई पहिलोपटक बेइजिङमा स्वागत गरेको छ । गणतन्त्रलाई पहिल्यै स्वीकारे पनि बेइजिङमा राष्ट्रप्रमुखलाई स्वागत गरेर नेपालको राजनीतिक परिवर्तनप्रति चीनले बलियो सन्देश दिएको हो ।

चीनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लोकतन्त्र दिवसकै अवसर पारेर बुधबार चीनको पुरानो राजधानी सियानमा स्वागत गरेको थियो । बिहीबार साँझ बेइजिङमा राष्ट्रपति भण्डारीलाई उपविदेशमन्त्री कोङ सुयनयुले स्वागत गरे । राष्ट्रपति भण्डारीको भ्रमण चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भएको हो ।

यसअघिका राष्ट्रपति डा रामवरण यादवलाई दुईपटक चीनमा स्वागत गरे पनि बेइजिङले रेड कार्पेट ओछ्याएको थिएन । राजकीय भ्रमणको सम्मानसहित भण्डारीलाई बेइजिङमा स्वागत गर्दा चिनियाँ निकै उत्साहित थिए । नेपाल बीआरआईको एक बलियो साझेदार रहेको भन्दै चिनियाँ अधिकारीले खुसी व्यक्त गरेको भ्रमणमा सहभागी नेपाली अधिकारीले बताएका छन् । सम्मेलनको नारा ‘बेल्ट एन्ड रोड सहकार्य, एक उज्ज्वल साझा भविष्य’ भन्ने छ ।

शिखर सम्मेलन बिहीबार आरम्भ भए पनि चिनियाँ राष्ट्रपति सीले शुक्रबार विशेष सम्बोधन गरेपछि औपचारिकता अघि बढ्नेछ । शिखर सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन ३७ मुलुकमा राष्ट्र र सरकार प्रमुख बेइजिङ आएका छन् । सम्मेलनमा एक सय भन्दा बढी मुलुक र ९० संघसंस्थाका हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सान्सीका गभर्नर लगायत उच्च अधिकारीसँग छलफलपछि टेराकोटा वारियर्स स्थल भ्रमण सकाएर चिनियाँ अधिकारीले राष्ट्रपति भण्डारीलाई बेइजिङ ओरालेको हो । भण्डारीको यसअघिको चीन भ्रमण रक्षामन्त्री रहँदा भएको थियो ।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीसँगको दुईपक्षीय भेट र राउन्ड टेबलमा सहभागी हुने कार्यक्रम छ । यसले भ्रमणको महत्व बढेको अधिकारीहरूले बताए । दुई देशका राष्ट्रप्रमुखबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहकार्यमा छलफल हुनेछ। राष्ट्रपतिद्वयको उपस्थितिमा यातायात तथा पारवहन सम्बन्धी प्रोटोकल र अन्य समझदारी हुनेछ ।
अन्नपूर्णबाट

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here