समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विकास कुमार साह
जनकपुरधाम, मंसिर २५ ।

विवाहपञ्चमी महोत्सवमा जन्तीको रुपमा सहभागी हुन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सवारी रुट अन्तर्गतको सडकमा गाडी गुडाउन तथा पार्किङ्ग निषेध गरिएको छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ मनाइने महोत्सवमा मुख्यमन्त्री योगी संगै जनकपुर आउन लागेका विशिष्ट पाहुनहरुका लागि निर्धारण गरिएको रुटमा एम्बुलेन्स, दमकल, प्रहरी तथा पास वाहेकका कुनै पनि सवारी साधन गुडाउन निषेध गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार भीआइपीको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै मंगलवार मध्यान्हदेखि पार्किङ्ग निषेध गरिएको हो भने, बुधवार बिहानैदेखि सवारी गुडाउन रोक लगाइएको हो । हवाई मार्गबाट बुधवार बिहान ११ बजेतिर जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीको टोलीका लागि यस प्रकार रुट निर्धारण गरिएको हो ।
जनकपुर विमानस्थल बाट मुरली चोक–विषहरा चोक–कदम चोक–भानु चोक–शिव चोक–जनक चोक–जानकी मन्दिर त्यसपछि पुनः जनक चोक, शिव चोक हुँदै – भानु चोक– मिल्स एरिया–मधेश भवन (जचुकालि) सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमी बाहविघा मैदानमा सहभागी भएपछि पुनः सोही मार्ग भएर जनकपुर विमानस्थल फर्किने ।
योगीको टोली फर्किए पनि श्रद्धालुहरुको सुविधालाई दृृष्टिगत गर्दै बुधवार रातिसम्म रिंग रोड र भित्री सडकहरुमा सवारी गुडाउन तथा पार्किङ्ग गर्न नपाइने प्रहरीले जनाएको छ । साताव्यापीरुपमा मनाइने विवाहपञ्चमी महोत्सवको ट्राफिक व्यवस्थापनका लागि प्रहरी उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा जनकपुर नगरभित्र १ सय ४२ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
खास गरि महोत्सवको छैठौं एवं महत्वपूर्ण दिन स्वयंवर तथा वैवाहिक कार्यक्रममा सहभागी हुन नेपाल तथा भारतका विभिन्न जिल्लाबाट लाखौंको संख्यामा श्रद्धालुहरु आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here