समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । तराई मधेशसहित मिथिलाञ्चलमा साेमबार जुडशितल पर्व नयाँ वर्षको रूपमा मनाईएको छ।

सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्धेश्य रहेको छ । यस पर्वमा घरकी सवैभन्दा पाको स्वास्नीमानिसले बिहानै सवेरै उठेर नुहाइधुवाइ गरी जल लिएर आफ्ना स–साना बालबालिकाको तालुमा जलसिंचन गरी थपथपाई आर्शीवाद दिने गरिन्छ।

यसो गर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा आफनो मन दिन्छ भन्ने विश्वास रहिआएको छ। आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आशिर्वाद दिन्छन्।

आशिर्वादको रुपमा ती मान्यजनले गाउँ–समाज वर्षैभरि सुखी, सन्तुष्ट र शीतल रहुन् भन्ने कामना गर्दछन्।

यस अवसरमा खासगरी ठूला बडाले परिवारका सदस्यको जीवनयुद्व शीतलतामा परिणत होस भन्ने कामना गर्ने गरेको मैथिली साहित्यकार श्यामसुन्दर शशिले बताए। उनका अनुसार अनुसार जुडशीतल प्रकृति पूजाको पर्व हो । उनले मिथिलाका अन्य पर्वजस्तै जुडशीतल पनि कृषि संस्कृतिमा आधारित पर्व रहेको बताए ।

साथै यस पर्वमा सबेरै ४ बजे उठेर स्नान गरी विभिन्न किसिमका तरुवा, खाना, करीबरी पकाई भोलीपल्ट आफनो ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सो दिन राती चुल्होमा आगो बालेर खाना पकाउन भने पाइन्न । अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यस पर्वलाई सतुआइन तथा बैशाखी पनि भन्ने गरिन्छ । यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो,सतुवा,जौ, आँपको टिकुला तथा पङखा बाहृमणहरुलाई दान गर्ने परम्परा रहेको छ ।साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा,सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी आचार पनि चढाउने गर्छन्। जुडशितल पर्वमा रुखका जरामा पनि पानी चढाउने र इष्टदेवतालाई बासी, बडी,भात,पुरी र तरकारीजस्ता परिकार पनि चढाइने परम्परा रहेको छ ।

आजै दिनदेखि तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गागा्रेमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ ।कुश भएर तुलसी चौरा वा शिवलिङ्गमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ ।सुकिसकेको ईनार र पोखरीमा नया जलले सिंचित गर्ने गर्छ तथा सफा गरेर चुना, पोटास राखि तिनलाई स्वच्छ बनाउने काम पनि गर्ने गरिन्छ ।

ईनार र पोखरीमा स साना बालकदेखि वृद्वसम्म जम्मा भएर माटो दल्ने गर्छन। बिहानभरि गाँउले एकआपसमा हिलो छयाप्ने काम गर्दछन ।केही वर्ष यतादेखि यो विकृति पनि देखिन थालेको छ ।आरामको क्षणमा आमोदप्रमोदका लागि मनाईने यो पर्वलेभातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ ।

प्रगतिवादी साहित्यकार नागेन्द्र कुमार कर्णले पनि अन्य पर्वझैं यो पनि कृषि र वातावरणसँग जोडिएको पर्व भएको बताउँछन् ।जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने चलन छ ।

सो अवसरमा आज पनि गाउँदेहातको मुख्य जलस्रोतको रुपमा रहेका इनार र पोखरीलाई सफासुग्धर गर्ने चलन पनि छ । जुडशीतलकै दिन मिथिलामा मानिसहरुले होलीमा रंग खेलेझैं हिलोकादो खेल्ने गर्दछन् । शशिका अनुसार पहिले इनार र पोखरी सफा गर्दा जिउमा हिलोमैलो लाग्ने गर्दथ्यो । इनार र पोखरी सफा गर्ने गतिविधि विस्तारै हिलोकादो खेल्ने चलनमा परिणत भएको छ ।जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ ।

त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ । साहित्यकार शशिले सौर्य सिद्धान्तअनुसार वैशाख १ गतेदेखि विक्रम संवतको शुभारम्भ हुने भएकोले नयाँ वर्षको अवसरमा जुडशीतल पर्व मनाउने गरिएको बताए । विक्रम संवतको आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । जुडशीतल दुई दिवसीय पर्व हो ।

पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात वैशाख २ गतेलाई जुडशीतल भन्ने गरिन्छ । गहुँ, जौ र बदामको सतुवाजस्ता भर्खरै फलेको सुपाच्य अन्न खाएर सुरु भएको नयाँ वर्षको उत्सव दोस्रो दिन अर्थात वैशाख २ गते अति नै भव्य र धुमधामका साथ मनाइन्छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here