समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क


जनकपुरधाम, १३ फागुन।

नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली कांग्रेसका गान्धीवादी नेता भनेर चिनिने स्व. नेता महेन्द्रनारायण निधिको ९७ औँ जन्म जयन्ति मनाईरहदा सोही निधिकै नाममा स्थापित मिथिला सांस्कृतिक संग्राहलय भने अलपत्र अवस्थामा पुगेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका बुवा समेत रहेका स्व. नेता महेन्द्र नारायण निधिको स्मृतिमा वर्षौ पहिले निर्माण भएको मिथिला साँस्कृतिक भवनमा अहिले प्रहरीले कब्जा जमाएर बस्दा समेत कांग्रेस चुई बोल्न सकेको छैन् ।

नेपाली काँग्रेसका तत्कालिन नेता तथा हाल राजपा नेपालका अध्यक्ष समेत रहेका महन्त ठाकुरले शिलान्यास गरेको सो भवनको ९० प्रतिशत काम पुरा भएपनि हाल सो भवन प्रहरीको कब्जामा रहेको छ । दुःखद कुरा त के हो भने, नेपाली काँग्रेसका उपसभासपति तथा तत्कालिन उपप्रधान तथा गृहमन्त्री रहदा समेत प्रहरीले कब्जा गरेको भवन खाली गर्न÷गराउन सकेको थिएन् ।

मिथिला साँस्कृतिक केन्द्र जिर्ण

विगत डेढ दशक देखि निर्माणाधिन अवस्थामा रहेको महेन्द्रनारायण निधि मिथिला सांस्कृतीक केन्द्रमा एकातर्फ नयाँ संरचना थप्न रकम खर्चिने क्रम जारी नै छ । अर्को तर्फ बनेका पुराना संरचनाहरु टुटफुट भएर फेरीनु पर्ने अवस्था समेत देखिन थालेका छन् ।

कुनै एक पार्टी विशेषका नेताको नाम राखेर स्थापना गरिएको यो बहु उपयोगी केन्द्र राजनीतिक कु–दृष्टिको प्रभावले गर्दा समयमा निर्माण हुन नसकि एकातर्फ नयाँ भौतिक संरचना थपिदैं गएको छ भने अर्काे तर्फ पुरानो फेर्नुपर्ने अवस्थामा पुगेको छ ।

जनकपुरमा कुनै पनि सुव्यवस्थित पुस्तकालय, सभाकक्ष, संग्राहालय नरहेको अवस्थामा यसको विकासका लागि २०५७ सालमा नेपाली कांग्रेसको पहलमा निर्माण भएको थियो । यो सांस्कृतीक केन्द्र निर्माणको म्याद सम्पन्न भएको केहि वर्ष पछि कांग्रेसको सरकारको क्रममा कांग्रसका वर्तमान उपसभापति त्यतिबेला उपप्रधान तथा गृहमन्त्री थिए । तर त्यसबेला उनले खासै चासो दखाएनन् । कांग्रेस सरकारकै पाला देखि निर्माधिन स्व. महेन्द्रनारायण निधिको नाम दिई काम अघि बढाईयो । तर, कांग्रेस नेतृत्वको सरकारले समेत खासै वास्ता नगरे झैँ अन्य सरकारहरुको प्राथमिकतामा पनि पर्न सकेको छैन । संग्राहालय निर्माणमा करोडौं लगानी भएर पनि उपयोगी हुन नसकेको हो ।

स्थापना कालमा यो केन्द्रको निर्माण सम्पन्न गराउन ७ करोड ७२ लाख ४८ हजार ७१ रुपैंया २४ पैंसाको एस्टीमेट बनाईएको थियो । तर, हाल सम्ममा ९ करोड भन्दा बढि रकम खर्च भईसकेपनि सांस्कृतिक केन्द्र सर्वसाधारण जनताको लागि कामलायक हुन सकेको छैन । नेपाली कांग्रेसको नाम जुटेको हुनाले कांग्रेस बाहेकका सरकार सत्तामा भएको बेला बजेट विनियोजन नगर्दा काम विभिन्न चरणहरुमा हुदैं जांदा हालसम्म सम्पन्न हुन नसकेको जिल्ला शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

भवन निर्माणमा खर्चै खर्च

२०५७÷०५८ मा केन्द्र भित्रको सभाहल निर्माणका लागि एनसिसिएन कन्ट्रयाक्टरलाई १६ लाख ९२ हजार ७९ रुपैंयामा ठेक्का दिईएको थियो । २०५८÷०५९ मा बजेट नहुंदा कामनै भएन । ०५९÷६० मा संग्रहालय र पुस्तकालय निर्माणका लागि रामजानकी कन्सट्रक्सनलाई ३२ लाख ३२ हजार ९९ रुपैंयामा ठेक्का लगाईयो । ०६०÷०६१ मा पुनः सभाहलकै लागि रामजानकी कन्सट्रक्सनलाई ४० लाख १२ हजार ४६७ रुपैंयामा ठेक्का दिईयो । ०६१÷०६२ मा पुस्तकालय र संग्रहालयको लागि सुरेश कन्सट्रक्सनलाई ११ लाख ८९५ रुपैंयामा ठेक्का दिईयो । त्यसैबेला नरेश कन्सट्रक्सनलाई पनि ३१ लख ९० हजार ३२२ रुपैंयामा संग्रहालयको कामको जिम्मेवारी दिईएको थियो । ०६२÷०६३ मा संग्रहालयको लागि नरेश कन्सट्रक्सनले २७ लाख ८८ हजार ५१ रुपैंयाको ठेक्का पाएको थियो भने ०६३÷०६४ मा फुयाल एन्ड फुयाल कम्पनीले ४८ लाख ३६ हजार ५५६ रुपैंयाको ठेक्का संग्रहालयकै लागि पायो । यसप्रकार विभिन्न ठेकेदार कम्पनीहरुले ८ वर्षमा २ करोड ७४ लाख ८७१ रुपैंयाको काम गरिसकेको भएपनि हालसम्म सांस्कृतीक केन्द्र सर्वसाधारणको लागि उपयोगी हुन सकेको छैन । २०६५ साल असोज ४ गते कालिका रमक जे.भि.कन्सट्रक्सनले अडिटोरियम भवन निर्माणको ठेक्का ७ करोड २४ लाख ८ सय ९ रुपैंयामा पाएर २०७१ मा काम सम्पन्न गरेको हो ।

यता, एकतर्फ सांस्कृतीक केन्द्र निर्माणको बजेट प्रत्येक वर्ष थपिदैं गएको छ भने अर्को तर्फ पुरानो भवनहरुको झ्याल, ढोका, सिंलिंगहरु कमसल भएर टुटफुट हुदैं गएका छन् । हुनत २०६० सालदेखि जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्ना प्रहरी जवान र कर्मचारीहरुलाई राख्न आवास गृहको रुपमा सो केन्द्रको भवनहरुलाई प्रयोग गरेको हुनाले पनि उनीहरुको कारण क्षति भएको छ । यसप्रति कसैले खासै वास्ता नराख्दा प्रहरीले आफ्नो अनुकुल सदुपयोग गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here