समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले जनाए ।

‘कलेज स्थापनाको लागि आवश्यक जग्गाको सिफारिस गरिसकिएको छ ’उनले भने, बर्दिवास चोक भन्दा केहि पश्चिम राजमार्ग भन्दा उत्तर तर्फ करिब ७५ रोपनी जग्गाको सिफारिस भईसकेको छ ।कार्की नै जग्गा व्यवस्थापन समितिको संयोजक हुँदा सो जग्गा सिफारिस गरिएको छ ।तर त्यहाँ कुनै प्रकारको व्यवधान भए हाल रेलवे स्टेशन प्रस्तावित रहेको भन्दा केहि तलपनि जग्गाको व्यवस्था भईरहेको छ ।

प्रदेशमा एउटा मेडिकल कलेज सरकारले स्थापना गर्ने नीति अनुसार आर्थिक वर्ष २०७३÷०७४मा सरकारको कार्यक्रममा आएको थियो ।तर कुनै प्रकृया अगाडि बढन सकेन् ।आर्थिक वर्ष २०७४÷०७५ मा पनि कलेज स्थापनाको काम अगाडि बढन सकेन् ।चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयले कलेज स्थापनाको प्रकृयालाइ अगाडि बढाउन कार्य्विधि पारित गरेको छ । गत फागुन ३ गतेको मन्त्रीपरिषद बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएको छ ।

‘कलेजको कार्यालय खोल्न केहि प्राविधिक कठिनाई भएकाले कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरिएको छ ’कार्यालयका प्रमुख शिक्षा मन्त्रालयका उपसचिव देवी प्रसाद सुवेदीले भने, चालु आर्थिक वर्षमा अर्थमन्त्रालयले करिब ८७ लाख रुपैया छुट्टयाएको छ ।

उनले बर्दिवास कलेज स्थापनासँगै बुटवल र सुर्खेतमा पनि कलेज स्थापनाको प्रकृया अगाडि बढिसकेको बताए ।बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उद्घाटन गरेका थिए ।चैत २५ गते भित्र वर्दिवासमा पनि संभवतः प्रधानमन्त्री ओलीले नै कार्यालय उद्घाटन गर्ने छन् ।

कलेजको पूर्वाधार तयार गर्न पाँच वर्ष लाग्न सक्ने जनाउँदै सुवेदीले भने, प्रारम्भमा प्राविधिक विषयहरु मिलाउन समय लागेपनि निर्माणको चरणमा काम चाँडो अगाडि बढनेछ । विश्वविद्यालय अनुदान कोष(यूएसजी)मा बर्दिवास, सुर्खेत र बुटवलका लागि १०÷१० करोड रकम छुट्टयाई सकिएको सुवेदीले जनाए ।

सबै विधाको अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि तीनसय बेडको अस्पतालपनि त्यहीँ निर्माण गरिनेछ ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको सकृयतामा मेडिकल कलेज स्थापना हुन लागेको छ ।उनी पछिल्लो तीनै आर्थिक वर्षमा सरकारमा थिए ।शिक्षा, स्वास्थ्य र फेरी शिक्षा मन्त्री बनेका पोखरेलले कलेज स्थापनाको प्रकृयालाई जोडतोडका साथ अगाडि बढाएका छन् ।सरकारको एक प्रदेश एउटा मेडिकल कलेज नीति अन्तरगत निर्माण हुन लागेको बर्दिबास मेडिकल कलेजका लागि हाल प्रस्ताव गरिएको जग्गालाई वन मन्त्रालयले स्वीकृती प्रदान गरेको छैन् ।शिक्षा मन्त्रालयले वन मन्त्रालयमा गरेको पत्राचारको जवाफ नआएको सुवेदीले बताए ।

वातावरणको दृष्टिले त्यहाँ उपयुक्त नभए रेलवे स्टेशन भन्दा तलको भागमा रहेको नेपाल सरकारको जग्गा र नपुग जग्गा स्थानीयहरुबाट दानमा लिएर कलेज बनाउने मेयर कार्कीले बताए ।उनले जग्गादाताहरु समेत तयार रहेको दावी गरे ।

बर्दिवासमा शिक्षा मन्त्रालय अन्तरगत कलेज स्थापना हुन लागेसँगै प्रदेश २ मा अर्को मेडिकल कलेज राजविराजमा स्वास्थ्य मन्त्रालय अन्तरगत स्थापना हुने भएको छ ।स्वास्थ्य मन्त्रालय अन्तरगत रहने रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृया भने अगाडि बढेको छैन् ।

प्रतिष्ठानको लागि जग्गाको निरीक्षण भएपनि औपचारिक रुपमा कलेज स्थापना हुने जग्गाको टुंगो लागिसकेको छैन् ।स्वास्थ्य मन्त्री समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको सकृयतामा मन्त्रीपरिषदमा ठाडो प्रस्तावबाट प्रतिष्ठान स्थापनाको निर्णय भएको हो ।

हालको सगरमाथा अञ्चल अस्पताललाई केन्द्रमा राखेर प्रतिष्ठान स्थापना हुनेछ ।राजविराजमा स्थापना हुने प्रतिष्ठान हालको वीरअस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मोडेलमा रहनेछ ।सबै विधाको अध्यापन हुने भएपनि शिक्षा मन्त्रालयसित सम्बन्ध भने रहने छैन् ।

राजविराजमा स्थापना हुने प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमै धेरै प्रकृया अगाडि बढिसक्नुपर्ने हो । स्वास्थ्य मन्त्री यादवको विशेष सकृयता रहेकाले सञ्चालनका लागि आवश्यक प्रकृयाहरु द्रुतगतिमा अगाडि बढनु पर्ने बताईन्छ ।

तर कलेज स्थापनाको जग्गा छनौटको प्रकृया टुंगिएको छैन् । हुनत तत्काल अञ्चल अस्पतालबाटै प्रशासनिक कार्यहरु अगाडि बढाउन सकिन्छ ।स्वास्थ्य मन्त्रालयले कार्य्विधि बनाएर बहालको घरमा समेत कार्यालय सञ्चालन गर्न सकिने बताईएकोछ ।बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय हाल भाडाकै घरमा सञ्चालन हुने भएको छ । आजको जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकामा यो खबर छापिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here