समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


डिके सिंह
जनकपुरधाम, २७ पुस ।

फराकिलो पारिएका जनकपुरका सडक पार्किङ अभावले साँघुरा बन्दै गएका छन् । उपयुक्त पार्किङ अभावका कारण सडकमै सबारी साधन रोकेर राख्दा फराकिलो पारिएका सडक पनि साँघुरा बन्न थालेका हुन् ।

प्रदेश २ को राजधानी जनकपुरधाममा अहिले पार्किङको समस्या चुनौतिका रूपमा देखिएको छ । एसियाली विकास बैंकको ऋण सहयोग र सहरी डिभिजन कार्यालयले एक साथ सडक तथा नाला निर्माणको कार्य गरिरहेको छन् । तर, पार्किङको उपयुक्त व्यवस्थापन भने गरिएको छैन ।

एकीकृत सहरी विकास परियोजनाअन्तर्गत अर्बौंको लगानीमा जनकपुरधामको स्वरुप परिवर्तन हुने भनिएको निर्माण कार्य अन्तीम चरणमा छ । यससँगै साँघुरो सडक र सडकमै बग्ने नालाबाट मुक्ति मिल्ने आशा जनकपुरबासीको थियो । जनकपुरबासीको उक्त आशामा पार्किङ् समस्या बनेर आएको छ ।

जनकपुरधामको चक्रपथको साथै जानकी मन्दिरलाई जोड्ने मुख्य(मुख्य सडकको स्तरोन्नती गरिएको छ । सडक र नाला निमार्णको क्रममा सडक फराकिलो गरिएको छ । वर्षौंदेखि साँघुरो बाटोले सडक जामको सास्ती खेप्दै आएका जनकपुरबासिका लागि सडकको स्तरउन्नतीले खुशी छाएको छ । तर सडक फराकिलो भएर पनि ट्राफिक समस्या ज्यूँका त्यूँ हुने देखिएको छ ।

सडक फराकिलो भए पनि मुख्य(मुख्य चोकमा पार्किङ स्थल नभएकाले ट्राफिक समस्या देखिएको छ । सडक विस्तारको कामले पूर्णता नपाउँदै जनकपुर नगर क्षेत्रमा सडक अस्तव्यस्त देखिँन थालिसकेको छ ।

जनकपुरधाम नगरभित्र पार्किङ स्थलको अभावले जनकपुरबाहिरबाट किनमेलका लागि आउँनेदेखि स्थानीय व्यापारी, व्यवसायीहरुले समेत सडक पेटीमै गाडी पार्किङ गरिरहेका छन् । जसका कारण समस्या सिर्जना हुन थालेको हो । जनकपुरधाममा सार्वजानिक, मठमन्दिर तथा गुठीको जग्गा त छन् तर, पार्किङस्थल भने बनाइएका छैनन् ।

त्यस्तै होटल, अस्पताल र बैंकदेखि अन्य सरकाररी तथा निजी कम्पनी, व्यापार व्यवसाय सञ्चालन गर्नेहरूले पनि पार्किङको प्रबन्ध मिलाएका छैनन् । जसका कारण सवारी साधनहरु सडकपेटीमै पार्किङ गरिएका देखिन्छन् । यसले सर्वसाधारणहरूलाई आवत(जावतमा समस्या उत्पन्न हुन थालेको छ ।

जनकपुरधाम उपमहानगरपालिका कुँवारामपुरका गाडी चालक प्रमोद साह सडकमै गरिएका पार्किङले समस्या सिर्जना भएको गुनासो गर्छन् । जनकपुरधाममा सडक फराकिलो भए पनि जथाभावि रुपमा गरिदै आएको पार्किङले नगरक्षेत्रभित्र गाडी कुदाउन समस्या हुने गरेको उनको दुःखेसो छ ।

जनकपुरधाममा अहिले दैनिक हजारौं सवारीसाधन एउटै चोकमा एक साथ कुदिरहेका हुन्छन् । सवारी चाप बढ्दै जाँदा पार्किङको व्यवस्थापनमा पनि सम्बन्धित निकायले ध्यान दिन पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जनकपुरधामको परिक्रमा सडकको निर्माणको काम पनि अन्तिम चरणमा भए पनि पार्किंङस्थल बनाउने छाटकाट देखिएको छैन । प्रदेशको राजधानी समेत भएकाले गर्दा जनकपुरधाममा अहिले सवारी साधनहरुको चाप पनि बढेको छ । तर सार्वजानिक स्थलहरुमा पार्किङको व्यवस्थापन नगरिएकाले सडकमै अव्यवस्थित तवरले गरिँदै आएको पार्किङले दुर्घटना निम्त्याउने गर्ने गरेको अटो रिक्सा चालक धनेश्वर साहले बताए ।

साहका अनुसार अहिले जनकपुरधाममा मात्रै ३ हजारभन्दा बढी अटो रिक्सा छन् । मोटरसाइकल, चारपाङग्रे र ठूला सवारीसमेत नगरभित्र आउँदा जाँदा अझै समस्या हुने गरेको उनले बताए ।

यता, जनकपुरधाममा सडक फराकिलो भए पनि सडकमा अव्यवस्थित पार्किङ हुँदै आएकोले यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई पनि कम्ता सास्ती छैन । धनुषाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक साह जनकपुरधाममा अहिले पनि सडक र नाला विस्तारको काम जारी रहेकाले ट्राफिक समस्या देखिएको बताउँछन् ।

सडक निमार्ण कार्य नसकिएकाले सडकमै इटा, बालुवा, गिट्टी थुपारिएको, तोडिएको घर पुनःनिर्माण र मर्मत सम्भारको काम भइरहेको, निर्माण सामग्री सडकमै भएको जस्ता कारणले ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको उनको भनाई छ । सडक र नाला निमार्णको कार्य पूरा भएका ठाउँमा ट्राफिक व्यवस्थापन गर्न आफू लागीपरेको उनको दावी छ ।

जनकपुरधाम उपमहानगर प्रमुख लालकिशोर साह पनि नगरभित्र पार्किङ स्थलको अभाव रहेको स्वीकार्छन् । पहिलो चरणमा साँघुरो सडकलाई फराकिलो र पानी जम्ने नालालाई व्यवस्थित गर्ने कार्य भएको र पार्किङ स्थलको व्यवस्थापनमा पनि आफूहरू लागिपरेको उनको दावी छ । प्रदेश(२ को राजधानी भएसँगै सवारी चाप बढेकाले पार्किङ स्थलको आवश्यकता अझ बढेको उनले बताए ।

पार्किङ अभावमा सवारी साधन चोरिन्छन्

जनकपुरधाम नगरभित्रमा अव्यवस्थित रुपमा गरिँदै आएको पार्किङले आवत(जावतमा मात्र समस्या उत्पन्न भएको छैन सवारीसाधन चोरिने पनि गरेको छ । अव्यवस्थित पार्किङले दर्जनौं मोटरसाइकल दिन दहाडै चोरी भएका छन् ।

सडक पेटीमै गाडी पार्किङ गरिँदा कसैलाई आवत जावतमा समस्या भएर गाडी मिलाउन लागेको हो कि भनेर वास्ता नगर्दा चोरिने गरेको जनकपुरधाम उपमहानगरपालिका ९ का घनश्याम कटुवालले बताए ।

‘सडकमै गाडी पार्किङ गरिएको हुन्छ, कामले मान्छे गएको हुन्छ, गाडी हेर्ने कोही हुँदैन,’ कटुवालले भने, ‘त्यही मौका छोपेर चोरहरुले गाडी चोरेर लान्छन् ।’ पार्किङ स्थल भए यस्तो समस्या पनि न्यूनिकरण हुने उनको दावी छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here