समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २७ पुस ।

जनकपुरधामकी पत्रकार उमा सिंहको हत्या भएको १० वर्ष पूरा भएको छ । २०६५ पौष २७ गते उनको हत्या भएको थियो ।

शहिद पत्रकार उमा सिंहको हत्या भएको दिन पुस २७ लाई कालो दिनको रूपमा पनि मनाउने गरेका छन्। २०६५ पुस २७ मा जनकपुरधाम उपमहानगरपालिका १४ स्थित गोविन्द कार्कीको घरमा डेरा लिई बसिआएको अवस्थामा राति सवा ७ बजेको समयमा करिब ७–८ जना मानिसहरूको समूहले एक्कासी कोठामा खुकुरी प्रहार गरी समाति घिसार्दै वारदलीमा लगी यत्रतत्र खुकुरी प्रहार गरी उमालाई घाइते बनाएका थिए। उनलाई थप उपचारको लागि काठमाण्डौ लगिरहेको अवस्थामा बाटोमा मृत्यु भएको थियो । उमा सिंहको हत्या वीभत्स किसिमले गरिएको थियो ।

पत्रकार सिंहको स्मृति दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ धनुषाले श्रद्धाञ्जली सभा गर्ने भएको छ । जनकचोकमा श्रद्धाञ्जली सभा गर्न लागिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

अदालतको ठहर

धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ। न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले हत्या काण्डका मुख्य अभियुक्त यादवलाई जन्मकैदको सजाय सुनाएको थियो। यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए। धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् ज्यानसम्बन्धी महलको १३र४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो।

सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। उमा सिंह हत्याको अभियोगमा सुशिला सिंहसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धन्नजय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।

२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो। ती दुवै जना अहिले जलेश्वर कारागारमा छन्। त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए। अन्य प्रतिवादीहरू धनन्जय सिंह, बैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले नेपाल सरहदमा फेला परेका वखत कारवाही गर्ने आदेश गरेको थियो।

त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनी आदेश दिइएको थियो। जब स्वामीजी यादव भनिने उमेश यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा प्रस्तुत र्गयो, तब स्वामीजी भनिने उमेश यादवले आफ्नो संलग्नतामा इन्कारी गरेको भए पनि २८ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापाको इजलासले प्रतिवादी आरोपित कसुरका कसुरदार होइनन् भन्ने अवस्था नहुँदापछि प्रमाण बुझँदै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागार कार्यालयमा थुनुवा पुर्जी दिई पठाइदिने भनि आदेश गरेका थियो।

हत्याको कारण

उमा कुमारी सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढ वर्ष अगाडिदेखि जनकपुरको रेडियो टुडेमा रिपोर्टरबाट काम सुरु गरि समाचार बाचन गर्दै आएको थिइन्। उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँ गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा नगर्न विरोध गर्न थालिन। ललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ।

श्रवण यादवको समूहले उमा कुमारी सिंहलाई १ महिना अगाडि अपहरण गर्ने प्रयास गरेको थियो। स्वामीजी यादव भन्ने उमेश यादव, उमालाई सम्पूर्ण जग्गा ललिता सिंहको नाउँमा जग्गा दर्ता गरिदिनको लागि धम्कीसमेत दिँदै आएको थियो। २०६३ भदौ १५ मा सिरहाको रामनगर मिर्चैया वडा नं. ३ स्थित आफ्नै होटेलबाट माओवादीहरूको समूहले उमाको बुवा रंजित सिंह र दाइ संजय सिंहलाई अपहरण गरी बेपत्ता बनाएको थियो। १० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेका थिए। त्यसपछि उमाको आमाले धुरमी बजारको दुई कठ्ठा जग्गासमेत उमाकै नाममा पास गरेकी थिइन्।

उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए। उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रसान्त भनिने नेमलाल पासमानलाई उमाको हत्या हुनुभन्दा १५ दिन अगाडि उमेशले भेटेर उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी लिएको बताएका थिए। उक्त हत्या गर्न प्रसान्तलाई उमेश यादवले निर्देशन दिई जिम्मा समेत दिएका थिए। हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here