समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जग्गा कारोबार र मूल्य बढेपछि भूमाफियाले नक्कली मोही खडा गरेर जग्गाधनीलाई मुद्दामामिलामा अल्झाइदिएका छन् । यसले मुद्दाको चाप बढ्दा सक्कली मोहीको जग्गा छिनोफानोमा ढिलाइ भएको छ । 

जनकपुरधाम, ४ चैत ।

सिरहा — मिर्चैया नगरपालिका– १० का उमेश यादवलाई आफ्नो पुर्ख्यौली जमिनमा मोहियानी हक दाबी गर्दै मुद्दा परेपछि छक्क परे । उनको गोलबजार नगरपालिका– ९ को २ बिघा १८ कट्ठा १३ धुर जग्गामा कहिल्यै कोही मोही थिएन । २०२४ सालको नापीमा समेत त्यस जग्गामा मोही थिएन ।

बुझ्दै जाँदा उनले थाहा पाए, भूमाफियाले किर्ते गरी नक्कली मोही खडा गरिदिएको रहेछ । त्यही नक्कली मोहीका कारण उनी एक वर्षदेखि भूमिसुधार कार्यालयमा तारेख धाइरहेका छन् ।

सिरहामा किर्ते मोहीका कारण झमेला बेहोर्ने यादव एक्लो होइनन् । सिरहा भूमिसुधार कार्यालयमा मोहियानी हक दाबी गर्दै आठ हजार मुद्दा दर्ता भएका छन् । तीमध्ये थुप्रै मुद्दामा नक्कली मोही खडा गरिएको आशंका छ । जग्गा कारोबार र मूल्य बढेपछि भूमाफियाले आँखा लगाएर नक्कली मोही खडा गरिदिएको जग्गाधनीहरू बताउँछन् । नक्कली मोही भनिएकाहरू भने जग्गा दाबीको आधार रहेकैले मुद्दा हालेको दाबी गर्छन् ।


भूमिसुधार कार्यालयमा मोहियानी मुद्दाका कारण तारेख धाउने किसानको भीड हुन्छ । किर्तेका कारण मुद्दाको चाप बढ्न गई छिनोफानोमा ढिलाइ हुँदा सक्कली मोहीले न्याय पाउन ढिलाइ भएको छ । अर्कातिर नक्कली मोही खडा गरिएको जग्गाका धनीले हैरानी बेहोर्नुपर्छ ।


मालपोत तथा भूमिसुधार कार्यालय सिरहाका कार्यालय प्रमुख रामनरेश रामले पनि वारिसे बनेर मुद्दा लड्ने धेरै रहेको बताए । ‘वारिसे बनेर आउने भूमाफिया पनि हुनसक्छन्, कार्यालयले वारिसे मान्दिनँ भन्न मिल्दैन,’ उनले भने, ‘कतिपय मुद्दामा हामीलाई पनि धम्की दिन्छन् ।’ कार्यालय प्रमुख रामका अनुसार बिचौलिया र जग्गा दलाल मोहीवालासँग सेटिङ मिलाई वारिस बनेर आउँछन् । ‘यस्ता जग्गा सल्टाउन नेता, मन्त्रीको फोनसमेत आउँछ,’ उनले भने, ‘मोही मुद्दा हाम्रो टाउको दुखाइ बनेको छ ।’

सक्कलीलाई सास्ती

धनगढीमाई नगरपालिका–१, मेदनीपुरका सुकदेव सदाय मुसहरले जग्गावाला किरणमणि दीक्षितसँग मोही कायम ४ कट्ठा जग्गा बाँडफाँट गरी आधा माग गरेको तीन पुस्ता बित्न लाग्यो । मोही जग्गा प्राप्तिका लागि सदरमुकामस्थित भूमिसुधार कार्यालयमा तारेख धाउँदाधाउँदै ऋणमा डुबिसकेको उनले सुनाए ।


सुकुम्बासी उनले जग्गा कहिले पाउने टुंगो छैन । २०७६ वैशाखको तारिख देखाउँदै सुकदेवले भने, ‘मोही मुद्दा लड्नकै लागि स्वावलम्बन बैंकबाट १ लाख रुपैयाँ ऋण लिएका थिएँ । ऋण कसरी तिर्ने भन्ने समस्या थपिएको छ ।’


काठमाडौंमा बस्दै आएको दीक्षित परिवारको ४ कट्ठा जग्गामा सुकदेवका बाजे मोतिया सदायको मोहियानी हक कायम थियो । मोतिया जग्गा नपाइकनै बिते । सुकदेवका बुबा झगडुले जग्गा प्राप्तिका लागि प्रयास गरे । उनी पनि सफल भएनन् । भूमिसुधार कार्यालयको बेवास्ताले आफू मारमा परेको सुकदेवको दुखेसो छ ।


सुकदेवका बाजे मोतियाले दीक्षित परिवारको जग्गा सम्हाल्थे । त्यसबापत आधा उब्जनी पाउँथे । मुद्दा लड्न थालेपछि उनी उब्जनीबाट समेत वञ्चित हुनुपरेको थियो । ‘हामीलाई दिनुपर्ला भनेर जग्गा दुई–तीन पटक बिक्री गरियो,’ सुकदेवले सुनाए, ‘मोहियानी हक लागेपछि खरिद बिक्री नहुनुपर्ने हो । पैसाको प्रलोभनमा कर्मचारी पर्दा रहेछन् ।’ सुकदेव अहिले दीक्षित परिवारबाट बिक्री हुँदै जुनुस यादवको स्वामित्वमा पुगेको जग्गामा मोही हकका लागि मुद्दा लडिरहेका छन् ।


कानुनअनुसार आफूहरूले पाउने हिस्सा लिन चाहँदा पनि अनावश्यक समस्या भोग्नुपरेको धनगढीका सदायले बताए । ‘भूमिसम्बन्धी नियमावलीमा मोही बाँडफाँटसम्बन्धी पर्न आएको निवेदनमा भूमिसुधार अधिकारीले अर्कोपक्ष जमिन्दारलाई बाटोको म्यादबाहेक १५ दिनभित्र झिकाउनुपर्ने उल्लेख छ तर हामीलाई मात्र तारेखमा बोलाएर दुःख दिएका छन्,’ उनले भने ।
सिरहाको मिर्चैया नगरपालिका–७ फूलबरिया महराटोलमा २८ घर दलित बस्थे । उनीहरू ५ कट्ठा १९ धुर जमिनमा तीन पुस्तादेखि बस्दै आएका थिए । वडा कार्यालयले जमिनमा घर, बाटो नभएको चार किल्ला प्रमाणित गरिदिएपछि त्यो जमिन बिक्री भयो । भूमाफियाको चलखेलमा जग्गा बिक्री गरिएको त्यहाँ बस्दै आएका दलित परिवारको भनाइ छ ।


‘त्यो जमिनका लागि मेरा पिताले कल्याणपुर जब्दी–८ का हजारी साहु भनिने रामचन्द्र साहलाई पैसा बुझाउनु भएको थियो । उनले बस्न दिएकै छु, कुनै दिन पास गरिदिउँला भन्दाभन्दै साहु बिते, उनका नातिहरूले ९० वर्षदेखि बस्दै आएका हामीलाई थाहै नदिई जग्गा बेचेछन्,’ ५५ वर्षीय विसुनियाँ महराले भने ।


उनीहरू बस्दै आएको जग्गा मंसिर ९ गते धनुषा सवैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोले जग्गा किनेका हुन् । अहिले दलित परिवारहरू न्यायका लागि वडा कार्यालय, नगरपालिका, मालपोत र अधिकारकर्मीहरूकहाँ धाइरहेका छन् ।
सक्कली मोही कर्मचारीबाट सास्ती ब्यहोर्नुपरेको गुनासो गर्छन् । भूमाफियाले चलखेल गरेका मुद्दा कार्यालयले आर्थिक प्रलोभनमा परी सहजै छिनिदिने तर आफूहरूको मुद्दालाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।


मोही ऐनमा के छ ?

मोहियानी हकको व्यवस्था राजा महेन्द्रले भूमिसम्बन्धी ऐन, २०२१ जारी गरी लागू गराएका थिए । भूमिअधिकारकर्मी राजकुमार पासवानका अनुसार ऐन लागू भएपछि त्यत्तिखेर मुलुकभरका ४ लाख ६९ हजार ९ सय १७ जनाले मोही प्रमाण पत्रसमेत पाए । तर भूमिसम्बन्धी ऐन, चौथो संशोधन २०५३ ले नयाँ मोही कायम नहुने व्यवस्था गर्‍यो ।


भूमिमा दोहोरो स्वामित्व हटाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०७३ भदौ ६ गते राजपत्रमा सूचना प्रकाशन गरी मोही लागेको जग्गा मोही र जग्गावालाले बाँडफाँट गरी लिन निवेदन दिने म्याद एक वर्ष तोक्यो । म्यादभित्र दर्ता भएका निवेदनअनुसार मोही लागेको जग्गा मोही र जग्गावालाबीच दुई वर्षभित्र बाँडफाँट गरिसक्नुपर्ने व्यवस्था गरियो । बाँडफाँट नसकिएपछि सरकारले म्याद थपेको थियो ।


भूमिअधिकारकर्मी पासवानका अनुसार जिल्लामा मुद्दा दर्ता हुनेक्रम बढे पनि जग्गाधनीको प्रलोभनमा कर्मचारी पर्दा निमुखा मोही किसानले जग्गा प्राप्तिबाट वञ्चित हुनुपरेको छ ।
मोहीसम्बन्धी ऐनले मोहीको हदबन्दी तराईका जिल्लामा चार बिघा जग्गा हुने व्यवस्था गरेको छ । भूमिसुधार कार्यालय सिरहाका अनुसार जिल्लामा ८६ हजार बिघा जमिनमा १३ हजार मोही छन् । साउनयता १ सय ३९ मोही बाँडफाँट र १ सय ६ नामसारी मुद्दा मात्र छिनोफानो गरिएको छ ।

कर्मचारी अभाव

कतिपय मोही जग्गा नामसारीअन्तर्गतको मुद्दा २२/२३ वर्ष अगाडिदेखि चल्दै आएका छन् । निवेदन दिनेका संख्या बढदै गएको छ । कर्मचारी अभावले कैयौं निवेदन तोक नै नलगाई थुपार्नुपरेको कर्मचारीहरू सुनाउँछन् ।


भूमिसुधार कार्यालयमा ३८ जना कर्मचारीको दरबन्दी छ । कार्यालय प्रमुखसहित ५ नायब सुब्बा र चार जना कार्यालय सहायकको भरमा कार्यालय चलेको छ ।


‘भूमिसुधार र मालपोत कार्यालय गाभियो तर कर्मचारी छैनन्,’ कार्यालय प्रमुख रामले भने, ‘केन्द्रले कर्मचारी नपठाएकै कारण सुब्बाको काम पनि आफैंले गर्नुपर्छ ।’ उनले मोही जग्गाको मुद्दा ३० दिनभन्दा बढी साधारण तारिखमा राख्न नमिल्ने भए पनि कर्मचारी अभावकै कारण लम्ब्याउन बाध्य भएको उनले बताए । ‘प्रमाण समयमा ल्याउन नसक्दा पनि मोही मुद्दाफर्छ्योटमा ढिलाइ हुन्छ,’ उनले भने ।

सभार- कान्तिपुर दैनिक

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here