समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राजेश सक्सेना

जनकपुरधाम, १४ माघ ।

धनुषाको ५० विद्यालयमा आमा समुह गठन गरिएसंगै विद्यालयमा विद्यार्थी नियमित हुनुको साथै शिक्षक र विद्यार्थीहरुमा उत्तरदायित्व बढेको एक अध्ययनले देखाएको छ ।

धनुषामा संचालित निक शिक्षा दिअ परियोजनाको कार्यक्षेत्र रहेको लक्ष्मीनियाँ,गंगुली/नगराइन र सवैलामा गरि ५१ वटा आमा समुह गठन गर्दै समुदाय र विद्यालयमा निगरानी गरिदै आएको छ । आमा समुहको नियमित बैठक गरिदै विद्यालय र समुदायमा परिचालन भएसंगै विद्यालयमा विद्यार्थीहरुको उपस्थिती बढन थालेको धनुषाधाम नगरपालिकाको लक्ष्मीपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयकी प्रध्यानाध्यापक सिता सिंहले जानकारी दिएको छ ।

विद्यालयमा आमा समुहका पदाधिकारीहरुले नियमित रुपमा विद्यालयमा आएर अनुगमन गर्दै आएकाले विद्यार्थीहरुको उपस्थिती बढनुको साथै विद्यालयमा शिक्षकहरु समेत नियमित रुपमा कक्षाकोठामा उपस्थित हुन थालेको निक शिक्षा दिअ परियोजनाका कार्यक्रम संयोजक इन्दु सिंहले बताएको छ ।

कार्यक्रम संयोजक सिंहका अनुसार ३, ३ महिनामा आमा समुहको बैठक गरिदै समुदायमा विद्यालयमा अनियमित हुदै आएका अभिभावकलाई घरभेट, विद्यालय जाने उमेर पुगेका विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन अभिभावकलाई सल्लाह सुझाव र विद्यालय नगएका विद्यार्थीलाई विद्यालयमा नियमित जान प्रोत्साहित गरिदै आएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ११ स्थित खोल्मा टोलस्थित डुमरियाका आमा समुहका सदस्यहरुले नियमित रुपमा आफनो टोलका बच्चाहरु विद्यालय गए कि गएन भन्ने हेक्का राख्दै विद्यालयमा अनियमित हुने विद्यार्थीको घरमा अभिभावकलाई भेटने गरेको छ ।

२० जना सदस्य रहेको आमा समुहले समुह विभाजन गर्दै आफना विद्यार्थी अध्ययनरत रहेको राष्ट्रिय जनता प्राथमिक विद्यालय लालबहादुर टोलमा गएर बच्चालाइ हेरचाह गर्न थालेको छ । घरबाट विद्यालयका लागि हिडेका बच्चा विद्यालयसम्म पुगेका छन, कि छैनन् र विद्यालयमा शिक्षकहरु पठन पाठन कार्यमा लागि रहेको छ कि छैनन भनी विद्यार्थीहरुको सिकाइ उपलब्धिबारेमा समेत चासो देखाउन थालेको विद्यालयका प्रध्यानाध्यापक मञ्जु कटेलले बताइन ।

धनुषा जिल्लाको सवैला नगरपालिका वाडा नं ११ ठिल्ला यदुवाको मुस्लिम टोलमा समेत इस्लाम आमा समुह गठन गरिएको छ । गठित इस्लाम आमा समुहले मदरसामा हुने गरेको पठन पाठनबारेमा चाँसो राख्न थालेपछि मदरसामा हुने गरेको पढाई र विद्यार्थीहरु समेत नियमित रुपमा मदरसा आउन थालेको इस्लाम आमा समुहका सदस्य नइमा खातुनको भनाई रहेको छ ।

आमा समुहका सदस्यहरु प्रत्येक हप्ताको एक पटक मदरसामा अनुगमन गरि रहेकाले मदरसामा विद्यार्थी र पढाउने मोलवीहरुले पनि विद्यार्थीहरुलाई पहिलेको तुलनामा राम्ररी पढाउन थालेको सामाजिक परिचालन शिवनारायण महतोले बताएका छन ।

धनुषाको सिनुरजोडास्थित दलित वस्तीमा गठिन आमा समुहका सदस्यहरुले बढाएको निगरानीले गर्दा विद्यालयमा विद्यार्थीहरुको उपस्थिती बढेको छ । दलित वस्तीमा अधिकांश बालबालिका विद्यालय बाहिर रहेकाले गर्दा आमा समुह गठन गरिदै गरिएको नियमित अनुगमनले गर्दा सो वस्तीका सवै बालबालिका विद्यालयमा नियमित उपस्थित हुन थालेको आमा समुहका सदस्य बसन्ती देवी सादाले बताइन ।

उनले भने अहिले हामी विद्यालय जाने समयमा समुदायमा र हप्तामा एक चोटी विद्यालयमा हामी पालै पालो विद्यालयमा जाने गरेका छौं । आमा समुहका सदस्यहरुको नियमित बैठक समेत भई रहेको छ । अहिले विद्यालयमा समेत हुने गरेको कार्यक्रममा आमा समुहका सदस्यहरुलाई समेत बोलाउन थालिएको वसन्ती सादाले बताइन ।

धनुषाको घोडघासस्थि मथिला राष्ट्रिय प्राथमिक विद्यालयमा आमा समुह गठन भएपछि अहिले अभिभावकहरु नियमित रुपमा विद्यार्थीलाई लिएर विद्यालयसम्म आउन थालेको छ । २५ सदस्यीय गठित विदया ज्योति आमा समुहका सदस्यहरुले समुदाय र विद्यालयमा अनुगमन समेत गर्दै आएको छ भने अनियमित हुने विद्यार्थीहरुको अभिभावकसंग भेट गरि विद्यालयमा नियमित बालबच्चा पठाउन समेत आग्रह गर्ने गरेको छ ।

आमा समुहका सदस्यहरुले आफनो बच्चा लिएर विद्यालयमा आउन थालेपछि विद्यालयमा अभिभावक र शिक्षकहरुविचको सम्बन्धसमेत नजिक भएको विद्यालयमा प्रध्यानाध्यापक उषा झाको बुझाइ रहेको छ । विद्यालयमा आमा समुहहरुको निगरानी र सल्लाहअनुसार नै विद्यालयमा चर्पीको अभाव रहेको हुँदा अहिले छात्र र छात्राको लागि सुविधासम्पन्न शौचालय निमार्ण समेत भएको छ ।

सपहीको बनिगामास्थित निम्नवर्गीय र दलितहरुको वस्तीमा विद्यालयमा विद्यार्थीहरुको पहुँच बढाउने उदेश्यले गठित आमा समुहले गर्दा विद्यालयमा विद्यार्थीहरुको उपस्थितीमा बृद्धि भएको श्री जनता निम्न माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सुनिता यादवले बताइन ।

खासगरि मध्यमपरिवारका बस्ती रहेको बनिगामामा विद्यालय जाने उमेर समुहका अधिकांश बालबच्चा दिनभरि विद्यालय नगएर घाँस दाउरा ल्याउने, घर कुरुवा भई बस्ने, घरको काममा आमावुवालाई सहयोग गर्ने , गाईभैसी चराउन जाने , माछा मार्न जाने गरेको भएपनि अहिले निक शिक्षा दिअ परियोजनाले गठन गरेको आमा समुहका सदस्यहरुले गर्ने गरेको अनुगमन र अवलोकनले गर्दा विद्यालयको पठनपाठनमा नियमित हुदै आएको छ ।

विद्यालयको हाताभित्र समेत नजाने गाउँकी महिला समुहका सदस्यहरुले शिक्षकहरु विद्यालय किन नआएको , पढाई के कति भयो ? आज विद्यालयमा कुन कुन सरले के कति पढाए भन्ने कुरा समेत सोधखोज गर्न थालेको छ । आमाहरुले अहिले त सक्रिय हुदै टिफिनको समयमा आ–आफनो बालबच्चाहरुको लागि खाजा समेत लिएर विद्यालयमै आउन थालेपछि शिक्षकहरु पनि बाध्य भएर नियमित रुपमा पढन पाठन गर्नुको साथै विद्यार्थीहरुलाई समेत गृहकार्य दिन थालेको आमा समुहका सदस्य राजो देवी महराले बताइन ।

सवैलास्थित सररस्वती मा.वि.सोनापुरका विद्यार्थीहरुको व्यवहारमा आमा समुहकै कारण परिवर्तन भएको परिवर्तन भएको पाइएको छ । विद्यार्थीहरु विद्यालयमा नियमित रुपमा आउनुको साथै गृहकार्य समेत गर्न थालेको निक शिक्षा दिअ परियोजनाका कार्यक्रम अधिकृत अमित यादवले बताएका छन ।

कार्यक्रम अधिकृत यादवका अनुसार पहिले विद्यालयमा विद्यार्थी निकै अनियमित हुने गरेको थियो, विद्यालयमा अभिभावकहरु पहुँच न्युन थियो, विद्यालयका शिक्षकहरुलाई निगरानी गर्ने अभिभावक थिएन भने विद्यालयमा हुने गरेको शैक्षिक क्रियाकलापमा विद्यार्थी नभएको भन्दै पन्छिने गरेको भएता पनि आमा समुहका सदस्य सक्रिय रुपमा विद्यालयमा आउन थालेकाले गर्दा विद्यार्थी र शिक्षकमा समेत उत्तरदायित्व बोध भएको छ ।

नर्वेजियन राजदुतावासको आर्थिक सहयोगमा आसमान नेपाल, जनचेतना अभियान नेपाल र शिक्षा पत्रकार समुहद्धारा सामुहिक रुपमा संचालित निक शिक्षा दिअ परियोजनाले विद्यालयमा विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालयसम्म पहुच बढाउनका लागि समुदायलाई लक्षित गर्दै समुदायमै आमा समुह गठन गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here