गुणस्तर सुधारमा शिक्षकको समुहिक प्रयास

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


गोपाल संग्रौला
जनकपुरधाम, ११ पुस ।

धनुषा जिल्लाको ग्रामिण क्षेत्रमा रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार भएको पाईएको छ ।
भर्ना अभियान, स्थानीय तहको प्रयास र समुदायको सहयोगका कारण धनुषा जिल्लाका ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने भएको हो ।

बिगत २ वर्ष अघिको तुलनामा हाँसपट्टी, घोड़घास, भगवतीपुर, कुम्हरौडा लगायतका क्षेत्रमा अवस्थित सार्वजानिक बिद्यालयको सिकाई उपलब्धि सहित समग्र शैक्षिक गुणस्तरमा सुधार आएको हो । राष्ट्रिय प्राथमिक विद्यालय हाँसपट्टीका प्रधानाध्यापक अशोक कुमार शाह धनगढीबाट जिल्लान्तर सरुवा भएर आएर विद्यालय सम्हालेपछि शैक्षिक गुणस्तर सुधार हुन थालेको हो । सो विद्यालयमा विहानको हाजिरीमा विद्यार्थीको नाम बोलाउदा विद्यार्थीले कुनै न कुनै अंगे्रजी शब्दको हिज्जे उच्चारण गर्नुपर्ने नियम बनाएपछि कक्षा ४ र ५ का विद्यार्थीको सिकाई उपलब्धि बढेको देखिएको छ ।

‘यो हामीले ४-५ महिनादेखी लागू गरिरहेका छौँ । यसले गर्दा विद्यार्थीमा अँग्रेजी शब्दको ज्ञान बढी भएको छ’, विद्यालयमा प्रधानाध्यापक शाह भन्छन,–‘यो सिकाई पद्धतीमा हाजिर गर्दा फलफुल, तरकारी, जनवार, महिना लगायतका विभिन्न शब्दको प्रयोग गरेर हाजिर गर्ने गरिएको छ ।’ यो शैक्षिक विधिमा शिक्षकले विद्यार्थीको नाम बोलाउदा ‘प्रेजेन्ट सर’ भन्नुको सट्टा कुनै अँग्रेजी शब्दको हिज्जे भन्नुपर्ने हुन्छ ।


सो विद्यालयमा पहिला भन्दा अहिले सिकाईमा धेरै सुधार भएको छ । यहाँ शिक्षक विद्यार्थीको अनुपातमा शिक्षकको संख्या ठिक भएपनि कक्षाको हिसाबले शिक्षक कम रहेको देखिन्छ । सोे विद्यालयमा २०४ जना विद्यार्थी रहेका छन भने शिक्षक दरबन्दी ४ जनाको छ । ‘एक जना शिक्षक भए हाम्रो विद्यालयको शैक्षिक गुणस्तर अझ बढने थियो,’ उनले भने,–‘शिक्षक छुट्टी बस्नुपर्ने अवस्थामा शिक्षक अभाव हुने गरेको छ ।

शिक्षक बिदा भएको बेला ४ र ५ कक्षा एकै स्थानमा गरिहेका छौँ ।’ यसरी नै घोड़घास, नगराईन नगरपालिकाको मिथिला राष्ट्रिय प्राथमिक विद्यालयमा पनि विद्यार्थी (ड्रप आउट) विद्यालय छोडने दर घटेसँगै शैक्षिक गुणस्तरमा सुधार आएको छ । सो विद्यालयकी प्रधानाध्यापक आशा कुमारी झाले विद्यार्थीको सिकाई उपलब्धि बढेको बताईन । सो विद्यालय स्थानीय तहको मातहतमा गएपछि नगरपालिकाले पनि गुणस्तर सुधारका लागि काम गरिरहेको छ ।

यसैगरी आसमान नेपालले पनि शैक्षिक गुणस्तर सुधारका कार्यक्रम शुरु गरेको कारण धनुषा जिल्लाका ग्रामिण बस्तीमा रहेको विद्यालयको गुणस्तर सुधार भएको छ । ‘भर्ना भन्दा पनि विद्यालय आउने विद्यार्थीको संख्या धेरै रहेको छ,’ प्रअ झाले भनिन,–‘यसअघि भर्ना गराउने र बिचमा छाडने त्यस्तो हुने गरेको थियो तर यस वर्ष त्यस्तो केही छैन ।’ यो बिद्यालयमा बच्चालाई बिहानी प्रार्थनाको लागि खुल्ला मैदान भने छैन । बच्चा पढाउनका लागि प्रार्थना र खेल्ने स्थान पनि एक महत्वपुर्ण स्थान हो । मैदान नभएर बालबालिकाले खेल्न पाएका छैनन । हामीले नगराईन नगरपालिकामा यो कुरा अनुरोध गरेका छौँ । अहिले विद्यालयले भवनको बरन्डामा विद्यार्थीलाई प्रार्थना गराउदै आएको छ ।


यसैगरी सोनामाई आधारभुत विद्यालयकी प्रधानाध्यापक शोभा घिमिरे न्यौपानेले सानो कक्षा देखी नै विद्यार्थीको सिकाई उपलब्धि राम्रो बनाउने रणनीतिका कारण सुधार रहेको बताईन । ‘शिक्षक कम भएपनि आफ्नो कक्षामा नियमित जाने गरेका कारण शैक्षिक गुणस्तर बढेको हुनु पर्छ ।’ शिक्षकहरुले विद्यार्थीको सिकाई प्रति ध्यान बढी केन्द्रित गरेको छ ।

विद्यालयले विद्यार्थीलाई तल्लो तहदेखी नै बुझ्ने गरी पढाउने गरेको छ । विद्यालयले लामो बिदामा बसेर आएका विद्यार्थीले पढाएको कुरा नबिर्सीउन भनेर पुन पढाउने र सोध्ने गरेको छ । ‘हामी सबै शिक्षक मिलेर यो काम गरिरहेका छौ,’ प्रअ घिमिरेले भनिन्,–‘हामी विद्यालय आउँदा विद्यार्थीको घरमा गएर अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्ने गरेका छौँ ।’

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here