समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ३ फागुन ।

प्रदेश २ को राजधानी जनकपुरस्थित जानकी आँखा अस्पतालमा अनियमितताको पराकाष्ठा नाघेको छ । अस्पतालमा फर्जी बिलको आधारमा लाखौंको भुक्तानी तथा अनियमितता भएको देखिएको छ ।
अस्पतालमा विगत केहि दिन देखि कागजी विवाद जारी रहेकै समयमा ओपिडिको टिकट छपाईमा पनि अनियमितता भएको रहस्य खुलेको छ । जनकपुरधाम वडा नं. ८ रामानन्द चोकस्थित नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित जानकी आँखा अस्पतालका कर्मचारीहरुले अवकाश प्राप्त कर्मचारीलाई विदाइ गर्नुपर्ने माग राखी आन्दोलन गरिरहेकै समयमा अवकाश प्राप्त कर्मचारीले फर्जी बिल बनाएर लाखौंको अनियमितता गरेको रहस्य खुलेको हो ।

अस्पतालका कर्मचारीहरुले ओपिडी टिकट छपाईमा भएको अनियमितता, अवकाश प्राप्त कामु प्रशासक रामनरेश पाण्डेलाई बिदाइ गर्नुपर्ने लगायतका माग राख्दै विगत दुई साता देखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आईरहेको छन् । तर मागको सम्बन्धमा व्यवस्थापन पक्षले सुनुवाई नगरेपछि माघ २४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापन पत्र बुझाएका थिए ।

यता अषाढ ५ गते नै अवकाश पाउनुपर्ने कामु प्रशासन रामनरेश पाण्डेले अवैद्यानिक तरिकाले हाजिरी गर्दै आएपनि नेपाल रेडक्रस सोसाईटीका सभापति डा. विजय कुमार सिंह र अस्पताल प्रमुख डा. हेमचन्द्र झाले कुनै चासो नलिदा कर्मचारीहरले बिरोध गरेका थिए । सोही क्रममा माघ २९ गते नेपाली काँग्रेसको भातृसंगठन तरुण दल र राजपाका केही नेताहरुले पाण्डेको हाजिरीका लागि दबाब सृजना गर्न पुगे । उनीहरुले अस्पतालको प्रशासन फाँटमा तालाबन्दी समेत गरेका थिए ।

राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य सतिसलाल कर्ण, कोषाध्यक्ष रामविनोद चौधरी (पप्पु), सचिव धिरेन्द्र बहादुर सिंह, तरुण दलका पंकज महतो लगायतको टोलीले अस्पतालमा ताला लगाएका थिए ।

तालाबन्दीका कारण सेवाग्राहीहरु प्रभावित भएपछि बुधवार प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा धनुषाको प्रजिअ कणेलको सक्रियतामा प्रशासनले ताला तोडेका थिए ।

यता तालाबन्दीले कर्मचारीहरुको आन्दोलनलाई भाँड्ने षड्यन्त्र भएको तथा कामु पाण्डे निकट व्यक्तिले बचाव गर्ने प्रयास गरिरहेको कर्मचारी दिपेन्द्र सिंहको दाबी छ ।

पाण्डेको अवकाश सम्बन्धि विवाद

अस्पतालका तत्कालिन सभापति मकेश्वर प्रसाद सिंहको पालामा रामनरेश पाण्डेले कार्यालय सहायकको रुपमा मिति २०४४ बैशाख १ गते अस्थायी नियूक्ती पाएका थिए । २०४५ असार ६ गते उनले स्थायी नियूक्ती प्राप्त गरे । उनले ३० वर्षे सेवा अवधी पुरा गरिसकेको भए पनि अझै हाजिरी गरिरहेका छन् । प्रशासनिक तथा कर्मचारी नियमावली २०५४, संशोधन सहित (२०६३ ) को परिच्छेद ६ को दफा (६.१) को उपदफा १ अनुसार अस्पतालमा ३० बर्ष सेवा अवधी पुरा भएको कर्मचारीलाई अनिवार्य अवकास दिने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार कामु प्रशासकको रुपमा कार्य गर्दै आएका पाण्डेलाई अवकाश दिनुपर्ने कर्मचारीहरुको माग छ । यस दफा उपदफाको आधारमा पाण्डेले नै कर्मचारीहरु क्रमशः राजेन्द्र प्रसाद गोइत, राधा कापर र बैजु सुफललाई अवकाश पत्र थमाएका थिए । यद्यपी आफ्नो प्रसंगमा भने उनले यो कानुनलाई लागू गर्न मानेका छैनन । चलानी नं. ९४र०७५–७६ रहेको अस्पतालद्वारा पठाइएको अवकाश पत्र लिन पाण्डेले अस्वीकार गर्दै आएका छन् ।

प्रेस सञ्चालक पप्पु र कामु पाण्डेको सेटिङ्ग

अस्पतालको ओपिडि टिकट छाप्ने जिम्मा पाएका जानकी अफसेट प्रिन्टिङ्ग प्रेसको सञ्चालक समेत रहेको राजपा नेपाल धनुषाका कोषाध्यक्ष पप्पु भनिने रामबिनोद चौधरी र अवकास प्राप्त कामु प्रशासक रामनरेश पाण्डेले मिलिभगत गरि छपाईमा अनियमितता गरेको खुलेको छ ।

कर्मचारीहरुको आन्दोलन चलिरहेकै बेला अस्पतालमा तालाबन्दी समेत गर्न पुगेका पप्पु र प्रशासक पाण्डे बीच छपाईको टेण्डर सम्बन्धी सेटिङ्ग रहेको र सोही कारण पाण्डेको बचावमा पप्पु लागि परेको कर्मचारी मनोज तिवारीको दाबी छ ।

२.९५ पैसाको बिललाइ ९.५० पैसा

गत वर्ष २०७४ फागुन १० मा जानकी अफसेट प्रिन्टिङ्ग प्रेसले १ लाख प्रति ओपिडी टिकट छापेको थियो । गत वर्ष २ रुपैया ९५ पैसाको दरले भ्याट बाहेक २ लाख ९५ हजार रुपैया प्रेसलाई भुक्तानी गरिएको थियो । सोही ओपिडी टिकट यस वर्ष ९ रुपैयाँ ५० पैसाका दरले छापिएको बिल अस्पतालमा पेश गरिएको छ । प्रेसले २०७५ माघ १३ मा १ लाख २० हजार प्रति ओपिडि टिकट वापत ११ लाख ४० हजार र ५ हजार प्रति नगदी रसिद वापत १ लाख ५० हजार रुपैयाँ गरी भ्याट सहित जम्मा १४ लाख ५७ हजार ७ सय रुपैयाँको बिल पेश गरेको पाईएको छ ।

एक वर्ष भित्रै छपाई शुल्कमा झण्डै तेब्बर भन्दा बढी बृद्धि भएको छ । प्रिन्टिङ्ग प्रेसले पेश गरेको दुबै बिलको बिजक नं. १ रहेको छ । वर्षको अन्त्यतिर बिजक नं. १ हुनु र त्यो दुवै बिल एउटै संस्थामा पेश हुनुले पनि पाण्डे र पप्पु बीचको कनेक्शनलाई प्रमाणित गरेको अस्पतालका कर्मचारी नुतन झा बताउँछन् ।

पाण्डेको अनुगमन जिम्मा पाण्डेकै सम्धीलाई

उता अवकास प्राप्त कामु प्रशासन रामनरेश पाण्डेको नियुक्ति सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषाले ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्रचार गरेपनि छानबीन हाल सम्म शुन्य अवस्थामा छ ।

सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न मिति २०७५ माघ २४ गते नै जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपनि ९ दिन वितिसक्दा समेत जनस्वास्थ्य कार्यालयले प्रतिवेदन बुझाएको छैन । उक्त प्रतिवेदन पेश गर्ने जिम्मा पाएका संयोजक दिपेन्द्र रायले कार्यसम्पादन नगरेका कारण अहिले सम्म प्रतिवेदन बन्न सकेको छैन् ।

संयोजक राय कामु प्रशासक रामनरेश पाण्डेको नातेदार रहेको हुँदा प्रतिवेदनमा ढिलाई गरिएको आँखा अस्पतालका कर्मचारी सुभद्र मण्डलको आरोप छ । छानबीनको जिम्मा पाएका संयोजक राय कामु प्रशासन पाण्डेको दाईका सम्धी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here