समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरमा आजदेखि एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । जानकी मन्दिरको दक्षिण पट्टी भवनमा कलाकार मरिओम मेहताले एकल चित्रकला प्रदर्शनी गरेका छन् ।

ईतिहास विषयलाई प्रमुख केन्द्र बनाएर बनाईएको चित्रहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको उद्घाटन सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन् ।

२९ वटा चित्र प्रदर्शनीमा राखिएको छ । मधेसको (शिमरौनगढ़ देखि कनकपट्टीका) इतिहास र वर्तमानलाई चित्रहरुमा दर्शाइएको छ।

नेपाली कलाको इतिहाससँग जोडेर विरलै पाईने इतिहासलाई खोतल्दै मेहताले विभिन्न चित्रहरु बनाएका छन् । नेपालको कलाको इतिहासको लिखित अभिलेख वीरलै भेटिन्छन्।

मेहताको चित्रमा सिराहाको खपटे डाँडामा भेटिएका प्राग ऐतिहासिक वस्तुहरूमा भेटिएको मानव इतिहासको प्रारम्भिक चरणको खोजी गरेर उनले कलामा प्रस्तुत गरेका छन् । उनले करिब १० हजार वर्ष अघिका जंगली मानवले प्रयोग गर्ने ढुंगाका हतियार र मुगाको मालाको वास्तविकतालाई आम जनमानसमा उजागर गरेका छन् ।

उतिबेलाको विदेह राज, समृद्ध राज अनि अहिलेको विदेह राज र पीडाको राज दर्शाउने कलाले मिथिला क्षेत्रमा मौलाएको गरिबीको मर्का बोलेको छ । बाराको सिम्रौनगढको ऐतिहासिक कोक साम्राज्यको कलात्मक वैभवशाली विशाल राज्यको सिको उपत्यकास्थित मल्ल राजाले गरेर यहाँ कलात्मक सहर बसाएका थिए । ‘सर्लाहीस्थित मूर्तियामा भेटिएका प्रस्तर कलाको नमुना सिम्रौनगढ कालिन नै रहेको देखिन्छ,’ मेहताले भने, ‘सप्तरीको कनकपट्टीमा बौद्धमार्गीको शासन रहेको हो कि भन्ने झल्को त्यहाँ भेटिएका मूर्ति र ऐतिहासिक वस्तुहरूले दिन्छ ।’ त्यो बेला दुई ढुंगा र भौतिक वस्तु जोड्न फलामको प्रयोग हुने गरेको तथ्य भेटिएको उनको कलाबाटै थाहा पाउन सकिन्छ ।

सिम्रौनगढको जिउँदो खम्बा तथा भग्नावशेषमा भेटिएका हतियार र डढेको चामलको अवशेषले त्यो बेला मुगल साम्राज्यको आक्रमणमा परेर राज्य ध्वसं भएको प्रमाणित गर्छ। मेहताले डढेको चामललाई भकारीभित्र रहेको कल्पना गर्दै चित्रमा सजाएका छन्। त्यस्तै घुयत्रोलाई हतियारका रूपमा कसरी प्रयोग गर्थे भन्ने कुरा कल्पना गर्दै सिंगो चित्रमा उतारेका छन्। त्यसलाई प्रमाणित गर्न उनले वास्तविक घुयत्रोसमेत कला प्रदर्शनीमा राखेका छन्। यो घुयत्रो ३ सयदेखि ५ सय बीसीका समयको रहेको पुरातत्व विभागको अध्ययनले पनि देखाएको छ। धनुषाको मुखियापट्टी क्षेत्रमा २५ सय वर्ष अघिको महाभारतकालिन सभ्यताको कलात्मक झल्को मेहताले आफ्ना कलामा समावेश गरेका छन्। त्यहाँ धोती पहिरनका माटाका मूर्ति तथा टेरकोटाका अनेक सामग्रीले त्यो समयको रहनसहन र संस्कृति झल्काउँछ।

उनले भौतिक कलासँगै त्यो बेलाको लिपिमा लेखिएका ऐतिहासिक तथ्यलाई समेत कलामा ढालेका छन्। त्यो बेला तिरहुत वा मैथली लिपि, रन्जना लिपि र बांग्ला लिपिको समकालिनता भेटिने उनले अनुमान गरे। तराईको चुरे, गंगा नदी क्षेत्र, सप्तकोशी क्षेत्र र गण्डकी क्षेत्रको बीचमा लेखिने लिपिमा तिरहुतको वर्चस्व थियो। यहाँका फरक जातीय पहिचानमा कोरिने कलामा समेत समानता थियो।

चौधरी तथा मिथिला समुदायले कोर्ने कलामा उस्तै शैली भएपनि कलाको अभिव्यक्तिमा भने फरकपना पाइन्छ। मेहताले वर्तमान नेपालको नक्सा तथा लिपिसँग सामञ्जस्य गराउदै चित्रलाई ऐतिहासिक अध्ययन गर्न सकिने गरि सरल तुल्याएका छन्। यिबाहेक उनले समाजको ऐतिहासिकतालाई समसामयिक कलामार्फत केलाउने प्रयास गरेका छन्। जमिनविहिनताको मधेस मानवको पीडा होस् वा आममानिसको शासनकर्ताप्रतिको आक्रोश उत्तिकै सशक्तरूरुपमा उनका कलामा उजागर भएका छन्।

उतिबेलाको विदेह राज, समृद्ध राज अनि अहिलेको विदेह राज र पीडाको राज दर्शाउने कलाले मिथिला क्षेत्रमा मौलाएको गरिबीको मर्का बोलेको छ। जसमा समृद्ध राज्यबाट वर्तमान राज्यमा अवतरण गरेका जनताले रोटीसमेत शासकले तौलेर दिएको यथार्थता चित्रमा पाइन्छ। जनमैत्री शासनभन्दा शोषकको शासन बढी चलेकाले सत्तामा बसेर जनताको शोषण शासकले बढी गर्ने गरेको तथ्य अर्को चित्रले बताउँछ।

सुगौली सन्धि होस् वा मधेस आन्दोलन नै किन नहोस् आफ्नो अधिकार खोज्दा आमजनताकै रगत बगेको इतिहास र वर्तमानको समिक्षाले कला पारखीलाई समेत केहीबेर स्तब्ध बनाउछ।

‘फरक जाति, समुदायका सुमधुर मौलिकता नै नेपाली समाजको ऐतिहासिक र वर्तमान धरोहर हो भनेर एकताभित्र बाँध्ने प्रयास गरेको छु’, उनले भने, ‘यसै लयात्मक अस्तित्वभित्र कलाको ऐतिहासिकता पहिल्याएको छु।’ उनको कलात्मक प्रस्तुतिमा पुरातत्वविद तारानन्द मिश्र र मिथिला संस्कृतिविद रामदयाल राकेशले गत शनिबार बहस नै गरे। एक्रोलिक र तैल रंगको माध्यमबाट क्यानभासमा कला सजाएका छन्। कलात्मकताको सुन्दर अधिव्यक्तिमात्र नभई ऐतिहासिक अध्ययनको गहन पाटोको रुपमा कला प्रदर्शनी रहेको दुईले औंल्याए।

प्रर्दशनी २६ गतेसम्म चल्ने छ । प्रदर्शनीमा राखिएको चित्रहरु किन्न समेत पाईनेछ, जसको मुल्य ४५ हजार देखि १ लाख ५१ हजार सम्मको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here