राउत नेतृत्वको ‘जनमत’ ले उत्पन्न गरेको तंरग

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नेहा झा

जनकपुरधाम, ५ चैत ।

सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनबाट ‘जनमत पार्टी’ निर्माण भएपछि राउत देशभरि नै चर्चाको विषय बनेको छ।

स्वतन्त्र मधेशको मुद्दा अवसान गर्दै मूलधारको राजनीतिमा फर्किएपछि नेपालमा फेरि एउटा नयाँ पार्टी जन्मिने भएको छ।

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनको चैत ३ र ४ गते गरी  दुई दिनसम्म चलेको राष्ट्रिय परिषदको बैठकबाट ‘जनमत’ नामक पार्टी गठन गरेपछि राउतले पनि नेपालको संसदीय व्यवस्थालाई स्वीकार गरेको प्रष्ट भएको छ। 

अध्यक्ष सिके राउतसहित ३५ सदस्यीय रहेको जनमत पार्टी छिट्टै नै निर्वाचन आयोग समेत दर्ता गराउने तयारी गरिएको उनी निकट स्रोत बताउँछ। यसका लागि आन्तरिक तयारी थालिसकेको छ।

मूलधारको राजनीतिमा आएपछि मधेशको समस्या र मधेशको पहिचानलाई स्थापित गराउनका लागि लागिपर्ने जनमतका केन्द्रीय सदस्य चन्दन सिंहले जानकारी दिए।

उनले भने, ‘हामी मूलधारको राजनीतिमा फर्किएपछि मधेशको राजनीतिक भविष्य नै राम्रो हुनेछ, मधशेको जुन समस्या छ त्यसलाई स्थापित गराउनका लागि हामी निरन्तर प्रयासरत रहनेछौं।’

सिके राउत मूलधारको राजनीतिमा फर्किनुलाई प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री एवं संघीय समाजवादी फोरमका कोषाध्यक्ष विजय यादव राउतको उक्त कदम स्वागतयोग्य रहेको बताउँछन्।

उनी भन्छन्, ‘विखण्डकारी मुद्दालाई छोडेर मूलधारको राजनीतिमा आउनुभएकोमा म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु।’

मन्त्री यादवले सिके राउतको उक्त कदमले भने मधेशमा खासै कुनै असर नपर्ने दाबी गरे।

उनले भने, ‘जनताको विश्वास जितेर उहाँ संसदीय व्यवस्थामा  फर्किनुभएको छ, यो एउटा सकारात्मक संकेत हो तर यसले चाहिँ कसैलाई केही फरक पर्ने छैन।’

यता राजनीतिक विश्लेषक सुरेन्द्र लाभले भने सिके राउत विश्वासिलो बन्नको लागि उनको योजनाले उनको राजनीतिक यात्रा निर्भर हुने बताउँछन्।

उनी भन्छन्, ‘सिके राउतजी मूलधारको राजनीतिमा आउनुभयो तर उहाँ मधेशको राजनीतिमा उहाँले कसरी आफ्ना कार्यक्रमहरु लञ्च गर्नुहुन्छ, कतिको आत्म विश्वासिलो चरित्र बनाउनुहुन्छ, संगठन विस्तारमा के कस्ता योजनाहरू बनाउनुहुन्छ त्यसमाथि निर्भर हुनेछ उहाँको राजनीतिक यात्रा।’

मधेशमा ‘प्रतिस्पर्धी’ दलको रूपमा जनमत पार्टी उदाएको उनको जिकिर छ। 

कोही राजनीतिमा आउँदैमा कसैलाई आत्तिनुपर्ने खाँचो नरहेको राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश दुईका सचेतक एवं प्रदेशसभा सदस्य रहेका प्रमेश्वर साह बताउँछन्।

उनी भन्छन्, ‘राउतजी स्वतन्त्र मधेश गठनको मुद्दालाई उठान गरेर जनतालाई गुमराह गर्ने काम गर्नुभयो त्यो उहाँको ठूलो भूल थियो तर केही छैन् अन्ततः त्यस मुद्दालाई सदाका लागि अवसान गरी मूलधारको राजनीतिमा आउनुभएको छ, जुन स्वागतयोग्य कदम हो, तर राउतजीको राजनीतिमा प्रवेशले कसैले आत्तिहाल्नुपर्ने परिस्थिति भने छैन।’

सचेतक साहले भने, ‘नेताको सबभन्दा ठूलो सम्पत्ति भनेको बोली र व्यवहार तर राउतजीले हिजोका दिनहरूमा अलग राज्यको मुद्दा उठान गरी जनतालाई विश्वासमा लिनुभयो, तर अब त्यो मुद्दालाई अवसान गरी मूलधारको राजनीतिमा फर्किनुभएको छ जसलाई जनताले पनि राम्ररी नियालिरहेका छन्, यी सब कुराको हिसाबकिताब जनताले नै गर्नेछन्।’

किन हटाए राउतले पार्टीको नामबाट ‘मधेश’ शब्द

यता ‘स्वतन्त्र मधेश’ को नारा लिई राजनीतिमा प्रवेश गरेका राउतले स्वतन्त्र मधेशको मुद्दा त त्यागे यसका साथै तत्कालीन गठबन्धनको राष्ट्रिय परिषद्को दुई दिनसम्म चलेको बैठकबाट उनले ‘मधेश’ शब्दलाई समेत त्यागेका छन्।

यसबारे राजनीतिक विश्लेषक डा. लाभ भन्छन्, ‘मधेश शब्द छोड्नु पछाडिको कारण राष्ट्रिय दल बन्नुको आंकाक्षा होला भन्ने जस्तो मलाई लाग्दछ, किनभने यसअघि दुई मधेशवादी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल समेत यसै चाहना अनुरूप ‘मधेश’ शब्द छोडे र अहिले राउत नेतृत्वको जनमत पार्टीले समेत छोडेको हो ।’

यता जनमत पार्टीका नेता चन्दन सिंहले पार्टीको नाममा मधेश शब्द नराखिए पनि मधेशको अधिकारका लागि सदैव लडिरहने दाबी गरे। उनले भने, ‘सरकारसँग भएको ११ बुँदे सम्झौतामा हाम्रो मुद्दाहरू स्थापित गर्ने पक्षमा सम्झौता भएको छ, त्यस हिसाबले नै हामी मूलधारको राजनीतिमा आएका छौं।’

मूलधारको राजनीतिमा आएपछि सर्वमान्य हिसाबले अगाडि बढ्नु आजको आवश्यकता रहेको नेता सिंहले बताए।

प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री एवं संघीय समाजवादी फोरमका कोषाध्यक्ष विजय यादव सिके राउतले गठन गरेको नयाँ पार्टीको नाममा ‘मधेश’ शब्द छोड्नु ठूलो कुरा नभएको बताउँछन्।

उनले भने, ‘नाममा मधेश शब्द छुटाउनु ठूलो कुरो छैन किनभने मधेशवादको सिद्धान्त नै यहाँ स्थापित भइसकेको छ र मधेशको अधिकारका लागि हामी सबै एकतावद्ध भई अगाडि बढ्छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here