समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विकास कुमार साह
जनकपुरधाम, १५ पुस ।

जनकपुर अञ्चल अस्पतालले आफ्नो सेवा विस्तार गर्दै शिशु सघन उपचार कक्ष (एनआईसीयू) सेवा सञ्चालनमा ल्याएको छ ।

२८ दिन भित्रका नवजात शिशुहरु मध्ये सिकिस्त बिरामी भएकाहरुको सघन उपचारका लागि भेन्टिलेरसहितको एनआईसीयू सेवा शुक्रवारदेखि सञ्चालनमा ल्याइएको हो ।

८ वटा बेड र ५ वटा भेन्टिलर रहेको यस सेवाका लागि ५ जना मेडिकल अधिकृत, १५ जना स्टाफ नर्स र एक जना इन्चार्ज कार्यरत्त रहेकोे बाल विभागका विभागिय प्रमुख डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

यस सेवा अन्तर्गत ५० भन्दा बढी प्रकारका औषधी निःशूल्क उपलब्ध गराइने बताउँदै डा. सिंहले बिरामी मध्ये अति विपन्न परिवारका लागि औषधी, बेड तथा अन्य शूल्क मिनहा गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

डा. सिंहले जनकपुरमै एनआईसीयू सेवा सञ्चालनमा आएपछि सेवा–सुविधाको अभावमा सिकिस्त नवजात शिशुलाई बाहिर लग्नु पर्ने बाध्यता नरहेको प्रष्टयाए । उनले भने “ बर्षमा १०-१२ हजार बच्चा जन्मिन्छ यहाँ, त्यसमध्ये केही बच्चाहरु सिकिस्त हुन्छन्, बाहिर पठाउनु पथ्र्यो, त्यसमध्ये कोहीको बाटोमै मृत्यू हुने गथ्र्यो, अब यहाँ नै सघन उपचार सेवा सञ्चालनमा आएपछि बाहिर लानु पर्दैन तर, स्वेच्छाले बाहिर जानेलाई रोक्न मिल्दैन । ”

महंगो स्वास्थ्य सेवा अन्तर्गत पर्ने एनआईसीयू सेवा लिन बाहिर जानेहरुलाई कम्तिमा २र३ लाख खर्च हुँदै आएको चर्चा गर्दै सिंहले अब जनकपुरमा २५ हजार रुपैयाँ सम्ममा उपचार गराउन सकिने दाबी गरे ।

विभिन्न स्वास्थ्य संस्थाहरुलाई सिकिस्त नवजात शिशुहरुको सघन उपचारका लागि जनकपुर अञ्चल अस्पतालको एनआईसीयूमा रेफर गर्न उनले आग्रह गरे । यद्यपी बेड खाली भएको वा नभएको विषयमा पूर्व जानकारी लिनु पर्ने उनको भनाई थियो ।

जनकपुर अञ्चल अस्पतालले २४ घण्टे आकस्मिक उपचार सेवा,प्याथोलोजी,एक्स–रे, सिटि स्क्यान,डाइलाइसीस,प्रसुती लगायतको सेवा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here