महोत्तरी । बडादशैंको अबसरमा सारा नेपाली रमाइ रहेको बेला महोत्तरीका बाढी पीडितहरु भने रमाउन सकिरहेको छैनन् । बाढीले घर डुवानमा परेपछी रेल्वे ट्र्याकमा पाल टांगेर बसेका महोत्तरीका दलित मुसहर समुदायका बाढी पीडितहरुको पुुनस्र्थापना नहुँदा, गाँस र बास कै पिरलोमा चाड पर्वहरु वित्ने गरेको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको उमंग र उल्लास सर्वत्र छाएको छ । तर महोत्तरीका बाढी पीडित मुसहरहरुलाई भने गाँस र बासको चिन्ताले सताएको छ । लोहारपट्टी नगरपालिका वडा नं. ७ डठौराको मुसहर वस्तीलाई दशैंको रमझमले छोएन । बस्तीमा अझै धेरै घर खाली छन् । बाढी र डुवानमा परेका घरहरु जीर्ण छन् । घरभित्र दवदवे हिलो, चिस्यान र खाडल परेको अवस्था छ । बाढी पीडितहरु जोखिम मोलेर पनि घर फर्केका छन् । बाढीले पूर्णरुपमा घर भत्किएका परिवारहरु अझै पनि रेल्वे ट्र्याकमा पाल टांगेर बसेका छन् ।

गत असार र साउन महिनामा आएको बाढीले महोत्तरीका सैकडौ बस्ती डुवानमा परे । बाढीले घर डुवाएपछि बाँस र खरले बनेका गरिब दलित मुसहर समुदायको झुपडी कामै नलाग्नै गरी भत्कियो । डुवानबाट बच्न रेल्बे ट्रयाकमा त्रिपाल टागेँर बसेका बाढी पीडित दलित मुसहर समुदायको पुनस्र्थापना हुन सकेन । बिस्थापित सैकडौं परिवार दलित मुसहर अझै पनि रेल्वे ट्रयाक मै आश्रय लिइरहेका छन् ।

मुसहर वस्तीको एकापट्टी रातु नदीको तटबन्ध छ भने अर्कोपट्टी रेल्वे ट्र्याक छ । हरेक वर्ष बाढीले दलित मुसहर वस्ती वगाउँछ । वर्षभरी ज्याला मजदुरीे गरी जम्मा पारेको अन्न,लत्ता कपडा र घरपालुवा चौपाया सवै बाढीले वगाउँछ । बसाईँ सर्न पनि कतै सुरक्षित स्थान छैन । महोत्तरीको बाढी पीडित दलित मुसहर समुदायको पीडा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार कसैको नजरमा परेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here