काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि उपत्यकाबाट बाहिरिने यात्रुको लागि आज (आइतबार)बाट बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

आजबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु भएको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

आजबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगायतका स्थानमा अग्रिम बुकिङ गर्न सकिनेछ ।

दसैंमा काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको चाप भएकाले आजैदेखि टिकट खुला गरिएको यातायात व्यवसायीले बताएका छन् ।

सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासि भीडभाड बढेको छ ।

लामो समयदेखिको विवादपछि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गरेका हुन् । यात्रीहरुलाई काउन्टरमै टिकट लिन यातायात व्यवस्था विभागले आग्रहसमेत गरेको छ ।

यसपल्ट काठमाडौं उपत्यकाबाट ३० देखि ३५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here