तस्वीर : अमरेन्द्र कुमार यादव

जनकपुरधाम । जनकपुरधाममा झुला उत्सव सुरू भएको छ । सांस्कृतिक परम्पराका रूपमा जनकपुरधामलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । शनिबारदेखि सुरु भएको उत्सव जनै पूर्णिमाको दिन अर्थात साउन ३० गतेसम्म जारी रहन्छ ।

यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा सीताराम र राधाकृष्णका मूर्ती राखी झुलाउने गरिन्छ । झुला उत्सवको पहिलो दिनलाई मणि पर्वतको झुला भनिन्छ । सो दिन जनकपुरधामका ५२ कुटीबाट डोलामा सीतारामका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा सुरुवात गरिन्छ ।

जनश्रुतिअनुसार सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृतिस्वरूप झुला उत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणि पर्वत मनाउने परम्परा छ । मणि पर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राम मन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिन्छ । सो दिन श्रद्धालुको सहभागिता अधिक हुने गरेका कारण रङ्गभूमिमा मेलाको रूप दृष्टिगोचर हुन्छ ।

झुला उत्सवको शुरूआत शन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । शन्त खुला चौरमा अथवा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धाकासाथ ल्याएका शालीग्रामलाई आशनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसैबेलादेखि शुरूआत भएको अनुमान गरिन्छ । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट नै झुला जनकपुरधाममा आएको बताइन्छ ।

यो उत्सव जनकपुरधाम एवम यस क्षेत्रका प्रत्येक मठमन्दिरमा मनाइए पनि जानकी र राम मन्दिरमा विशेष किसिमले मनाइन्छ । जानकी मन्दिरमा विशेष प्रकारका तीन सिंहासनमा सीतारामको झुलाउने गरिन्छ भने राम मन्दिरको झुला उत्सवका लागि गङ्गासागर र धनुषसागरको मध्यमा निर्माण गरिएको झुलाघरमा झुला उत्सव अवधिभरि नै विशेष किसिमले मनाइने गरिएकामा समाज विकासका नाममा यस परम्परालाई हटाउँदै राम मन्दिरमा सीमित गरिएको छ ।

जनकपुरधाममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको कथन पाइन्छ । दासको आगमनको समय सन् १७३० मानिन्छ । जनकपुरस्थित लक्ष्मण मन्दिर, दुल्हा दुलहिन, रत्नसागर, रसिक निवास र अग्निकुण्ड मन्दिरको झुला उत्सव पनि लोकप्रिय छ । मठ मन्दिरका अतिरिक्त कतिपय श्रद्धालुले आफ्ना घरमासमेत भगवान्लाई झुलामा राखी भुलाउने गरेको पाइन्छ ।

यस अवसरमा विविध प्रकारका भजन, कीर्तन, गीतनाद, नाचगान आदि गरी मनोरञ्जन गरिन्छ । यसको समाप्ति साउन पूर्णिमाका दिन हुन्छ । पूर्णिमाको रातभरि झुला झुलाइन्छ तथा अन्तिम प्रहरमा डोरी काटेर यस उत्सवको विसर्जन गरिन्छ । यस दिनलाई डोरी काटब पनि भनिन्छ ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here