जनकपुरधाम । एसइईको परीक्षाफल प्रकाशित भएसँगै यतिखेर धेरै विद्यार्थी कुन संकाय पढ्दा उपयुक्त होला भन्ने अलमलमा छन्। धेरै जिपिए ल्याउन सफल विद्यार्थी विज्ञान, व्यवस्थापन संकायमा भर्ना हुने तरखरमा छन् भने कमजोर विद्यार्थी मानविकी तथा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने योजनामा छन्। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्वडिन पृथ्युचरण वैद्य राम्रो जिपिए ल्याउनेले विज्ञान र व्यवस्थापन र कमजोर विद्यार्थीले मानविकी, शिक्षाशास्त्र पढ्नुपर्छ भन्ने धारणा परम्परागत रहेको बताउँछन्। ‘यो मात्र संकाय छनोटको आधार हुनु हुँदैन,’ पूर्वडिन वैद्य भन्छन्, ‘यसमा धेरै तŒवहरू हुन्छन्, जसलाई गम्भीरतापूर्वक हेर्नैपर्छ।’

परिवारको दबाब, साथीभाइको संगतका आधारमा संकाय छनोट गर्ने परिपाटी रहेको उनी बताउँछन्। परिपक्व नहुँदै संकाय छनोट गर्नुपर्ने बाध्यताले परिवारको दबाब, साथीभाइको लहलहै संकाय छनोटको आधार हुने गरेको उनी बताउँछन्। त्यसकारण १२ कक्षासम्म स्कुल नै रहेकाले १२ कक्षा पास भएपछि मात्र संकायअनुसारको अध्ययनअध्यापन हुनुपर्ने आवश्यकता उनले औंल्याए। ‘यसो हुँदा विद्यार्थी स्वयम् नै परिवक्व भई रुचिअनुसारको संकाय छनोट गर्न सक्छन्, कसैको दबाब र लहलहैमा संकाय छनोट गर्नुपर्दैन,’ उनले भने।

राम्रो जिपिए ल्याएका विद्यार्थीलाई विज्ञान र व्यवस्थापन संकायमा हुत्याउँदा एकातिर त्यतातिरको स्कोप साँघुरिने अर्काेतिर अन्य क्षेत्रमा देशका लागि आवश्यक दक्ष जनशक्तिको अभाव हुने उनले बताए। यही कारण नै अहिले इतिहास, भूगोल, राजनीतिशास्त्रजस्ता महŒवपूर्ण विषयमा उच्च शिक्षा पढ्ने विद्यार्थी नभई देशकै लागि समस्या हुन पुगेको तीतो यथार्थ उनी पोख्छन्।

गोरखापत्र दैनिकका पूर्वसम्पादक पुष्कर माथेमा संकाय छनोटमा विद्यार्थीको रुचिलाई विशेष ध्यान दिनुपर्ने बताउँछन्। कसैले थोपरेर संकाय छनोट गर्न लगाउँदा अन्ततः त्यो सफल हुँदैन,’ उनी भन्छन्, ‘विद्यार्थी रुचि, घरको आर्थिक अवस्था, विद्यार्थीको क्षमता आदिलाई संकाय छनोटको आधार बनाउनुपर्छ।’
जुनसुकै संकाय वा विषय अध्ययन गरे पनि विशेषज्ञ हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। ‘विज्ञान नै पढ्नुपर्ने, व्यवस्थापन नै पढ्नुपर्ने भन्ने केही छैन,’ माथेमा भन्छन्, ‘मानविकी संकायमै धेरै त्यस्ता विषय छन्, जसले विद्यार्थीलाई समाज बुझ्न सजिलो बनाउँछ।’ समाजमा प्रतिष्ठाको पेसा मानिने पत्रकारिता, वकिल, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, राजनीति, साहित्यलगायतका थुप्रै विषय मानविकी संकायअन्तर्गत पर्ने भएकाले मानविकी संकायलाई कुनै दृष्टिकोणले पनि पछि पार्न नहुने उनको भनाइ छ।

मानविकी संकाय लिएर अध्ययन गर्दा प्लस टुपछि बीए, बीएसडब्लू विषय लिई उच्च शिक्षा हासिल गर्न सकिन्छ। मानविकी विषय अध्ययन गरेका विद्यार्थी समाजसँग बढी नजिक हुन्छन्। प्लस टुमा मानविकी संकायअन्तर्गत विभिन्न विषय छनोट गरी अध्ययन गर्न सकिन्छ। पत्रकारिता, समाजशास्त्र, अर्थशास्त्र, गणित, अंग्रेजी साहित्य, नेपाली साहित्य, जनसंख्या, इतिहास, संस्कृतिलगायतका विषय विद्यार्थीले छनोट गरी अध्ययन गर्न सक्छन्।

प्रायः मानविकी संकाय अध्ययन गर्ने विद्यार्थीले सामाजिक संघसंस्था र एनजिओ र आइएनजिओमा काम गर्छन् भने केही विद्यार्थी पत्रकारिता र समाजशास्त्र विषय लिई सोही क्षेत्रका भविष्य निर्माण गर्दछन्। प्लस टुमा मानविकी संकाय अध्ययन गर्न एसइईको परीक्षामा १.६ जिपिए ल्याउनुपर्छ। नेपाली, सामाजिक र अंग्रेजी विषयमा डी प्लस आएका विद्यार्थी मात्र मानविकी संकायमा भर्ना हुन पाउँछन्। पत्रकारिता अध्ययन गर्नका लागि भने गणित विषयमा डी प्लस आएको हुनुपर्छ।

मानविकी अध्ययनले व्यावहारिक बनाउन सहयोग गर्छ र  विद्यार्थीले सामाजिक ज्ञान प्राप्त गर्न सक्छन्। प्लस टुमा मानविकी संकायमा अध्ययन गर्न कलेजअनुसार फरकफरक शुल्क निर्धारण गरिएका छन्। तर औसतमा विज्ञान र व्यवस्थापनमा भन्दा कम शुल्क तिरे पुग्छ। मानविकी संकायमा सैद्धान्तिकरूपमा मात्र विद्यार्थीलाई अध्यापन नगरी प्रयोगात्मक शिक्षामा पनि जोड दिइन्छ। मानविकी संकायअन्तर्गत पढाइ हुने समाजशास्त्र, मानवशास्त्र र पत्रकारिता विषयमा प्रयोगात्मकमा जोड दिइन्छ। त्यसैले पनि विद्यार्थीले मानविकी संकाय रोज्ने गर्दछन्।

मानविकी संकाय मात्र होइन, शिक्षाशास्त्र संकायलाई पनि पछि पार्न नहुने तर्क गर्छन्, शिक्षाविद् राजेन्द्र श्रेष्ठ। ‘विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र जे पढे पनि शिक्षक नै हुनु छ भने किन शिक्षाशास्त्र संकाय लिएर नपढ्ने ?’ उनको तर्क छ, ‘शिक्षाशास्त्र लिएर पढ्यो भने विषय विज्ञ मात्र होइन, विद्यार्थीले पढाउने शैली पनि सिक्छ र प्रभावकारी शिक्षण हुन्छ।’ शिक्षाशास्त्र लिएर अध्ययन गरेपछि शिक्षक नै हुनुपर्छ भन्ने छैन। शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला–जिल्ला नगरनगरका शिक्षासँग सम्बन्धित कार्यालयहरूका विभिन्न पदमा रहेर सेवा गर्न सकिन्छ। स्रोत व्यक्ति, विद्यालय निरीक्षकलगायतका पदमा रहेर पनि सेवा गर्न सकिन्छ।

विज्ञान, व्यवस्थापन, मानविकी अनि शिक्षाशास्त्रबाहेक हिजोआज विद्यार्थीको आकर्षण नयाँ संकायको रूपमा आएको कानुन र न्यायमा पनि उत्तिकै छ। अधिवक्ता यज्ञबहादुर कार्की कानुनी ज्ञान जीवनका हरेक क्षणमा मात्र नभई सम्पूर्ण संघसंस्थामा पनि चाहिने भएकाले यसको विशेष आकर्षण रहेको बताउँछन्। यो संकायअन्तर्गत कक्षा ११ मा पाँचवटा विषय रहेका छन्। अनिवार्य अंग्रेजी र नेपालीका अलावा जनरल प्रिन्सिपल एन्ड थ्योरिज अफ ल, नेपलिज लिगल सिस्टम र कन्ष्टिच्युसनल ल एन्ड नेपलिज कन्स्टिच्युसन रहेका छन्। साथै कक्षा १२ मा अनिवार्य विषयको रूपमा अंग्रेजी एउटा मात्र रहेको छ। बाँकी चार वटा विषयमा लिगल ड्राफ्टिङ, प्रोसिड्युरल ल, सिभिल ल एन्ड जस्स्टिस एन्ड क्रिमिनल ल एन्ड जस्स्टिस र ह्युमन राइट रहेका छन्।

यस वर्षदेखि पाँचौं संकायको रूपमा कानुन र न्याय संकायको अध्ययन अध्यापन थालेको ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसी कानुन र न्याय संकायप्रति पनि विद्यार्थीको आकर्षण रहेको बताउँछन्। स्कुलमा गतवर्ष सबैभन्दा बढी विज्ञानमा ६ सय तीन, व्यवस्थापनमा पाँच सय ५७, मानविकीमा एक सय ५२ जना विद्यार्थी भर्ना भएको जानकारी दिँदै यो वर्ष नयाँ संकायको रूपमा राखेको कानुन र न्याय संकायमा विद्यार्थीको चाप रहेको जनाउँछन्।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्