काठमाडौं, २९ मंसिर ।

सरकारले आफूसँग भएको नेपाल टेलिकमको थप सेयर सर्वसाधारणलाई बेच्ने भएको छ। सर्वसाधारणतर्फको सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउने भएको हो।

कुल १५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको हाल ४. ४ प्रतिशत मात्रै सर्वसाधारणमा सेयर जारी छ। 

अहिले टेलिकममा ९१ प्रतिशत सेयर सरकारी स्वामित्वमा छ। बाँकी सेयर कर्मचारीहरुको छ।  सरकारी स्वामित्वमा रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेर ३० प्रतिशत पुर्याउने र सरकारले ७० प्रतिशत कायम राख्ने गरी तयारी भएको स्रोतले जनाएको छ।

यसअघि सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले एक कार्यक्रममा बोल्दै सर्वसाधारणतर्फको सेयर हिस्सा बढाइने बताएका थिए।

‘सर्वसाधारणलाई टेलिकमप्रति विश्वास बढाउन पनि सेयर हिस्सा बढाउनु जरुरी छ, त्यो तयारी सरकारले गरिरहेको छ’ उनले एक कार्यक्रममा भने।

हाल सर्वसाधारणमा रहेको सेयर करिब १० वर्षअघि प्रिमियम मूल्य ५ सय थपेर प्रतिकित्ता न्यूनतम ६ सय रुपैयाँ तोकी बोलकबोलमार्फत बिक्री गरिएको थियो। बजारमा यसको मूल्य अहिले प्रतिकित्ता ७७५ रुपैयाँको हाराहारीमा छ।

यसबीचमा कम्पनीले दिएको लाभांशबाट सर्वसाधारण लगानीकर्ताले प्रतिफल उठाइसकेका छन्।  हाल बैंक, बीमा तथा वित्तीय संस्थाहरुले अनिवार्य रुपमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने प्रावधान छ।

त्यस्तै उत्पादनमुलक क्षेत्रका कम्पनीले अनिवार्य १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरी पव्लिक कम्पनीमा जान सक्ने व्यवस्था छ। 

कस्तो छ टेलिकमको वित्तीय स्थिति ?

असोज मसान्तसम्मको सार्वजनिक वित्तीय विवरणअनुसार उसले ४ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ। गत वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ५ करोड खुद नाफा कमाएको थियो।

कम्पनीको नाफा बढे पनि व्यवसाय भने घटेको छ। अघिल्लो वर्षको तीन महिनामा सेवावापत १० अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेकोमा अहिले ९ अर्ब ४९ करोडमा खुम्चिएको छ।

व्याजसहितको अन्य आम्दानी बढ्नु तथा संचालनसहितका खर्च घट्दा टेलिकमको नाफामा बढोत्तरी आएको हो। अन्य आम्दानी ११ करोडले बढेको छ भने संचालन तथा ‘मेन्टेनेन्स’ खर्च ११ करोडले घटेको छ। प्रशासनिक तथा नियमित शुल्कवापतका खर्चहरु पनि घटेको छ।

नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा पुगेको छ। गत वर्षको यस अवधिमा यो १०४ रुपैयाँ थियो। एक सेयर बराबर खुद सम्पत्ति मूल्य (प्रतिसेयर नेटवर्थ) ६५६ रुपैयाँबाट ६८६ रुपैयाँ पुगेको छ। १५ अर्ब सेयर पुँजी रहेको कम्पनीको जगेडा कोषमा अहिले ८७ अर्ब ९८ करोड छ।

बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८० रुपैयाँको हाराहारीमा छ। यही मूल्यलाई केलाउँदा मूल्य आम्दानी अनुपात ६। ५१ मात्रै हुन्छ।
कम्पनीले विगतमा ५०र५५ प्रतिशतको हाराहारीमा लाभांश दिँदै आएको छ। गत वर्षको आम्दानीबाट भने उसले लाभांश घोषणा गरिसकेको छैन।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here