विज्ञान विषयको प्रश्नपत्र आउट भएको २४ घण्टा नबित्दै प्रदेश २ मा एसईई परिक्षाको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएको खबर सनसनीपुर्ण तरिकाले फैलियो । बिहीवार बिहान विज्ञान विषयको प्रश्नपत्र आउट भएको थियो भने सोही दिन राति करिब १० बजेको लगभगमा सामाजिक विषयको प्रश्नपत्र पत्र पनि आउट भएको खबर एकाएक विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक हुन थाल्यो । सरकारले अहिले प्रदेश २ को यो दुबै विषयको परिक्षा रद्द गरिसकेको अवस्था छ ।

यो वर्ष देखि राष्ट्रिय परिक्षा बोर्डले प्रदेश पिच्छे फरक फरक प्रश्नपत्र बनाएको छ । एसईई परिक्षा संघले नै संचालन गर्दै आए पनि प्रदेश सरकारका मन्त्रीहरूले परिक्षाको अनुगमन गर्न तछाड्मछाड गरेको देखिन्छ ।
लगातार दुइटा विषयको प्रश्नपत्र परिक्षा अगावै आउट भएपछि अहिले विभिन्न किसिमको टिकाटिप्पणी भईरहेको छ । कसैले यसलाई संघीय सरकारको चाल भनेर टिप्पणी गरिरहेका छन् भने कसै-कसैले यसलाई प्रदेश सरकारको असफलता सँग जोडेर टिप्पणी गरिरहेका छन् । तर सबैको चासोको विषय प्रश्नपत्र कसले आउट गर्‍यो भन्नेतिरै छ । हुन पनि हो परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र कसले आउट गर्‍यो सत्यतथ्य पत्ता लगाइ दोषीलाई सजाय पाउनैपर्छ । यसमा कसैको दुइमत छैन ।

प्रश्नपत्र छापिइसकेपछि परिक्षा सुरु हुनुभन्दा कम्तीमा १ अगावै राष्ट्रिय परिक्षा बोर्डले कडा सुरक्षाका बीच प्रशासनको रोहवरमा जिल्ला जिल्ला पठाउने गर्दछ । र त्यसरी पठाइएको प्रश्नपत्र कडा सुरक्षाका बीच प्रहरी कार्यालयमै राखिन्छ । र प्रत्येक दिन परिक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि प्रत्येक परिक्षा केन्द्रमा प्रश्नपत्र पुर्याउने गरिन्छ । त्यसरी परिक्षा केन्द्रमा पुर्याइएको प्रश्नपत्र सम्बन्धित सबैको रोहवरमा मुचुल्का उठाइ खोल्ने गरिन्छ ।

यहाँनेर प्रश्न उठ्छ यति कडा सुरक्षाका बीच राखिएको प्रश्नपत्र कसरी बाहिरियो ? परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र कसरी आउट भयो ?

आउट भएको प्रश्नपत्रको तस्बिरमा ‘ब्लेड’ पनि देखिएको छ । ‘ब्लेड’ हेर्दा प्रश्नपत्रको पोका ‘ब्लेड’ले काटेर प्रश्नपत्र निकाली तस्वीर लिएको अनुमान लगाउन सकिन्छ । अब कुरा रह्यो त्यसरी प्रश्नपत्र कसले निकाल्यो ? त्यति सुरक्षाका बाबजुद त्यसरी प्रश्नपत्र निकाल्ने आँट कसले गर्यो ? यसमाथि गहन तथा सुक्ष्म अनुसन्धान गरि दोषी माथि कारबाही हुनैपर्छ ।

अर्कोतिर दुईवटा विषयको प्रश्नपत्र बाहिरिएपछि परिक्षा हुन बाँकी विषयको प्रश्नपत्रको अवस्था के छ त्यतातिर पनि ध्यान दिनु जरुरी छ । हुनत संघीय शिक्षा मन्त्रालयले ७७ वटै जिल्लामा बाँकी परिक्षाको प्रश्नपत्र अवस्था के छ त्यसको अनुगमन गर्न निर्देशन दिएको छ । त्यसको प्रतिवेदन आएपछि मात्रै बाँकीको अवस्था भन्न सकिन्छ ।

प्रश्नपत्र आउट भएका दुईवटा विषयको परिक्षा रद्द भईसकेको छ । तसर्थ परिक्षा हुन बाँकी विषयहरु संवेदनशील भई परिक्षा सञ्चालन गर्नु जरुरी देखिन्छ । यिनै विद्यार्थीहरुले भोलि गएर देश बनाउनेछन् । तसर्थ कुनैपनि बहानामा विद्यार्थीको भविष्य सँग खेलवाड गर्नु हुदैन । आउट भईसकेका प्रश्नपत्रहरुको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन गरि अविलम्ब दोषी माथी कडा भन्दा कडा कारबाही गरिनुपर्द्छ ।

विद्यार्थी, परिक्षा समन्वय समिति, प्रदेश सरकार र संघीय सरकार अहिले संयमता अपनाएर बाँकी परिक्षा सञ्चालनतर्फ ध्यान दिनु नै बुद्धिमता हुनेछ ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here