काठमाडौ । १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत जारी पुरुष भलिबलमा नेपाली टिम समूह चरणबाटै बाहिरिएको छ । उद्घाटनअघि भएको भलिबलमा नेपाली महिला टिम सेमिफाइलनमा पुगेको छ भने पुरुष टिम भने आजसहितका दुवै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाली पुरुष टिम भारतसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारतविरुद्धको खेल जित्नैपर्ने थियो । तर, नेपाल भारतसँग २५–१५, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित भयो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । बंगलादेशविरुद्ध नेपालले सुरुवाती २ सेट जितेर पनि त्यसको फाइदा उठाउन सकेन । समूह ए का भारत विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइलनमा पुगेका छन् । यता शुक्रबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाली महिला टिम समूह ए को उपविजेताका रुपमा सेमिफाइलनमा पुगेको छ ।

नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध ३–० कै सोझो सेटमा जित निकालेको थियो भने भारतसँग ३–०ले नै पराजित भएको थियो । नेपालले अब सेमिफाइनलमा समूह बी को विजेता श्रीलंकासँग खेल्नेछ । यस्तै, अर्को सेमिफाइलनमा भारत र माल्दिभ्स भिडदैछन् । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here