समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार तथा कमिसनको खेल भइरहेको समाचार दिनप्रतिदिन सार्वजनिक भइरहेको छ । प्रत्येक दिन अख्तियारले कुन न कुनै पदाधिकारीलाई घुस सहित रङ्गेहात समातेको तथा मुद्दा चलाइरहेका पनि सार्वजनिक हुने गरेको छ । तर पनि भ्रष्टाचार तथा कमिसनको खेलमा कुनै कमी आएको छैन । झन् दिनप्रतिदिन यो क्रम बढी नै रहेको छ ।

धनुषाको एक नगरपालिकामा यस्तै खुल्लेयाम कमिसनको खेल तथा भ्रष्टाचारी भ इरहेको पाइएको छ । धनुषाको हँसपुर नगरपालिकामा उपभोक्ता समितिहरुसँग दस प्रतिशत कमिसनमा भुक्तानी दिइरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले उपभोक्ता समितिहरुसँग खुल्लेयाम दश प्रतिशत कमिसन लिएर चेक काट्ने गरेको पाइएको छ ।

प्रमुख प्रशाकीय अधिकृत यादव आइतबार नगरपालिकाको कार्यालय समेत नपुगी जनकपुरको पुल चौकमा एक घरमा नगरपालिकाका लेखा शाखाका कर्मचारीहरुलाइ पनि बोलाइ भुक्तानीको चेकहरु काटेका छन् । प्रमुख प्रशाकीय अधिकृत यादवले लेखापाल महेन्द्र कापरी र सह-लेखापाल दिपेन्द्र यादवलाई घरमै बोलाएर चेक काट्नको लागि कागजात तयार पार्दै गरेको तस्बिर फेला परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरिशँकर यादवले नगरपालिकाकै खर्चमा जनकपुरको घरमा ईन्टरनेट जडान गरि फर्निचरका सामग्री सहित सुविधा सम्पन्न कार्यालय संचालन गरिरहेको नाम नछापिने शर्तमा नगरपालिकाकै एक कर्मचारीले बताए ।

सेवाग्राहीको कामकाजको लागि सार्वजनिक बिदा बाहेक कार्यालयमै बस्नुपर्नेमा प्रमुख प्रशाकीय अधिकृत यादव कार्यालयमा हाजिर गरेर व्यक्तिगत काममै फर्किने गरेका छन् । केही दिनदेखि पुरानो बाँकी भुक्तानीका लागि उनी जनकपुरको घरमै कागजपत्र मिलाएर दश प्रतिशत कमिसनको सर्तमा चेक काट्ने गरेको उपभोक्ता समितिहरुले आरोप लगाएका छन् ।

कमिसनको रकम उठाउन अधिकृत यादव दैनिक ज्यालादारीमा एक जना कर्मचारी नै भर्नाको गरेर खटाएका छन् । उपभोक्ता समितिहरुलाई भेट्ने र कमिसन उठाउने काम ज्यालादारीमा खटिएको कर्मचारीको हुन्छ र रकम असुलेपछि अधिकृतलाई भेटेर रकम जिम्मा लगाउछ्न । त्यसपछि अधिकृत र लेखापालहरु बाँडफाँड गर्ने गरेको एक जना ठेकेदारले बताए ।

आर्थिक वर्ष ०७५/७६ मा उपभोक्ता समिति र कोटेशन मार्फत सम्पन्न भएको योजनाको बिल भुक्तानीको लागि समिति र ठेकेदारसँग दश प्रतिशत कमिसन लिने सर्तमा मात्रै चेक दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए । उनले भने,-‘नगरपालिकामा मेयर उपमेयर बीचको विवादका कारण १ वर्ष अघि नै कार्य सम्पन्न गरिसके पनि भुक्तानी नपाएर समिति त्यतिकै तनावमा छन्, त्यसमाथि झन् भुक्तानी लिन अधिकृतलाई योजनाको लागि छुट्टयाइएको रकमको दश प्रतिशत कमिसन पहिले नै दिनुपर्ने र नदिदा अनेक बहानामा मुल्यांकन घटाइए दिने त्रास देखाएर कमिसन असुली गरिरहेका छन् ।’

दश प्रतिशत कमिसन बारे नगर प्रमुख रामज्ञान मडलले अनभिज्ञता प्रकट गरेका छन् । उनी भन्छन्,-‘हामीले कुनै उपभोक्ता समिति लगायत कोटेशनमा योजना सम्पन्न गरेको ठेकेदारहरुसँग कुनै बहानामा कमिसन नलिई बिल भुक्तानी गर्न निर्देश दिएका छौं । तर त्यस्तो कुनै समितिको बिल भुक्तानी गरेको वापत कमिसन लियो भने त्यो भ्रष्टाचार हो र भ्रष्ट कर्मचारीलाई दण्डित पनि हुनुपर्छ । उनले थपे,-‘प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिको कार्यलयमा पुगेर गर्नुपर्ने काम कुनै व्यक्तिको घरमा लुकीछुपी गरेको जस्तो गर्नुहुन्न,जकपुरमै बसेर चेक काटेको जानकारी पाएलगत्तै मैले लेखापाललाई फोन गरेका थिएँ तर उहाँले पहिलेदेखि मेरो फोन उठाउनु हुन्न, यसको बारेमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराइसकेको छु ।’

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत यादवसँग प्रतिक्रिया लिदा उनले फोनमा केही नभन्ने र सत्यतथ्य बुझ्नुछ भने कार्यालय समयमा आएर भेट्न भन्दै थप कुरा थप कुरा गर्न बाट पञ्छिन खोजे ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here