समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको साइकल र्‍याली शनिबार भएको छ । साइकल र्‍यालीको यो छैटौं संस्करण हो । अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । यो साइकल र्‍याली पनि त्यसैको एउटा पाटो हो । साइकल र्‍याली कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिले व्यक्त गरेका भनाइको सम्पादित अंश :

साइकलमैत्री सडक बनाउने योजना
योगेश भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

क्यान्सरसँग लड्ने यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्छ। युवा समुदायलाई स्वास्थ्य क्षेत्रमा जोड्ने यो कार्यक्रम राम्रो छ। काठमाडौंको हिजोको सौन्दर्यलाई अहिलेको विभिन्न परिस्थितिले धक्का दिएको छ। जसकारण यहाँको सौन्दर्य पुरानो अवस्थामा विद्यमान छैन। तर, हामीले यसलाई परिवर्तन गर्न नसक्ने भन्ने छैन। काठमाडौंभित्र कसरी साइकलमैत्री वातावरण बनाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गरिरहेका छौं। विश्वसम्पदा सूचीमा परेका स्वयम्भू, वसन्तपुर दरबार, भक्तपुर दरबार, चाँगुनारायण मन्दिरलगायत क्षेत्रलाई साइकल ट्रेलले जोड्न सकियो भने राम्रो हुन्छ। यसका लागि हामीले परामर्श गरिरहेका छौं।

रामेश्वर राय यादव 

-श्रम तथा रोजगारमन्त्री

जनचेतना बढाउने र क्यान्सर रोगविरुद्ध लड्न सिकाउने यो कार्यक्रम एकदमै महत्त्वपूर्ण छ। यस कार्यक्रमले स्वास्थ्य क्षेत्रमा जनचेतना बढाओस् भनेर शुभकामना दिन चाहन्छु।

कुलमान घिसिङ

कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

साइकल फिजिकल फिटनेसका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। आजको कार्यक्रम पनि क्यान्सरविरुद्धको जनचेतनाका विशेष महत्त्वको छ। साइकल चलाउनु वातावरणीय दृष्टिले पनि राम्रो हो। साइकल लेनलाई व्यवस्थित गरी साइकल यात्रीलाई प्रोत्साहन गर्न सके प्रदूषण पनि कम हुन्छ। त्यति मात्र होइन, रोगसँग लड्ने क्षमता पनि बढ्छ।

प्राडा जगदीश अग्रवाल, डिन, चिकित्सा शास्त्र अध्ययन संस्थान

यो कार्यक्रमले मानिस स्वस्थ रहन साइकल चलाउनुपर्छ भन्ने सन्देश दिएको छ। क्यान्सरविरुद्धको जनचेतनासमेत साइकल यात्राले दिएको छ। यसले क्यान्सर रोगको पहिचान छिटो गर्ने र चहिचान गर्नका लागि केके गर्न सकिन्छ भन्ने सन्देश दिन्छ। साइकल यात्राले मानिसको स्वास्थ्य र वातावरण सुधार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

मदनकृष्ण श्रेष्ठ, वरिष्ठ कलाकार

पहिले–पहिले चितवनमा छोरी मान्छेले साइकल चड्दा मान्छेहरू दंग पर्थे। जनचेतना भएको सचेत मानिस मात्र साइकल चढ्छ भन्ने सोचाइ हुन्थ्यो। त्यसैले साइकल चढेको देखेपछि छोरी मान्छे अगाडि बढिरहेका छन् भन्ने सोचाइ मानिसमा हुने गथ्र्यो। तर, अहिले विभिन्न किसिमका मानिसले आफ्नै कारणले साइकल चढिरहेका छन्। पछिल्लो समय स्वस्थ रहन साइकल चढिरहेका छन्। साइकल चढ्दा राम्रो हुन्छ भन्ने जनचेतना फैलिरहेको छ। साइकल यात्रा गर्ने मन हुँदाहुँदै पनि धेरै मानिसले यसो गर्न पाएका हुँदैनन्। साइकल लेन राम्रो नहुँदा र सडक असुरक्षाका कारण साइकल चढ्न डराइरहेका हुन्छन्। त्यसैकारण सरकारले सडकमा सबैभन्दा बढी साइकलमा प्राथमिकता दिनुपर्छ र साइकल लेन बनाउनुपर्छ।तुल्सी घिमिरे, चलचित्र निर्देशक

पहिले कामका लागि मात्र साइकल चलाइन्थ्यो। अहिले शारीरिक कसरतका लागि चलाइन्छ। अहिलेका नयाँ पुस्ता स्वाथ्यका लागि साइकल चलाउन रुचाउँछन्। स्वस्थकर वातावरणका लागि पनि साइकल चलाउनु उपयुक्त मानिन्छ, त्यसैले पनि यसको महत्त्व छ। तर, हाम्रो सहरमा यसका लागि खासै उपयुक्त सडक भने छैनन्। सडक व्यवस्थित गर्न सके साइकलयात्रीलाई प्रोत्साहन हुन्थ्यो।

सुशील पन्त, अध्यक्ष, क्यान्सर केयर फाउन्डेसन

समयमा उपचार गरियो भने क्यान्सर निको हुन्छ। यो कुरा धेरै मान्छेलाई थाहा छैन। त्यसैले क्यान्सरपीडित बढिरहेका छन्। अधिकांश महिलामा पाठेघरको क्यान्सरको समस्या देखिएको छ। यसका लागि पनि आजको कार्यक्रमले सचेतना फैलाउन सहयोग गर्छ। यो कार्यक्रमको उद्देश्य भनेको क्यान्सर हुन नदिन र भएपछि पनि निको हुन्छ भन्ने जनचेतना फैलाउनु हो।

रत्न श्रेष्ठ, अध्यक्ष, नेपाल साइकल सोसाइटी

साइकल यात्रा गर्न सहरमा धेरै समस्या छ। एउटा ट्राफिक समस्या, अर्को सडकको समस्या। जसले गर्दा दुर्घटना पनि दिनदिनै बढिरहेको छ। वातावरण प्रदूषण पनि बढिरहेको छ। सवारीसाधन खर्च, वातावरणीय प्रदूषण, यात्रामा समयको बचत आदिको विकल्पका रूपमा साइकल यात्रालाई लिन सकिन्छ। साइकल छोटो दूरीका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। सहरको आधारभूत विकासको आधार साइकल लेनलाई लिन सकिन्छ। यस ढंगले विकास गरियो भने साइकल यात्राको महत्त्व बढ्दै जान्छ।

सर्वेन्द्र खनाल

महानिरीक्षक, नेपाल प्रहरी

क्यान्सरविरुद्ध जनचेतना जगाउनका लागि यो साइकल र्‍याली आयोजना गरिएको छ। साइकल यात्रा जनचेतनाका लागि एकदमै महत्त्वपूर्ण छ। साइक्लिङलाई वान अफ द बेस्ट एक्ससाइज भनिन्छ। त्यसैले पछिल्लो समय साइकल यात्रालाई शारीरिक कसरतका रूपमा पनि लिइन्छ। यसमा धेरै खर्च नहुने र स्वास्थ्यमा पनि राम्रो हुने भएकाले साइकल यात्रा सबैको रोजाइमा परेको हो। त्यति मात्र होइन, साइकल यात्राले हाम्रो पर्यावरणलाई समेत बचाउने भएकाले यो अत्यावश्यक छ। मानिसको स्वास्थ्यदेखि वातावरणीय सुरक्षासम्मका कुरा साइकयात्रा फाइदाजनक भएकाले विश्वमा साइकल यात्रीको संख्या बढिरहेको छ।

बुद्धिबहादुर तामाङ

-साइक्लिङमा स्वर्णपदक विजेता

साइकल चलाउनु स्वास्थ्यका लागि एकदमै राम्रो कुरा हो। वातावरण प्रदूषण कम गर्न पनि साइकलले महत्त्वपूर्ण भूमिका खेल्छ। मैले साइकल चलाउन थालेको करिब १२ वर्ष जति भयो। मैले खेलाडीको भूमिकामा देश विदेशमा गएर विभिन्न प्रतियोगितामा भाग लिएको छ। नेपालको तर्फबाट यसरी खेल्न पाउँदा एकदमै खुसी लाग्छ। म खेलाडीका रूपमा मात्र साइकल चलाउँदिनँ, सडकमा त्यसै साइकल चलाउँदा छुट्टै किसिमको आनन्द आउँछ। साइकल चलाउनु खेल खेल्नु मात्र होइन। साइकल चलाउने बानीले धेरै राम्रो हुन्छ। स्वास्थ्य र वातावरणीय दृष्टिबाट पनि साइकल यात्रा फलदायी छ।

सुयोगमान सिंह बस्न्यात, साइकल अभियन्ता

म अहिले १० वर्षको भएँ। चार वर्षको उमेरदेखि साइकल चलाउँदै आएको हुँ। नेपालका धेरै ठाउँ साइकलबाटै यात्रा गरेको छु। सबैभन्दा लामो दूरी २५० किलोमिटर टाढा जनकपुरसम्मको यात्रा दुईपटक गरिसकेँ। यसबाहेक छोटो दूरीसमेत गरेर ४४ वटा यात्रा साइकलमा गरेको छु। यसरी साइकलमा यात्रा गर्दा मलाई एकदम रमाइलो महसुस हुन्छ। साइकलमा यात्रा गर्दा हाम्रो स्वास्थ्य राम्रो हुन्छ।

साइकलको प्रयोगले वातावरण पनि स्वच्छ रहन्छ। तर, हामीलाई साइकल चलाउन अहिले उपत्यकाको सडकमा सहज छैन। ठूला सवारीले पनि उत्तिकै पेलेर सवारी चलाउँछन्। साइकल लेन छुट्टै बनाएर कुदाउन पाइयो भने। सुरक्षित महसुस गर्न सकिन्छ।

युवराज चौलागाईं, गायक

साइकल यात्राको ठूलो महत्त्व छ। साइकल चलाउन मन पर्छ। केही समय अघिसम्म म साइकल चलाउने गर्थें। साइकल चलाउनाले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। वातावरणीय हिसाबले पनि यसको महत्त्व छ। अहिले काठमाडौं उपत्यकाका सडक साइकलमैत्री छैनन्। सरकारले सडकलाई साइकलमैत्री बनाए साइकल यात्रीलाई प्रोत्साहन मिल्थ्यो।

डा.सन्तोष उपाध्याय, मिस्टर नेपाल २०१९

साइकल चलाउनाले फिजिकल एक्ससाइज हुन्छ। जसले हामी स्वस्थ्य रहन सक्छौं। सहरको जामको समस्या कम हुन्छ। साइकल यात्रा वातावरणमैत्री पनि हुन्छ। विश्वको प्रदूषित सहरमध्ये हाम्रो सहर पनि एउटा हो। साइकल यात्रालाई प्रोत्साहन गर्न सके वातावरण प्रदूषण कम हुन्छ। साइकललाई हामीले अल्टरनेट ट्रान्सपोर्टका रूपमा विकास गर्न सके बढी फाइदा हुन्छ। सडकमा साइकल लेनको विकास भएको छैन। लेनलाई व्यवस्थित गर्न सके साइकल चालकलाई सहज हुन्थ्यो। सरकारले नीति बनाएर साइकलमा यात्रा गर्न प्रोत्साहन गर्नुपर्छ।

सुदीप पौडेल

उपाध्यक्ष, नेपाल साइक्लिङ संघ

साइकल यात्रा स्वस्थ्य रहन एकदमै महत्त्वपूर्ण छ। यसले खेलकुद र पर्यटन क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। पहिले–पहिले नेपालमा काम गर्नेहरूले मात्र साइकल चलाउँथे। तर, अहिले स्वस्थ्य रहन पनि साइकल चलाउन थालिएको छ। उपत्यकाको ट्राफिक जाम हेर्दा समय बचत गर्न पनि साइक्लिङ एकदमै महत्त्वपूर्ण छ।     

प्रस्तुति : आकाश/उपेन्द्र

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here