समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

डिके सिंह

जनकपुरधाम, ५ फागुन ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरको मरधरस्थित मगरटोलका स्थानीयहरु बुधबार विहेको भोज सँगै रमाइलो नाँचगानमा व्यस्त थिए । बुधबार दिउँसो भएको विवाहको रौनकता राति अवेरसम्म चलेको थियो । स्थानीयहरु विवाह समारोहको रमाइलोमा मग्न थिए ।

त्यसरी विवाहको रमझममा सहभागी हुनेमध्ये रेशमा भनेर पनि चिनिने दितिया रसाइली थिइन् । उनी दिउँसो र साँझको रमझममा सहभागी भएकी थिइन् । छिमेकमै विवाह भएकाले दितियाको बाबु, हजुरबा र हजुरआमा उतै सुती होली भनेर आफ्नो घरमा सुते ।

केही समय अगाडि दितियाकी आमा उनका बाबुलाई छाडेर अर्कै पुरूषसँग हिँडेकी थिइन् । दितियाको परिवार अहिले अर्काको घरमा बस्दै आएको छ । केही समय अघि आगो ताप्ने क्रममा घर जलेपछि उनीहरू अर्काको घरमा बस्दै आएका हुन् ।

दितियाका अभिभावकमध्ये ८० वर्षीय हजुरआमा सूर्यमाला रसाइलीको आँखाको दृष्टिशक्ति कमजोर छ । उनका बाबु देवनारायण विश्वकर्मा (रसाइली) सोझो स्वभावका छन् । यस्तो परिवारमा बुधबारको विवाहको रमझम सकिँन नपाउँदै बज्रपात आइपर्यो । सम्भवत उक्त परिवारले सोचेको थिएन होला, बुधबार विवाहको रमझम सकिन नपाउँदै बिहीबार दितिया होइन उनको शव भेटिनेछ भनेर । तर, भयो त्यस्तै ।

बुधबार साँझ विवाहपछि रमाइलो भइरहेको बेला त्यहाँ गएकी कक्षा(२ मा अध्ययनरत दितिया रसाइली (रेशमा)को शव बिहीबार विहान १० बजेतिर घरभन्दा करिब ५ सय मिटर पर उखुबारीमा फेला पर्यो ।

बिहीबार विहानसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भयो । तर छरछिमेक र गाउँले सबै लाग्दा पनि उनलाई भेट्न सकेनन् । बिहीबार विहान १० बजेतिर खेत जोत्न टयाक्टर लिएर जाने एक जनाले एकजना बच्चाको शव जलाएको अवस्थामा खेतमा रहेको खबर गाउँमा गर्यो ।

उक्त खबर पाएपछि गाउँलेबीचमा सन्नाटा छायो, धेरैले पूकारे ‘ईश्वर त्यस्तो नहोस्’ । जे भए पनि उक्त स्थानमा जानु उनीहरूको वाध्यता थियो, गए । तर शव झट्टै चिन्न सक्ने अवस्थामा थिएन । दितियाले लगाउने स्वेटर र हातले उ नै हो भनी घरपरिवार र स्थानीयहरुले यकिन गरे ।

घटनास्थल पुगेकी महिला अधिकारकर्मी विना कडारीका अनुसार शव भेटिएको उखुबारीमा उनको शव जलाइएको अवस्थामा फेला परेको थियो । शरीरमा कपडा थिएन, वरिपरी रगतका केही छिटाहरु देखा परेका थिए । उनको बलात्कारपश्चात पहिचान नहोस् भन्ने मनसायले अपराधीले जलाएको हुन सक्ने कडारीको आशंका छ ।

घटना थाह भएपछि प्रहरीलाई खबर गरियो । उखुबारीमा शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो ।

मृतक दितियाको आधा शरीर जलाइएको अवस्थामा भेटेपछि पोस्टमार्टमका लागि जनकपुरस्थित अञ्चल अस्पताल लगियो । त्यस्तै उनको यौनाङ्ग र रगतलाई डिएनए परीक्षणका लागि राजधानीस्थित विधिविज्ञान प्रयोगशालामा पठाएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।

४ दिनमा पनि पक्राउ परेनन् अपराधी

बालिकामाथि जघन्य अपराध भएको ४ दिन वितिसकेको भए पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेको छैन । जनकपुर अञ्चल अस्पतालको मेडिकल रिर्पोटसमेत आइ नसकेकाले प्रहरी अहिले घटना बलात्कारपछि हत्या गरी जलाइएको हो या हत्या गरी जलाएको हो भनी अन्यौलमा छ ।

अन्यौलता कायमै रहे पनि शव भेटिएको घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी जलाएको दावि गर्छन् ओरेक नेपालकी महिला अधिकारकर्मी बिना कडारी । महिला अधिकारकर्मी प्रमिला सिंह भने समाजमा अहिले मानवताको चिरहरण भएको टिप्पणी गर्छिन् । ‘एकतर्फ समाजमा विहेको रमाइलो भइरहेको थियो अर्का्तिर नाबालिकाको अस्मिताको चिरहरण भएको छ । हाम्रो समाज कता तिर गई रहेको छ, एक निरिह बालिकामाथि जघन्य अपराध गर्ने अपराधिलाई अविलम्ब पक्राउ गरि कडा भन्दा कडा कारवाही गरिनुपर्दछ हैन भने हामी चुप लागेको बस्न सक्दैनौ’ उनको भनाइ छ ।

पिडित परिवार अर्थात् रेशमाकी आमाले छोडेर गएपछि उनको हेरचाह गर्दै आएकी ८० वर्षीय हजुरआमा सूर्यमाला रसाइली अहिले विक्षिप्त अवस्थामा छिन्, उनको सहारा खोसिएको छ । उनलाई घरमा सघाउने ८५ वर्षीय श्रीमान् र भकभक गरेर बोल्ने सोझा देवनारायण विश्वकर्माको खुशीको संसारमा बज्रपात परेको महिला अधिकारकर्मी कल्पना कडारीले बताइन् ।

उनी भन्छिन, ‘हामी महिला अधिकारकर्मीहरु यस घटनाको सघन रुपमा छानबिन गर्न अनुरोध गर्छौं ।’ अपराधीलाई कडा भन्दा कडा कारबाहीका लागि प्रहरी प्रशासन उपर दबाब सिजर्ना गर्ने उनको भनाइ छ ।

महिलाअधिकारकर्मीहरु आन्दोलित

रेशमा रसाइली (दितिया) को हत्याका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषिलाई कानुनी कठघरामा उभ्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन् । अपराधीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग राख्दै महिला अधिकारकर्मी आन्दोलित भएका छन् ।

शनिबार प्रहरी प्रशासनलाई दवाव दिन उनीहरूले बलात्कारविरुद्ध र्याली गरेका । आइतबार मिथिला नगरपालिकामार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउने महिलाअधिकारकर्मी विना कडारीलले जानकारी दिइन् ।

उच्चस्तरीय टोली छानबिन गर्दै

इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक सरोज राइका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरिले अनुसन्धान सुरू गरेको छ । केही शंकास्पद व्यक्तिसँग सोधपुछ गरेको समेत राईले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि प्रदेश(२ का प्रहरी प्रमुखको कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषास्थित क्राइम ब्रान्चले पनि घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here