समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम ।आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको १८ सिटका लागि देशभरी आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । त्यसै अनुरुप प्रदेश २ मा समेत ४ सिटका लागि उम्मेदवारहरुले आउम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । कुनै समय एक अर्काको परमशत्रु मान्ने दुई दल राजपा र नेकपाको यस निर्वाचनमा मिलनको साइत जुरेको हो । मधेश आन्दोलनमा एक अर्को दलको कार्यकर्ताले एक अर्कालाई तल्लोस्तरसम्म गाली गर्ने र एक अर्का बिरुद्ध जुलुशसम्म निकाल्ने गरेको दृश्य यहाँका जनताले देखिसकेका छन । संविधान संशोधनको मुद्दालाई लिएर नेकपासंग बैठकसम्म बस्न नचाह्ने दुबै दलका शिर्षस्थ नेताहरुले केही दिन अगाडी मात्रै राष्ट्रियसभा निर्वाचनका साथै आगामी दिनमा समेत सहकार्य गर्नेसम्मको सहमति गरिसकेका छन् । राजपा र नेकपा बिच रातारात भएको सो सहमतिबाट सबै चकित थिए । सोही सहमति स्वरुप नेकपा र राजपाको मिलनको दृष्य हेर्न लायक थियो ।

राष्ट्रियसभाको उम्मेदवारी दर्ताका लागि दुबै दलका उम्मेदवारहरु संगै निर्वाचन आयोगको कार्यालय पुगेका थिए । नेकपाको कार्यालयबाट राजपा र नेकपाको संयुक्त जुलुशले नयाँ नेपाली राजनीतिको संकेत गरिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रदेश २ मा राष्ट्रियसभाको ४ सिटका लागि नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

राजपा र नेकपा बिचको यो मिलनलाई कतिपयले नेपाली राजनीतिको सकारात्मक पक्ष झल्किरहेको बताउँछन् भने कतिपयले यो नेपाली राजनीतिको निकृष्ट पक्ष रहेको बताउँछन् । एक अर्कालाई परमशत्रु बुझ्ने यी दुई दलको मिलन कसरी सम्भव भयो त ? यो मिलन लामो समयसम्म चल्छ वा चल्दैन भन्ने लगायतका यक्ष प्रश्नहरु छँदैछन् । यद्यपि राष्ट्रियसभाका लागि दुबै दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले यसलाई सकारात्मक रुपमा लिईरहेका छन् ।

राजपाबाट राष्ट्रियसभाका लागि उम्मेदवारी दिएका राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवले एक अर्का प्रतिको तिक्तता बिर्सेर नयाँ राजनीतिको बाटो दुबै दल मिलेर खोलेकोमा खुशी व्यक्त गरे । हाम्रो मुद्दा यथावत नै रहेको बताउँदै यादवले हाम्रो मुद्दालाई नेकपाले कुन रुपमा अगाडी बढाउने छ त्यसमाथि आगामी सहकार्यको बाटो निर्भर रहेको स्पष्ट पारे । उनले यी दुई पार्टी राष्ट्रियसभा निर्वाचनकै लागि भएपनि एक ठाउँमा आउनुले राजनीतिमा कोही कसैको परमशत्रु वा सदाका लागि मित्र नहुने कुराको प्रमाणीकरण गरेको दावी गरे ।

यता नेकपाबाट महिला कोटामा राष्ट्रियसभामा उम्मेवारी दिएकी तुलसा दाहालले नेपाली राजनीतिको सबैभन्दा सुन्दर पक्ष यही रहेको बताइन् । उनले कहिल्यै एक अर्कालाई गाली गर्ने दलहरु एकै साथ मिलेर चुनाव लड्नुलाई सकारात्मक रुपमा लिन अपिल गरिन् ।

दुबै दलका शिर्षस्थ नेताहरु यी दुईपार्टी बिचको सहकार्यबाट शिर्षस्थ नेताहरु हौसिएपनि तल्लो स्तरमा कार्यकर्ताहरुमा निराशा सहजै देख्न सकिन्थ्यो । एक जना राजपाका कार्यकर्ताले नाम नबताउने शर्तमा भने ‘मधेश आन्दोलनको समयमा हामी नेकपा बिरुद्ध संविधान संशोधनको मुद्दा लिएर जुलुश तथा धर्ना गयौँ, अहिले दूबै पार्टी एकठाउँमा आएका छन्, संविधान संशोधन अहिलेसम्म भएको छैन कुन मुख लिएर जनता सामु जाउँ ।’

यता,राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले यी दुई बिचको सहकार्यले राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन भन्ने कुराको प्रमाणीकरण गरिरहेको बताए । उनले भने,‘यस प्रकारको सहकार्यले नेपालमा विचारको राजनीति नभई सत्तालिप्साको राजनीति मात्रै हुने गरेको सन्देश आम जनतामा गईरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here