तराई मधेशको विकासको लागी सरकार अग्रसर

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

सिरहा, १९ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको बारे विभिन्न हल्ला चलाईएपनि तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।

शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सम्बोधन गर्न शनिवारसिरहा पुगेका प्रधानमन्त्री ओलीले तराई मधेशको बारे विभिन्न हल्ला चलेपनि यसको जवाफ सरकारको कामले दिने बताए ।

उनले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताउँदै चाँडै नै मेचीदेखि महाकालीसम्म रेल गुड्ने बताएका छन् ।

प्रम ओलीले त्यसका लागि सबै प्राविधिक काम भइरहेको बताए । उनले भने, ‘सरकार तीव्र गतिमा सबैकाम थालिसकेको छ, मेचीदेखि महाकालीसम्म चाँडै रेल गुडाउँछौं, हामिले रेल गुडाएको देखेपछि हाम्रो कुरालाई मजाक उडाउनेहरु छक्क पर्नेछ, तर अलिक धैर्य गर्नुहोस् ।’

उनले विदेश आफ्नो लागि नभई यही सबका लागि र जनताको हितका लागि घुमेको बताए । अरु–अरु पार्टीका सरकारले देशको ढुकुटी रितो पारेको आरोप लगाउँदै उनले यस सरकारलाई काम गर्न अलिक असहज भइरहेको सुनाए ।

प्रम ओलीले मुलुक हरेक दिन आधुनिकता तर्फ अगाडि बढिरहेको उल्लेख गर्दै तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको बताए ।

यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि आफुले गत वैशाख ५ गते सिरहाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेको ओलीले भने ।

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताएका छन् । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको तर आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ र सरकारले बढाउने प्रम ओलीले दावी पनि गरेका छन् ।

उनले यथावत समस्याका समाधानका लागि सरकार अग्रसर रहेको बताउँदै गरेका सबै प्रतिवद्धता विस्तारै पूरा हुँदै जाने बताए । सरकारले गरेका कुनै प्रतिवद्धाता हावा कुरा नभएको बताउँदै उनले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए ।

हुलाकी राजमार्ग यही सरकारले बनाउने भौतिकमन्त्री महासेठको दावी

उक्त कार्यक्रममा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले आउने चुनाव सम्म मेची देखि महाकालीसम्मको हुलाकी राजमार्ग यही सरकारले बनाउने दाबी गरेका छन् ।

शनिबार प्रदेश नं. २ को सिरहा जिल्लाको सिरहा स्थित च. माविको छात्रावासलाई शिलान्यास तथा शहिद हेमनारायण यादवको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै महासेठले मेची देखि महाकाली सम्मको हुलाकी राजमार्ग आफ्नै पालामा चुनाव अघि नै बनाउने बताएका छन् ।

२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो ।

यादव हत्याको १५औं स्मृतिमा शनिवार प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलयको शिलान्यास समेत गरेका छन भने हुन् चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका १ मा छात्राबास भवनको शिलान्यास गरेका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here