समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । ‘नर्सिङ्ग पढ्ने सपना थियो तर परिवारको आर्थिक अवस्था कमजोर भएको कारण पढ्न सकिन्’ मिथिला पेन्टिङ्ग सिक्दै गरेकी जनकपुरकी बेवी शर्माको भनाइ छ ।

जनकपुरस्थित जनकपुर आर्ट एण्ड क्राफ्टमा विगत एक महिनादेखि मिथिला पेन्टिङ्गको तालिम लिँदै गरेकी बेबी शर्माको नर्स बन्ने सपना छ । तर, पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उनको त्यो सपना पूरा गर्न सकिएन ।

महिला सशक्तिकरणको तालिम लिँदै गरेकी बेवी भन्छिन्, ‘मिथिला पेन्टिङ्ग सिकेर कमाउँछु अनि नर्स बन्छु । समाजसेवा गर्ने भावनाले नर्स बन्ने इच्छा छ । आशा छ की मेरो यो कलाले मेरो सपना पुरा हुन्छ ।’

२०७४ सालमा कक्षा १२ को अध्ययन सकाएकी शर्मालाई स्नातक पढ्ने पनि इच्छा छ । तर, कुरा फेरि पैसामै आएरै रोकिन्छ ।

मिथिला पेन्टिङ्गको तालिम हुँदै छ भन्ने जानकारी एक जना चिनेकै दाईले उनलाई भनेपछि तालिममा सहभागि भएकी हुन् ।

नेपाली र विदेशी बजारमा मिथिला चित्रकलाको माग राम्रो भएकाले आफूले जानेको र मैथिलि संस्कृति र कला झल्किने चित्रकला बनाएर व्यवसायमा लाग्ने उनको ठूलो इच्छा छ ।

‘‘आब सिख क अप्पन गाम, ठामके प्रचार मिथिला पेन्टिङ्ग मार्फत जनकपुर आबयवाला देशविदेशक लोकके देखेबै आ हमहु कमेबै ।” अर्थात् अब म मिथिला पेन्टिङ्ग सिकेर आफ्नो गाउँ ठाउँको कला संस्कृतिको बारेमा मिथिला पेन्टिङ्ग मार्फत प्रचार प्रसार गर्छु र पैसा कमाउँछु ।’’
आर्थिक अवस्था सुधारका लागि मिथिला पेन्टिङ्गले ठूलो सहयोग गर्ने उनको ठूलो धोको छ । उनी सुनाउछिन्, ‘सानो सानो खुशीका लागि बुबा आमाले अर्काको मुख ताक्नुपर्ने हुन्छ । तर, मेरो कलाबाट कमाएपछि त्यो अवस्थाको अन्त्य हुन्छ ।’

६ सन्तानमा तेस्रो सन्तानकी रुपमा जन्मिएकी बेबीसँग कुनै सिप नभएपछि १२ को अध्ययन सकेपछि घरमै बसिरहेकी थिईन् ।

मधेशमा अहिलेपनि महिलाहरु खुलेर कुनैपनि काम गर्न जाँदा समाजमा नराम्रो दृष्टिकोणले हेर्ने चलन छ । छोरीचेलीलाई शिक्षा र व्यवसायमा लाग्नुपर्छ भन्ने कुराबाट टाँढै राखिन्छ ।

आफूपनि मधेशकै छोरी भएकै कारण अन्य काममा जान पनि हजार पटक सोच्नुपर्ने उनको अनुभव छ ।

छोरी भनेको घुम्टो ओढ्ने र घरभित्रै बस्ने मान्यता अझैपनि समाजमा विद्यमान रहेकाले त्यस्ता कुरालाई पनि अन्त्य गर्ने अभियानमा आफू लाग्ने भन्दै बेबीले म जस्ता थुप्रै मधेशकी छोरीको यस्तो समस्यालाई अन्त्य गर्न आफू सँधै सक्रिय भएर लाग्ने पनि बताइन् ।

मधेशमा भएको दाइजो प्रथा, बालविवाह, बहुविवाह, समाजमा भएका कुरिती र गलत परम्परालाई अन्त्य गर्नका लागि मिथिला चित्रकलाले ठूलो भूमिका निर्वाह गर्ने आत्मविश्वास उनमा छ ।

६ जना दाजुभाईमा ३ छोरी र ३ छोरा छ । बेबी भन्छिन्, ‘मधेशमा छोरीलाई अभिसापको रुपमा लिने गरिन्छ । तर, मेरो बुबा आमाले हामी छोराछोरीमा कहिले विभेद गर्नुभएन । जसले गर्दा आफू केहि गर्छु भन्ने आँट पनि आएको छ ।’

त्यस्तै तालिमका अर्का सहभागि धनुषा चक्करका ४१ बर्षीय जगतारण देवी भन्छीन् सिलाई कटाईको सिप छ । तर, काम नै नआएपछि सिप काम लागेन, बसिरहेकै थिए अब मिथिला पेन्टिङ्ग सिकेपछि स्वराजगार हुने बताए ।

पेन्टिङ्गको तालिम ब्रिज वाटर स्टेट युनिभर्सिटिका प्रोफेसर डायना फक्सको प्रयोजनमा भईरहेको छ ।

प्रोफेसर डायना फक्सले प्रायोजन गरेको सो तालिम आडवान नेपाल र जनकपुर आर्ट एण्ड क्राफ्टको संयुक्त आयोजनामा हुँदैछ भने तालिममको सहकार्य जिल्ला युवा संजाल धनुषाले गरेका छन् ।

प्रोफेसर फक्स गत बर्ष एसियाका महिलाहरुको बारेमा अध्ययन गर्न नेपाल आएको बेला क्राफ्टको कार्यालयमा महिलाहरुलाई मिथिला पेन्टिङ्ग बनाईरहेको देखेर खुशी भई हाल भईरहेको तालिमको प्रायोजन गर्नुभएको तालिमको संयोजक अशोक साहले बताए ।

संयोजक साहका अनुसार महिलाहरुले आफ्नो चित्रकलाबाट स्थानीय कला, संस्कृति, रितीरिवाज, रहनसहन लगायतलाई उजागर गरेको देखेपछि प्रोफेसर फक्सले आफ्नो सानो सहयोगबाट केही महिलाहरु यस्तै खालका शसक्त हुने चासो राख्दै तालिमको लागि सहयोग गरेको बताए । अगामी दिनमा मधेशका महिलाहरुको लागि प्रोफेसर डायनाले यस्ता किसिमका अझै कार्यक्रमको समेत प्रायोजन गर्ने संयोजक साहले बताए ।

गत पुष ३ गतेदेखि सुरु भएको सो तालिममा ६ जना महिलाले लिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here