समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सर्लाही । बर्षौदेखि उखुको भुक्तानी नदिएको भन्दै आन्दोलित उखु किसानहरुको आन्दोलनमा समर्थन जनाएका राजपाले लगाएको ताला नेकपाले फुटाएका छन् ।

सर्लाहीको महालक्ष्मी सुगर मिल किसानको बक्यौता भुक्तानी नदिएसम्म मिल चल्न नदिने भन्दै किसानको नेतृत्वमा राजपाबाट निर्वाचित गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले उद्योगको कार्यालयमा ताला लगाइदिएका थिए ।

किसानहरुसहित पुगेका प्रमुख यादवले ताला लगाएको केहीबेरमै पूर्वसांसद समेत रहेका नेकपाका नेता शिवपूजन यादवको नेतृत्वमा गएको टोलीले ताला फुटाएका छन् । ताला लगाउने नगरपालिका प्रमुख यादव र नेकपा नेता शिवपूजन दुबैले किसानले नै ताला लगाएको र किसानले नै तोडेको प्रतिकृया दिएका छन् । ‘किसानको भिडले भुक्तानी माग्दै ताला लगाएको हो’ मेयर यादवले भने, ‘हामी हिँडिसकेपछि शिवपूजनजीले ताला तोड्न लगाउनुभएको हो ।’

किसानको पैसा दिए पनि र नदिएपनि मिल हामी चलाउँछौं भन्दै शिवजूजनले ताला तोडेको बताउँदै मेयर यादवले यस बिषयमा शुक्रबार बैठक बसेर थप छलफल अघि बढाइने बताए ।

‘किसानको करोडौं रकम लिएर भाग्न खोजेको मान्छेका लागि दलाली गर्न नेकपाको नेतालाई मिल्छ ?’ मेयर यादवले भने, ‘यसको घोर भत्र्सना गछौं र भोलि (शुक्रबार) बैठक बसेर थप निर्णयहरु गर्छाैं ।’

नेकपा नेता शिवपूजनको पनि आफ्नै तर्क छ । उनले एकजना मेयरले मात्रै चिनी मिलमा ताला लगाएको बताए । आफूसहित बलरा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिहरु छलफल गरिरहेकै समयमा मेयर यादवले एक्लै ताला लगाएको उनले बताए ।

मेयरले एक्लै ताला लगाए पनि उद्योगी कनोडियाले सोमबार भुक्तानी दिने आश्वासन दिएपछि किसानले नै ताला तोडेको नेकपा नेता शिवपूजनको तर्क छ ।

‘उद्योगीले भुक्तानी दिने बताइसकेपछि ताला लगाउनुको के अर्थ ?’ उनले भने, ‘त्यसैले किसानले ताला तोडेका हुन् ।’ –

साभार : अनलाइन खबर/श्रवण देव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here