समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सर्लाही (बगदह) । गत वर्ष बिक्री गरेको उखुको बक्यौता रकम नदिएसम्म महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आउन नदिने किसानले चेतावनी दिएका छन् ।

सर्लाहीको नायारोडबाट ३५ किलोमिटर भित्र रहेको गोडैतास्थित महालक्ष्मी चिनी उद्योगले किसानको बक्यौता रकम नतिरि मिल सञ्चालन गर्न लागेकोे खबर पाएपछि आन्दोलनमा उत्रेका किशानहरूले बक्यौता रकम नतिरेसम्म मिल सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।

पुरानो रकम भुक्तानि नगरी उद्योग सञ्चालनका लागि तयारी सुरु गरिएको भन्दै किसानले विरोध जनाएका हुन् । उखु किसानलाई बक्यौता रकम दिलाउन विहिबार गोडैता नगरपालिकाको पहलमा चिनी उद्योगका सञ्चालक, जनप्रतिनिधि र उखु किसानबीच छलफल आयोजना गरिएको थियो । छलफलमा जिल्लाको दक्षिणी भेगबाट हजारौको संख्यामा उखु किसानहरु सहभागी भएका थिए ।

त्यसक्रममा गत वर्षको रकम भुक्तानि गर्ने भन्दै उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले पटक–पटक प्रतिवद्धता जनाएपनि पैसा नदिएको भन्दै किसानले उनीमाथि आक्रोस व्यक्त गरेका थिए । सांसद, स्थानीय तहका प्रमुख लगायतको उपस्थितिमा आयोजित छलफलमा उखु किसानले वर्षदिन अघि बेचेको उखुको पैसा नपाएको झोकमा उद्योगी कनौडियामाथि आक्रमणकै प्रयास समेत गरेका छन् ।

तत्कालै सुरक्षाकर्मीले उद्योगी कनौडियालाई सुरक्षा प्रदान गरेका थिए । छलफलमा उद्योगी कनौडियाले तत्कालै किसानको बाँकी रकम भुक्तानि गर्ने प्रतिवद्धता जनाए । उद्योगी कनौडीयाले आगामी सोमबारसम्म किसानको बाँकी रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका हुन ।

नेपाल उखु उत्पादक महासंघ गोडैता नगरपालिकाका अध्यक्ष समेत रहेका नगरप्रमुख देवेन्द्र यादवले पोहोर सालको भुक्तानि नगरेसम्म कुनैपनि हालतमा उद्योग सञ्चालन हुन नदिने जानकारी दिएका छन् । गत वर्षबाट सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योगले किसानलाई २१ करोड रुपैयाँ भुक्तानि गर्न बाँकी छ ।

महालक्ष्मी सुगर मिलले गतवर्ष ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here