समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १४ पुस ।
सरकारले आउँदो आइतबारदेखि जनकपुरबाट पनि श्रम स्वीकृति दिने भएको छ ।
वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा उपलब्ध गराउन लागिएको हो ।वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन पुस १५ देखि यी दुई ठाउँबाट थालनी गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
त्यसका लागि मन्त्रालयले जनकपुर र बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरिएकोको प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । हाललाई ती कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ ।
यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवंम् गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम ति कार्यालयहरुबाट हुने दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले हाल काठमाडौंको ताँहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको छ ।
तर, अब सबै प्रदेशमा श्रम स्वीकृति दिन थालेपछि जनताले आ– आफ्नै प्रदेशमा सहज सेवा पाउने निश्चित छ ।