समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरटाईम्स डेस्क
एजेन्सी
जनकपुरधाम, १५ फागुन ।
भारतको जम्मु काश्मिरमा भारतीय सेनाको लडाकु विमान दुर्घटनामा परेको छ । उक्त विमान दुर्घटनामा दुई चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बुधवार बिहान १० बजेर ४० मिनेट जाँदा काश्मिरस्थित बडगाममा उक्त विमान दुर्घटना भएको थियो।
सञ्चारमाध्यमका अनुसार विमान खेतमा गएर खसेको थियो र त्यसलगत्तै आगो लागेको थियो।
स्रोतका अनुसार सेनाको उक्त विमान भारत प्रशासित काश्मिर क्षेत्रमा गस्तीमा थियो। विमान दुर्घटनामा परी ज्यान गुमाउने पाइलटको पहिचान हुन सकेको छैन।
विमान दुर्घटना हुनुको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन। हिजो बिहान मात्रै भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोट नजिक रहेको ’जैश–ए–मोहम्मद’को एक क्याम्पमा बम खसाली ध्वस्त पारेको दाबी गरेको थियो।
दुई भारतीय विमान खसालेको पाकिस्तानी सेनाको दाबी
पाकिस्तानको सेनाले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायुसेनाले पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरको दुई भारतीय लडाकु विमान खासालिदिएको दाबी गरेका छन् ।
दुई विमान खसाल्दा एक पाइलटलाई नियन्त्रणमा लिइएको उनको दाबी छ। तर, पाकिस्तानको विदेश मन्त्रालयले भने पाकिस्तानी वायुसेनाले भारतीय क्षेत्रमा आक्रमण गरे पनि विमान खासालेको बारे केही उल्लेख गरेको छैन।
पाकिस्तानी विदेश मन्त्रायलका प्रवक्ता मोहम्मद फैसलले भनेका छन्,‘पाकिस्तान वायुसेनाले आफ्नो वायु–सीमाभित्रै रहेर नियन्त्रण रेखाको दोस्रोतर्फ बमबारी गरेको छ।’
उक्त विमान पाकिस्तानी सेनाले दाबी गरेझैं खसालिएको हो वा दुर्घटना भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
भारतीय सञ्चारमाध्यमहरुले भने उक्त विमान खेतमा गएर खसेको र त्यसलगत्तै आगो लागेको बताएका छन्। तर समाचार संस्था पिटिआई र रोयटर्सले भने पाकिस्तानी सेनाको विमान भारतीय वायु सीमामा प्रवेश गरेको बताएका छन्।
समाचार अनुसार पाकिस्तानी विमान जम्मू–कश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेको थियो।
समाचार संस्था पीटीआईका अनुसार भारतको विमानले पाकिस्तानी विमानलाई भाग्न बाध्य बनाएको थियो। त्यसपछि ती विमान पाकिस्तान प्रशासित कश्मिरतर्फ भागको थियो।
हिजो बिहान मात्रै भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोट नजिक रहेको ’जैश(ए(मोहम्मद’को एक क्याम्पमा बम खसाली ध्वस्त पारेको भारतले दाबी गरेको थियो ।