समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । भारत विहार राज्यको दरभंगाबाट सामाजिक अभियन्ता सरोज रायका पहलमा ५ नेपाली बालकको उद्धार गरेका छन् । बाराका २, सर्लाहीका २ र महोत्तरीका एक बालकलाई अभियन्ता रायले शुक्रवार दरभंगाबाट उद्धार गरि राती ११ बजे जनकपुर ल्याएका थिए र शनिबार बिहान अभिभावकको जिम्मा लगाए । उद्धार गरी ल्याइएका किशोरहरु ११ देखि १६ वर्षका छन् ।

उद्धार गरिएकाहरुमा बारा जिल्ला कलैया नगरपालिका–७ बरैबा टोल बस्ने ११ वर्षीय सुमित दास, बारा जिल्ला महागढीमाई नगरपालिक–१० गंजभवानीपुर बस्ने १४ वर्षीय इन्ताज हवारी, सर्लाही जिल्ला चक्रघटा गाउँपालिका–६ गोइयाही बस्ने १५ वर्षीय दीपेशकुमार यादव, सोही ठाउँ बस्ने १६ वर्षीय कृष्ण कुमार तथा महोत्तरी समसी गाउँपालिका–२ पर्सा बस्ने १६ वर्षीय शेख नेमतुल्ला रहेका छन्।

उद्धार गरेका रायले भने, ‘भारतमा बाल अधिकार र बाल संरक्षण सम्बन्धि कडा कानुन छ। मैले खबर पाएपछि कानुनी प्रक्रिया पूरा गरी उद्धार गरेका छु जसमा झन्डै एक महिना लाग्यो ।’ विभिन्न कारणले भारत पुगेका पाँचै बालकलाई विभिन्न मितिमा त्यहाँका उद्धारकर्मीले नियन्त्रण्मा लिएर दरभंगास्थित बालगृहमा राखेको थियो। अभियन्ता राय भन्छन्न्, ‘कोही बाटो बिराएर त कोही पढ्न मन लाग्दैन भनेर घरबाट भागेर, कोई घरको आर्थिक स्थिति कमजोर भएको कारण रोजगार गर्न भागेर त् कोई सथिभाइको लहलहीमा भागेर भारत पुग्दा त्यहाँको बाल अधिकारकर्मीहरु उनीहरुलाई नियन्त्रणमा लिएको थियो।’ अभियन्ता राय यसघि पनि दर्जनौं बालबालिकाको भारतबाट उद्धार गरेका छन्। उनले विगत ६ महिनामै बरिब ४ दर्जन भन्दा बढी बालिबालिकाको उद्धार गरेर परिवारको जिम्मा लगाएको बताए। उनले बालबालिकाहरू अभिभावकको लापरबाहीले समेत भारत पुग्ने गरेकाले राज्यले शिक्षामा समेत जोड दिनुपर्ने बताए।

विगतमा संघीय सरकारको मातहतमा बालकल्याण समिति थियो, जसले बालबालिकालाई उद्धार गर्ने काम गर्दथ्यो। तर देश संघीय संरचनामा गएपछि केन्द्रिय बाल कल्याण बोर्ड बन्द भएको छ । बालबालिकाको संरक्षण र कानुन बनाउने सम्बन्धित अधिकार प्रदेश सरकारको मातहतमा आएको भएपनि अहिलेसम्म प्रदेश न. २ को सरकारले प्रदेश बाल कल्याण बोर्ड समेत गठन गर्न सकेको छैन । जसले गर्दा उद्धार प्रकृया धेरै नै असहज भएको छ रायले बताए ।

अहिले प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा विभिन्न संघसंस्थाले उद्धार गर्ने गरेको भएपनि यो पर्याप्त होइन । उनले भने, ‘विभिन्न कारणले भारत वा अन्य देश पुगेका बालबालिकाको उद्धार गर्ने दायित्व राज्यको हो। तर हामी अभियन्ताले उद्धार गर्नुपरिरहेको छ। यो चिन्ताको विषय हो।’ प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय (बोर्ड) बनाउनुपर्ने जरुरी रहेको अभियन्ता रायले बताए। उनले भने, ‘अहिले निजी खर्च गरेर बालक उद्धार गनुपर्ने अवस्था छ। त्यसैले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय (बोर्ड) अबिलम्ब गठन गरोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here