समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ४ चैत ।

भारतमा प्रतिबन्धित माछा नेपालमा आयात हुने गरेको छ। भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगन्जका बजारमा छ्यापछ्याप्ती भेटिन्छन्।

भारतबाट आयात हुने माछा नेपालगन्ज पुग्न छिटोमा पनि एक हप्ता लाग्छ। कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन्। ‘फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल)सहितको माछा आन्धप्रदेशबाट ६ दिनदेखि ८ दिनभित्र नेपालगन्ज आउँछ’, नेपालगन्जको हिमालय अर्डर एन्ड सप्लायर्सका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ।’ नेपालगन्जमा उनी जस्तै झन्डै आधा दर्जन थोक माछा सप्लायर्स छन्। ‘अरूले चोरेर पनि ल्याउँछन्। म त लटरपटर जान्दिनँ। भन्सार तिरेर मात्र ल्याउँछु। फर्मलिनसर्मलिन के हालेको हुन्छ, हामीलाई केही थाहा हुँदैन’, उनले भने।

गत जनवरी १४–२९ सम्म भारतको बिहारको राजधानी पटनामा आन्ध्रप्रदेशका माछामाथि प्रतिबन्ध लगाइयो। आन्ध्रप्रदेशबाट आउने माछाका ८७ वटा नमुना जाँच्दा २५ वटामा फर्मलिन राखिएको पुष्टि भयो। त्यसपछि त्यहाँ १५ दिन माछा आयातमा प्रतिबन्ध लाग्यो। बिक्री बन्द भयो। तर यही १५ दिनको अवधि (३० पुस १५ माघ २०७५) मा नेपालमा २६ हजार ७० किलो अर्थात् ४५ लाख १४ हजार ४ सय २२ रुपैयाँबराबरको माछा नेपालगन्ज भन्सार कार्यालय हँुदै भित्रिएको प्रमुख शान्तिराम निरौलाले जानकारी दिए।

चालू आवको फागुन मसान्तसम्म भने भारतबाट दुई लाख ७७ हजार ८ सय ६० किलो मात्र नेपाल आयात गरिएको भन्सार कार्यालयको तथ्यांक छ। आयातित माछाको मूल्य झन्डै पाँच करोड रुपैयाँ हुन आउँछ। लामो समयसम्म टिकाइराख्न माछामा फर्मलिन प्रयोग हुने भेरी अस्पतालका डा.कृष्णप्रसाद आचार्य बताउँछन्। ‘माछामा फर्मलिन प्रयोग गरेपछि त्यो कुहिन्न। गन्हाउँदैन पनि’, उनले भने, ‘यस्तो माछा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ। ७२ घण्टाभन्दा बढी समय फर्मलिन हालेर ताजा बनाइएको माछा खाँदा क्यान्सरकै खतरा हुन्छ।’

माछामा फर्मलिन भए÷नभएको जाँच्ने निकाय पशु क्वारेन्टाइनको नेपालगन्ज चेकपोस्ट भन्सार कार्यालयसँगै सुर्खेत रोडको पूर्वपट्टि ५० मिटर दूरीमा छ। तर क्वारेन्टाइनले असोजदेखि मंसिरसम्म १० दिनमा २२ पटक मात्र माछामा फर्मलिन जाँचेको छ। भारतबाटै ल्याइने माछा त्यहीँ प्रतिबन्धित हुँदासमेत यो कार्यालयले फर्मलिन जाँच गरेको पाइएन। निर्बाध रुपमा माछा आउन दियो। ‘हामीले अहिलेसम्म जाँचेका सबै नमुना नेगेटिभ नै आयो। अहिलेसम्म एउटा पनि पोजेटिभ केस पाइएको छैन’, कार्यालयका सूचना अधिकारी अम्मरबहादुर शाहीले भने।

क्वारेन्टाइनले किट्सबाट फर्मलिन जाँच गर्छ। उसलाई शंका लागेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जमा नमुना पठाउँछ। अघिल्लो वर्ष गरिएको फर्मलिन जाँचमा सबै नेगेटिभ रहेको कार्यालय प्रमुख ज्योत्स्ना श्रेष्ठले बताइन्। यो वर्ष भने क्वारेन्टाइनले पनि नमुना पठाएको छैन। खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि किट्सबाटै फर्मलिन जाँच्छ।

भारतको परीक्षणमा फर्मलिन यकिन हुँदा पनि नेपालका ल्याबहरूले पुष्टि गर्न सकेका छैनन्। ‘माछा प्याकिङ गर्दा बरफमै फर्मलिनमा अर्को कुनै केमिकल मिलाएर राखिन्छ, जुन बरफ माछा प्याकिङ गर्दा केमिकल रियाक्सन भई फर्मलिनका रूप परिवर्तन हुन्छ’, प्रदेश ५ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक युगलकिशोर तिवारीले अन्नपूर्णसँग भने, ‘यसरी ल्याइएको माछामा जति परीक्षण गर्दा पनि फर्मलिन भेटिँदैन। रूप परिवर्तित केमिकल मात्र पत्ता लाग्छ।’

किट्सबाट गरिने फर्मलिन जाँचले त झन पत्ता नै लगाउन नसक्ने उनको दाबी छ। ‘फर्मलिन जाँच्दा सुरुको केमिकल के थियो भनेर पनि हेर्नुपर्छ। अनि मात्र थाहा पाउन सकिन्छ’, उनले भने, ‘तर माछामा सुरुको केमिकल के थियो भनेर जाँच हुँदैन। त्यसैले जति पटक जाँच्दा पनि नतिजा नेगेटिभ आउँछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here