समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा । सिरहाको लहानस्थित सिभिल बैँकबाट रकम लुट्ने असफल प्रयास भएको छ । लहान नगरपालिका–४ स्थित कृष्ण गुप्ताको घरमा सञ्चालित बैँकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो । 

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे पस्ने प्वाल बनाएर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको प्रहरीले जनाएको छ । तर, एटिएमको भल्ट नखुलेकाले १५ लाखभन्दा बढी रकम भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजयकुमार यादवले जानकारी दिए ।

‘लुटेराले भल्ट फोड्ने प्रयास गरे पनि सकेनन्,’ यादवले भने, ‘भल्ट नखुलेपछि उनीहरू छाडेर हिँडेको देखिन्छ ।’ सोमबार बैंकको जनकपुर शाखाबाट आएको टोलीले पनि एटिएमको भल्ट खोल्न सकेन । भल्ट खोल्न मंगलबार काठमाडौंबाट प्राविधिक टोली आउने बैंक प्रशासनले जनाएको छ । भल्ट खोलिएपछि मात्र राखिएको रकम रुजु हुने यादवले बताए ।

बैंकमा एकजना सुरक्षा गार्ड

बैंकका शाखा प्रबन्धक सरोज घिमिरेका अनुसार आइतबार राति १ बजेतिर सेक्युरिटी गार्ड पहिलो तलामा रहेको मौका छोपेर एटिएम लुट्ने प्रयास भएको हो । ‘हरेक राति करिब १० बजेतिर एटिएम बन्द गर्छाैं’ प्रबन्धक घिमिरेले भने, ‘ग्यास वेल्डिङ्ले मान्छे पस्न सक्ने गरी काटेर भित्र रहेको एटिएमबाट रकम झिक्ने असफल प्रयास गरेको देखिन्छ । तर, भल्ट नखुलेकाले रकम भने सुरक्षित छ ।’ राति बैंकको सुरक्षार्थ एकजना मात्र गार्ड खटिएका थिए । 

एटिएम बुथमा करिब १५ लाख ६ हजार रुपैयाँ रहेको बैँक प्रशासनले जनाएको छ । एटिएमको भल्टमा राखिएको रकम सुरक्षित रहे पनि करिब १५ लाख रुपैयाँ पर्ने एटिएम भने क्षतिग्रस्त भएको घिमिरेले बताए । गएको जेठदेखि सिभिलले लहानमा वित्तीय कारोबार थालेको हो । 

निक्षेपकर्ता त्रसित

एटिएमबाट लुट्ने प्रयास भएपछि निक्षेपकर्ताहरू त्रसित बनेका छन् । एटिएम काटेर रकम लुटपाट गर्ने प्रयास हुँदासमेत पहिलो तलामा रहेका गार्डले थाहा नपाउनुलाई प्रहरीले शंकास्पद रूपमा लिएको छ । अढाई महिनाअघि मात्र लहानस्थित कृषि विकास बैंकको युजर र पासवर्ड ह्याकिङ् गरी चार करोड ८८ लाख रुपैयाँ रकमान्तर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here