तस्वीर : गुगल
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


गिता चिमोरिया,काठमाडौं । बलात्कार र यौन हिंसाका घटना बढीरहेका छन् । पछिल्लो ६ वर्षमा प्रहरीसम्म आइपुगेको तथ्याङक केलाउँदा दोब्बरभन्दा पनि बढी घटना दर्ता भएका छन् ।

बलात्कारमा पर्नेहरुको संख्या उकालो लागेपनि पीडितले पाउने न्याय र सामाजिक पुनस्थापना नहुँदा झन पीडा दिएको छ ।

हजुरबुवाको छत्रछायामा संयुक्त परिवार । नौ बर्षकी बालिका तीनै हजुरबुवासँग सुरक्षित महसुस गर्दै लडिबुडी गर्थिन् । तर, तीनै हजुरबुवाबाट एकदिन उनी बलात्कृत भइन् ।

पटक पटक दोहोरिएको घटनाबाट उनी उम्किने उपाय खोज्दै थिइन् । फेरि आफ्नै बुवाबाट समेत बलात्कारमा परिन् । तर, इज्जत जाने डरले आफ्नै आमाले पनि न्यायका लागि साथ दिइनन् ।

उनले भनिन्, ‘हामी धनी परिवारका हौं । बुवा र हजुरबुवाबाटै बलात्कारमा पर्दा पनि मैले आमाको साथ पाइन् । इज्जत जाने डरले उहाँले यो कुरा कसैलाई नभन्नु भन्नुभयो । आफन्त र नातेदारहरुले पनि यो घटनालाई गुपचुप नै राख्नको लागि भने ।’

उनले अझै अगाडी भनिन्, ‘मैले पीडा सहन नसकेर विष सेवन गरें, पछि म होसमा आउँदा हस्पिटलमा थिएँ । घटनामा पर्दा जम्मा ९ वर्षको मात्रै थिएँ, मलाई कानुनी कारबाही र पीडितलाई सजाय दिने विषयमा कुनै जानकारी थिएन । वर्षौसम्म यो पीडा सहेरै बसें । तर जब मैले न्याय पाइन्छ भन्ने थाहा पाएँ, कानुनी लडाँईको बाटोलाई छोडिनँ ।’

बलात्कार पीडितलाई साथ दिन र पीडकलाई कारबाहीको लागि सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरिन् ।

बालिकाको यो कथा एक्लो होइन । नेपालमा हरेक दिन ६ जना महिला बलात्कारमा पर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । त्यो मध्ये ४ जना त बालिका नै हुन्छन् ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ५ सय ७७ र कार्तिक महिनामा मात्रै बलात्कार झन्डै दुईसय घटना भएका छन् । यो प्रहरीसम्म आइपुगेको घटना मात्रै हो । बाहिरै नआएका घटना यो भन्दा अझै बढि हुनसक्ने अनुमान छ ।

बलात्कारको घटनाको तथ्याङ्क जति डरलाग्दो छ, न्यायको ढोका ढकढक्याउन पुगेकाहरुले भोग्नुपर्ने हिंसा अझै पीडादायी छ ।

बलात्कारका मुद्दामा अदालतहरुले छिटो बाटोबाट तीन महिनाभित्र मुद्दाको फैसला गर्छ । अदालतले अभियुक्तलाई जेल सजाय र पीडितलाई क्षतिपूर्ति दिने फैसला सुनाउँछ । तर, त्यसको लडाईमै अर्को हिंसा खेप्नुपर्छ ।

त्यस्ता कयौं पीडितको साक्षी बन्नु भएका अधिकारकर्मी उमा शाह थप हिंसा व्यहोर्नुपर्ने पीडाले बलात्कार पीडितले न्यायको ढोका ढकढक्याउँने आँटै नगरेका अनुभव सुनाउनुहुन्छ ।

शाहले भन्नुभयो, ‘यस्ता घटनामा परेका पीडित मानसिक र शारीरिक रुपमा आफैंमा विक्षिप्त हुन्छन्, त्यसमाथि उजुरी लिएर जाँदा प्रहरीले गर्ने प्रश्न, समाजका अन्य व्यक्तिले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारणले गर्दा उनीहरु झन पीडामा पर्ने गर्छन् ।’

बलात्कारका घटनामा प्राय परिचितहरु नै मुछिने हुँदा घटना सकेसम्म भित्रै लुकाउन खोजिन्छ । सबै अप्ठयारा छिचोल्दै प्रहरीकहाँ उजुरी पुग्दा अनावश्यक प्रश्नको सास्तीले गलाउने गरेको पीडितहरुको अनुभव छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण शाखाका प्रमुख उप सचिव रोशनीदेवी कार्कीका अनुसार लुकेका घटना बाहिर ल्याउने र न्यायलाई सुनिश्चित गर्न सरकारले आन्तरिक गृहकाय गरिरहेको छ ।

कार्कीले भन्नुभयो, ‘संवेदनशिल तरिकाले प्रश्न सोध्ने, अनुसन्धान गर्ने भन्नेचाहिँ एकदमै नभएकै हो, यसमा कसरी जाने भन्ने विषयमा मन्त्रालयले एउटा सर्भे पनि गर्नुपर्छ भनेर हामीले सोचिरहेका छौं ।’

कार्कीले अगाडी भन्नुभयो, ‘सामाजिक मुद्दा हो यो तैपनि हामीले व्यक्तिको मुद्दा हो यो, घरायसी हो भनेर बसिरहेका छौं । बढिजसो आफ्नै मान्छेबाट यस्तो घटना हुने भएकाले एक त उहाँहरुले बताउनुहुन्न । जो पीडित हुन्छ, उसलाईचाहिँ भगाइहाल्ने, पुनस्थापना केन्द्रमा पठाइहाल्ने र जो पीडक हो ऊचाहिँ समाजमा अर्को घटना घटाउनेगरी प्रतिष्ठित तवरले हिड्ने, यि दुईटा कुराले पनि बडो कठिनाइ भएको छ । ’

सर्वोच्च अदालतले सहकर्मीबाटै बलात्कृत प्रहरी जवान सुन्तली धामीको मुद्दामा पीडकमाथि दण्ड र पीडितको पुनस्र्थापना गरी न्यायलाई दुईटा दृष्टिकोणबाट व्याख्या गरेको थियो । तर, पीडितले पाउने न्याय पीडकमाथिको दण्डमा सिमित हुँदा पीडितको सामाजिक पुनस्र्थापना पनि कठिन बनेको छ ।

साभार : cinkhabar.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here