समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
बंगलादेश । बंगलादेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन नेपाली राजदूतावासले पहल सुरु गरेको छ ।
पछिल्लो समय बंगलादेशमा कोभिड–१९ को जोखिम बढ्दै गएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन त्यहाँ स्थित नेपाली दूतावासले स्वदेश फर्काउन पहल थालेको छ ।
बंगलादेशको विभिन्न प्रान्तमा रहेका झन्डै ९ सयभन्दा बढी नेपालीलाई कोभिड–१९ को जोखिमबाट जोगाउन दूतावासले नेपालस्थित परराष्ट्र मन्त्रालयको निर्देशनपछि स्वदेश फर्काउने तयारी सुरु गरेको हो ।
राजदूतावासले मंगलबार पूर्व तयारी फर्म जारी गर्दै बंगलादेशमा भएका नेपालीहरुलाई नेपाल जानुपर्दा आवस्यक पर्ने आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
दूतावासद्धारा जारी गरिएको पूर्व तयारी फर्म
यसअघि राजदूतावासले जारी गरेकोे ईमर्जेन्सी अनलाईन रजिस्ट्रेसन फर्ममा कुल ९ सय ६ जना नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएको दूतावासले जनाएको छ ।
राजदूतावासले जारि गरेको पूर्व तयारी फर्ममा हाल बंगलादेशमा रहेको ठेगाना, सम्पर्क नम्बर, नेपालको स्थायी ठेगाना, परिवारको समर्पक नम्बर, भिसाको प्रकार, म्याद, राहदानी नम्बर र आफ्नो स्वास्थ्य अवस्था भर्नुपर्ने उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयको अर्को निर्देशन नआएसम्म योे विषम परिस्थितिमा जो जहाँ छ त्यही सुरक्षित बस्नु उपयुक्त हुने सुझाव दिएको राजदूत डा. वंशिधर मिश्रले बताए ।
यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवं स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवं समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफु जहाँ रहेको त्यही सुरक्षित रूपमा रहन समेत राजदूतावासले बारम्बार अनुरोध समेत गर्दै आएको छ ।
साथै, यस परिस्थितिका कारण कसैलाई खान, बस्न, पैसा, भिसा लगायतका विषयमा जिज्ञासा वा समस्या भएमा राजदूतावासले जारी गरेको हेल्पलाईन नम्बरमा सम्पर्क गर्न राजदूत डा. मिश्रले आग्रह गरेका छन् । जनकपुर टाईम्ससँगको विशेष संवादमा राजदूत डा. मिश्रले भने, ‘नेपाल सरकारको निर्णय बिना यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन सकिँदैन । जसका लागि यहाँको अवस्थाबारे म आफै नियमित नेपालस्थित सम्बन्धीत मन्त्रालयलाई जानकारी गराइरहेको छु । तर, निर्देशन अझै आएको छैन ।’
उनले बंगलादेशमा पछिल्लो समय दिनकै ५ सयदेखि ६ सयको हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालेको र नागरिकहरुलेपनि लकडाउनको पालना नगरेकाले जोखिम झन् बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
बंगलादेश सरकारको तर्फबाट कुनैपनि समस्या नभएको र यहाँको सरकारले पूरै साथ दिने भनेको जानकारी दिँदै डा.मिश्रले नेपाल जानका लागि बस वा हवाई यात्राका लागि नेपाल सरकारले नै निर्देशन दिनुपर्ने भएकाले यसमा म स्वयंले केही गर्न नसक्ने भएकाले नेपाल सरकारकै भर परिरहेको सुनाए ।
यहाँबाट फर्किने ९ सयभन्दा बढी नेपालीलाई राख्नुपर्ने क्वारेन्टाइनको व्यवस्थापन, उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि नेपाल सरकारले त्यसका लागि तयारी गर्नुपर्ने भएकाले केही ढिलाई भएपनि अब भने परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपालीलाई स्वदेश फर्काउन पहल सुरु गरिएको राजदूत डा.मिश्रले बताए ।
नेपालीलाई कोभिड–१९ को जोखिमबाट राजदूतावासले हरसम्भव प्रयास गरिरहेको र जबसम्म उनीहरुलाई सुरक्षित स्वदेश फर्काइँदैन तबसम्म उनीहरुको सुरक्षाका लागि बंगलादेश सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।