विवेक अग्नीहोत्री, फरहान अख्तर, स्वारा भास्कर र अनुराग कश्यप
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नागरिकता संशोधन कानुनलाई लिएर अहिले भारतका विभिन्न स्थानमा विरोध प्रदर्शनहरु भइरहेका छन् । बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट शरणार्थीका रुपमा भारत आएका हिन्दु लगायतका धर्मावलम्बीलाई नागरिकता दिने गरि गरिएको संशोधनमा मुस्लिमलाई वञ्चित गरिएको छ ।

यो संशोधनले धर्मका आधारमा विभेद गरेको भनी विरोध भइरहेको हो। हिन्दुवादी दल भारतीय जनता पार्टी (भाजपा) को सरकारले ल्याएको यो कानुनको थुप्रै लेखक कलाकार र विद्वानहरुले खुलेर विरोध गरेका छन्। विरोधको यो झिल्कोले बलिउडलाई पनि टिपेको छ। अनुराग कश्यप, स्वारा भास्करजस्ता प्राय राजनीतिक सामाजिक विषयमा सामाजिक संजालमा टिप्पणी गरिरहने कलाकारमात्र होइन यसपालि यस्ता विषयमा चुप रहनेहरुले पनि ट्विटरमा आफ्नो राय दिएका छन्।

अजय देवगन, वरुण धवन, प्रियंका चोपडालगायतका कलाकारले पनि तब मुख खोले जब दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा कानुनको विरोधमा उत्रिएका विद्यार्थी माथि प्रहरीले बर्बर आक्रमण गर्‍यो।

यसको विरोधमा ट्विट गर्ने बढ्दै गर्दा अभिनेता तथा निर्देशक फरहान अख्तर भने एक कदम अघि बढे। उनले भने अब ट्विटरमा मात्रै विरोध गर्ने बेला सकियो, मैदानमा उत्रिउँ। उनले एउटा अपिल पनि ट्विटरमा सेयर गरे। यो पोस्टरमा उनले मुम्बइमा डिसेम्बर १९ मा एउटा प्रदशर्नमा भाग लिन अपिल थियो। समस्या तब भइदियो जब यो पोस्टरमा प्रयोग भएको भारतको नक्सा गलत पर्‍यो। यो नक्सामा कश्मिर नै थिएन।

फरहानले आफूले पोस्ट गरेको झन्डा गलत परेको भन्दै माफी पनि मागे, लगत्तै अर्को ट्विट गरेर। उनले कश्मिरको प्रत्येक इन्च जमिन भारतको भएको भन्दै गलत नक्सा पर्न गएकोमा पश्चाताप पनि गरे।

तर, विरोधीलाई के चाहियो? भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीका भक्तहरुले फरहानलाई आक्रमण गर्न थालिहाले। यो सूमहमा मिसिन आए ‘तास्कन्द फाइल्स’का निर्देशक मोदी भक्त विवेक अग्नीहोत्री। उनले फरहानलाई राष्ट्रद्रोहीमात्र भनेनन्, जिहादी र आइएसआइ एजेन्टसमेत भन्न भ्याए।

बुधबार अग्नीहोत्रीले जामियामा प्रदर्शन गर्ने विद्यार्थीहरु खासमा विद्यार्थी नै थिएनन् भन्दै ट्विट गरेपछि उनीसँग भिड्न आइपुगे अनुराग कश्यप। अग्नीहोत्रीले भने, ३ हजार विद्यार्थी तर ३० हजार प्रदर्शनकारी? २७ हजार कहाँबाट आए? विवेकलाई जवाफ फर्काउँदै अनुरागले भने, ‘यो प्रश्न अमित शाहलाई किन सोध्दैनौं? यो सरकारको शैलीसँग मिल्दो छ। पुलिसले जेजे भन्यो त्यसैअनुसार तिम्रा प्रश्न बदिलएको देखेर पनि हाँसै लाग्छ।’

अग्नीहोत्रीले आफूले अमित शाहलाई कुनै प्रश्न नसोधेको मात्र बताएनन् बरु अनुरागले जसरी प्रधानमन्त्रीलाई रातिको दुईबजे जेपायो त्यही प्रश्न सोध्ने बानी नभएको पनि बताए।

यिनै अग्नीहोत्री स्वारा भास्करसँग पनि भिड्न पुगेका थिए। स्वाराले प्रदर्शनहरु शान्तिपूर्ण हुनुपर्ने र कसैले भड्काउँदैमा नभड्किन भनेर गरेको अपिलमा अग्नीहोत्रीले टिप्पणी गरे- ‘रक्तरञ्जित हात लिएर शान्तिको पाठ पढाउँदैछौं। ढोंगको पनि हद हुन्छ।’

स्वारा कहाँ चुप बस्नेवाला थिइन् ! दिल्लीको जवाहरलाल विश्वविद्यालकी पूर्व छात्रा स्वाराले उनलाई प्रश्न गरिन्- ड्रग्स? उनको आसय थियो- ड्रग्स खायौ कि क्या हो?

अग्नीहोत्रीजस्तै विद्यार्थीको प्रदर्शनबारे ट्विट गर्दा अर्का फिल्म निर्देशक अशोक पण्डित पनि ट्विटरमा राँक्किए। अभिनेता पुलिकत सम्राटले जामियाका विद्यार्थीमाथि पुलिसको कारबाही असभ्य र बर्बर भनी लेखेका थिए। यसको जवाफमा पण्डितले भने विद्यार्थी नै असभ्य र बर्बर भएको बताए। उनीहरुको जुहारी निकैबेर चल्यो।

उता कमेडियन कुनाल कामरालाई पनि भाजपाका एक कार्यकर्ताले ट्विटरमै धम्की दिए। विपक्षको स्वरमा स्वर मिलाइरहेका कामराले बलिउड, सांसद, मिडिया र उद्योगी व्यापारीहरु सब तिम्रा साथमा छन् भन्दै मोदीलाई लेखे- तर हामी तिम्रा विरुद्ध अवचलित भएर उभिइरहने छौं किनभने यो देशलाई तिमी चाहिएको छैन। यसमा भाजपा मुम्बइका सचिव मोहित भारतीयले कामरालाई ठीक गरिदिने भन्दै धम्की दिए।

सत्ता पक्ष लिने र नलिने कुरामा कला क्षेत्रमा फरक मत रहने गरेको छ, रहँदै आएको छ। यसपालि भने सरकार बनाएको दल नै एउटा खास धर्मलाई समर्थन गर्ने भएकाले यो विभाजन झन् बढेको विश्लेषण गरिएको छ। यसअघि पनि आमिर खान, नसिरुद्दिन शाह र शाहरुख खानजस्ता स्टारहरुले राजनीतिक विषयमा टिप्पणी गर्दा हिन्दुवादी संगठनको ठूलो विरोधको सामना गर्ने परेको थियो। मोदी सरकारले कलाकारहरुको एउटा समूहलाई आफ्नो समर्थकका रुपमा राख्ने प्रयास नगरेको पनि होइन।

जामिय मुद्दामा भने बलिउडको ठूलो समूहले सरकारको समर्थन गरेको छैन। नागरिकता कानुन संशोधनको सिधै विरोध नगरे पनि जामियामा पुलिस कारबाही ठीक नभएको भनेर उनीहरुले बोलेका छन्। केहीले भने शाहरुख, आमिर र सलमानजस्ता ठूला स्टार यस्तो विषयमा किन बोल्दैनन् भनेर प्रश्न पनि गरेका छन्।

अरुले प्रश्न मात्रै गर्दा कंगना रनावत भने एक कदम अघि बढेर गालीमै उत्रिइन्। आफ्ना विचारहरु निकै कडा शब्दमा व्यक्त गर्ने कंगनाले टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिँदै भनिन्- ‘यस्तो गम्भीर विषयमा बोल्न नसक्ने बलिउड स्टारहरु डरपोक हुन्, कायर हुन्। तिनको शरीरमा कुनै मेरुदण्ड छैन।’

बलिउडमा निकै ठूलो सफलता पाए पनि कंगना आफूलाई बाहिरीया ठान्छिन्। पछिल्लो समय हृत्विक रोशनसँग प्रेम सम्बन्ध थियो कि थिएन भन्ने झगडामा धेरै बलिउड स्टारले कंगनाको साथ दिएनन्। त्यसयता कंगना र उनकी बहिनी रंगोलीले अन्य स्टारहरुलाई चर्को गाली गर्ने गरेका छन्। हालै रंगोलीले आलिया भट्टले स्क्रिन अवार्ड फिक्सिङ गरेको पाएको आरोप पनि लगाएकी थिइन्।

कंगनाले भनेकी छन्- ‘यिनीहरु दिनको २० फेर एैनामा आफ्नो अनुहार हेर्छन्। तर, देशमा यस्तो भइरहेको देख्नदैनन्। सामान्य मानिसका लागि बोल्न सक्दैनन्। यिनलाई लाज लाग्नु पर्ने हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here