समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपालीको ठुला चाडपर्व सकिएको दुई महिना हुन लाग्यो। हिउँदे लागिसकेको छ। ०७६/७७ को दोश्रो चौमासिक समेत सुरु भइसकेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रदेश २ सरकार मन्त्रालय यतिखेर व्यस्त हुनुपर्ने हो, तर मन्त्रालयहरु अहिले सुनसान छ। मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय र मन्त्रालयका कार्यालय प्रायः सुनसान देखिन्छ। मंगलबार मध्यान्ह मन्त्रालयमा सरकारी कर्मचारीको गाडीबाहेक सेवा ग्राही कतै भेटिएन।

मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु समेत मन्त्रालयमा प्रायः भेटिदैनन्। कर्मचारीको पनि अत्तोपत्तो हुँदैन्। सरकारले नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गर्न लाग्नुपर्नेमा मन्त्रालय सुनसान हुँदा सेवाग्राही समेत रित्तै हात फर्किन बाध्य छन्। केहीदिन अघि प्रदेश २ का मुख्यमन्त्री राउत सप्ताहव्यापी भ्रमणमा अमेरिका उडेका थिए। एशोसिएट अफ तराइयन इन अमेरिकाको साधारणसभामा भाग लिन उनीसँगंै मुख्यन्यायधिवक्ता दिपेन्द्र झासमेत अमरिका गएका थिए।

प्रदेशका केही मन्त्री उपनिर्वाचनको प्रचारमा हिडेर अझै थकाई मार्दैछन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालय र विभागीय कार्यालय सुनसान छन्। प्रायःमन्त्री र राज्यमन्त्री जिल्ला दौडाहामा व्यस्त देखिन्छन्। प्रदेशका मन्त्री तथा राज्यमन्त्री सभा, सेमिनार तथा उद्घाटनमा प्रायःव्यस्त देखिन्छन्। ‘मन्त्रीहरु मन्त्रालयमा कहिले आउने भन्ने अत्तोपत्तो हुँदैन’, महोत्तरी जलेश्वर नगरपालिका कादिपु सिंहले भने, ‘तीन दिनदेखि लगातार मन्त्रालय धाउँदै छु। कर्मचारी मन्त्री नआएकाले काम नभएको बताउँछन, कति दिनसम्म मन्त्रालय धाउने होला।’

उद्योग बन तथा पर्यटन मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले मन्त्रालयको योजना कार्यान्वय थालिएको दाबी गरे पनि कर्मचारी अभावले कतिपय काम समयमै गर्न नसकिएको स्विकारे। उनले मन्त्री नभए पनि हुन सक्ने सबै काम गर्ने वातावरण मिलाएको बताए। ‘मन्त्रीज्यू नुहँदा पनि नियमित काम हुन्छ। मिल्ने जति गर्दै आएका छौं’, उनले भने, ‘हामीले गर्न नमिल्ने काम गनर््ु भएन। त्यस्तो अवस्थामा कहिलेकाँही ढिलो हुन्छ।’

मुख्यमन्त्री कार्यालयका सूचना अधिकृत रुपेश साहले मुख्यमन्त्री कार्यालयमा हुँदा नेता कार्यकर्ता भेटघाट गर्न बढी आउने भएकाले धेरै काम भएजस्तो र नभएको समयमा नेता कार्यकर्ता नआउने भएकाले कम देखिएको हुन सक्ने बताए। ‘मुख्यमन्त्रीसँग भेटघाटका लागि नेता कार्यकर्ता आउँछन्। कार्यालयमा नभएका बेला आउँदैनन्। त्यो स्वभाविक हो’, उनले भने, ‘कर्मचारी त आउँछ, आफ्नो काम गर्छ, साँझ जान्छ।’ उनले मुख्यमन्त्री नआएकाले कुनै काम प्रभावित नभएको दाबी गरे।

प्रदेश २ को रकम फ्रिजको योजना अनुगमनमा संसदीय विशेष समितिमा व्यस्त एकजना सचिवले भने, ‘मन्त्रीले भने अनुसार हामीले गर्नुपर्छ, अन्यथा योजनामा विवाद हुन्छ। त्यहीभएर मन्त्रीज्यू मन्त्रालयमा हुँदा काम गर्न सजिलो हुन्छ।’ उनका अनुसार अहिले मन्त्रीहरु सभा र पार्टी पंक्तिमा लागेकाले मन्त्रालयको कतिपय काम प्रभावित भएको छ। ‘नियमित बाहेक अन्य काम हामीले गर्न सकेका छैनौं’, उनले भने।

साभार : अन्नपूर्ण पाेष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here