समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ। कुनै कक्षामा झ्याल/ढोका छैन भने कुनै कक्षाकोठाको पर्खाल नै भत्किएको छ।

कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा अध्ययन गर्नका लागि जम्मा १० जना विद्यार्थीहरु दिनहुँ पुग्छन्। तीनै १० विद्यार्थीलाई पढाउन ८ जना शिक्षकको दरबन्दी सो विद्यालयमा रहेको छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर वडा नम्बर १ पुलचोकस्थित मिथिला विहारी राप्राविमा दैनिक १० भन्दा बढी विद्यार्थी कहिल्यै पुग्दैनन्। विद्यार्थीहरु नै नआएपछि ती १० विद्यार्थीहरुलाई पढाउनुको साटो शिक्षकहरु गफमै मस्त हुन्छन्।

विद्यालयमा अध्ययनका लागि १० विद्यार्थी मात्रै आउने गरेको भएपनि हाजिरी रजिष्टरमा भने कुल १ सय ५० विद्यार्थीहरुको नाम छ। विद्यालयमा ४ जनाको दरबन्दी, २ जना राहत कोटा र २ जना बालविकास तर्फगरि कूल ८ जना शिक्षक र १ जना कार्यालय सहयोगी गरी ९ जना कर्मचारी छन्।

विद्यालय पुग्दा यस्तो देखियो अवस्था

अपरान्हको करिब २ बजेको थियो, विद्यालयका ८/१० जना विद्यार्थीहरु भुईमै बसेर दिवा खाजा खाँदै थिए। विद्यालयका कार्यालय सहयोगी पुरुषोत्तम रजक विद्यार्थीहरुलाई खाजा खुवाउन व्यस्त थिए। विद्यार्थीहरु खाजा खाएर आ-आफ्नो घरतिर लागे। त्यसपछि विद्यालयको कार्यालयभित्र छिर्यौँ।

कार्यालय भित्रको दृश्य त गज्जबको थियो। शिक्षकहरुको एक समूह हाँसो ठट्टामा व्यस्त थिए भने चारजना शिक्षकको अर्को समूह राजनीति कुरामा। तर खाजा खाएर आ–आफ्नो घर जानलागेका विद्यार्थीहरुलाई कसैले रोकेनन्।

यसरी कुनै शिक्षकले विद्यार्थीलाई नरोक्दा नेपाल सरकारले लागू गरेको विद्यालयको १० बजेदेखि ४ बजे सम्मको समय तालिका कार्यान्वयनमा नआएको प्रस्ट देखिन्छ। 

विद्यालयका प्रधानाध्यापक गीता यादवले भनिन्, ‘विद्यालयको हाजिरी रजिस्टरमा १५० जना विद्यार्थी रहेको हाम्रो तथ्यांक छ तर सबै विद्यार्थीहरु विद्यालय नआउँदा बाध्य भएर गफ गर्दै समय बिताउछौँ।’

विद्यालयका दुईवटा कक्षाकोठा बाढीले बगाएपछि विद्यार्थीहरु डरले समेत विद्यालय आउन नमान्ने यादवले बताइन्।

त्यस्तै जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले भने, ‘ विद्यार्थी कति आउँछन् त्यस विषयमा मलाई जानकारी छैन। चाँडै धनुषाका सम्पूर्ण विद्यालयहरुमा अनुगमन गर्ने तयारीमा छु।’

रजकले थप्दै भने, ‘ विद्यालयको कक्षाकोठा बाढिले बगाएको कुरा आफु पटकपटक स्थानिय तहलाइ जानकारी गराउँदै आएका छौ तर स्थानिय तहलेभने यसकुरालाइ व्यवास्ता गदै आलटाल गर्न थालेका छन्।’

स्थानीय किसन साहका अनुसार विस २०४४ सालमै बनेको ऐतिहासिक विद्यालयमा स्थानीय सरकारले ध्यान नदिनु दुःखद रहेको बताए।

साहले भने, ‘यस विद्यालयमा त प्रत्येक दिन विद्यार्थी भन्दा बढि शिक्षक नै देख्छु। शिक्षकहरु प्रत्येक दिन चौरमा बसेर गफ गरेको देख्दा पटकपटक विद्यार्थीलाई पढाउन शिक्षकहरुलाई भन्यौँ, तर कसैले हाम्रो सुनेनन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here