समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । ठीक दुई वर्ष अगाडी प्रदेश दुईको प्रदेशसभाको पहिलो बैठक बसेको थियो । शुरुका दिनमा प्रदेश दुईको प्रदेशसभामा तीव्रगतिमा कानून निर्माणका कार्यहरु भए । पछिल्लो समयमा प्रदेशसभा नियमित रुपमा बस्न सकेन । पहिलो वर्ष त सत्ता पक्ष र प्रतिपक्षी दलको वाकयुद्धमै बितेको थियो भने पछिल्लो वर्ष उपभोक्ताहरुको भुक्तानी विवादको असर प्रदेशसभामा समेत पर्यो । सो विवादकै कारण प्रदेशसभा प्रभावित हुन पुगेको छ । फलस्वरुप कानून निर्माणका कार्यहरु समेत गति लिन सकेको छैन । पहिलो वर्षमा १६ वटा कानून निर्माण गरेको प्रदेशसभाले दोस्रो वर्षमा थप ७ वटा कानून मात्रै निर्माण गर्न सक्यो ।

प्रदेशसभाले अहिलेसम्म मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी विधेयक, प्रदेशको सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा बनेको विधेयक लगायतका विधेयकहरु पास भई सकेका छन् । यी विधेयकहरुलाई तत्कालिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रमाणिकरण समेत गरि सकेका छन् ।

गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रियासम्बन्धी विधेयक, गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि, प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक,सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी विधेयक, दलित सशक्तीकरण विधेयक लगायतका विधेयकहरु समेत पारित भईसकेका छन् । केही प्रमाणिकरण भईसकेका छन् भने केही प्रमाणीकरण हुन बाँकी रहेको छ ।

प्रदेशसभामा आएका विधेयकहरुमध्ये सबैभन्दा बढी चर्चा प्रदेश प्रहरी ऐनले पायो । प्रदेश प्रहरी ऐनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा उभिएपनि बहुमतको आधारमा सो विधेयक पास गर्यो । त्यस्तै करारमा कर्मचारी भर्ना सम्बन्धि विधेयक समेत विवादित बन्न पुग्यो । प्रतिपक्षी दलले आफ्नो कार्यकर्ता भर्नाका लागि यो विधेयक ल्याइएको भन्दै बिरोध नै जनाए । यी सबका बिच प्रदेशसभामा ४३ वटा विधेयकहरु प्रदेशसभामा आए तर अहिलेसम्म २३ वटा विधेयकहरु मात्रै पास हुन सकेको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उपेन्द्र कुश्वाहाले प्रदेशसभाको दुई वर्षको अवधि उपलब्धिमूलक रहेको दावी गरे । उनले यो अवधिमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर निक्कै महत्वपूर्ण कानूनहरु निर्माण गर्नु प्रदेश दुईको लागि उपलब्धिपूर्ण रहेको बताए । फेरी पछिल्लो समयमा सरकारले विजनेश दिन नसकेकै कारण प्रदेशसभाको नियमित बैठक बस्न नसकेको दावी गरे । उनले पछिल्लो समयमा प्रदेशसभा गति लिन नसक्नुमा सरकार नै दोषी रहेको आरोप लगाए ।

नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेश दुईको प्रदेशसभाबाट महत्वपूर्ण कानूनहरु निर्माण गरेको छ जो प्रदेशकै लागि उपलब्धिमूलक कार्य रहेको दावी गरे । प्रदेशसभाको अहिलेको प्राथमिकता प्रदेशको नाम र राजधानीको विषयमा निक्र्यौल गर्नुपर्ने रहेको बताए । यसका लागि समितिमा सहमतिका प्रयासहरु भई सकेका छन् चाँडै नै यस विषयमा निर्णय हुने जानकारी गराए ।

सत्तारुढ राजपाका प्रदेशसभा सदस्य सुरिता साहले संघिय सरकारले संघियताको मर्म विपरित अगाडी बढिरहेकोले प्रदेश सरकारले जुन गतिमा काम गर्नुपर्ने हो गर्न नसकेको स्वीकार गरेकी छिन् । प्रदेश दुईको सरकारले विधेयकहरु ल्याउनमा जति समय खर्चेको छ त्यती समय बाँकी कुनै प्रदेश सरकारले नखर्चेको उनले दावी गरिन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभामा अहिले पनि कयो विधेयकहरु प्रवेश पाई सकेको र कुल ६० वटा विधेयक पाइपलाइनमा रहेको जानकारी गराए ।

भित्र रमझम बाहिर पिडित उपभोक्ता धर्नामा

प्रदेश दुईकाे प्रदेशसभा गठन भएकाे दुई वर्ष पुगेको अवसरमा भवनभित्र भव्‍यताका साथ वार्षिकाेत्सव मनाइरहँदा बाहिर भने उपभोक्ता समितिका पदाधिकारीहरुले रकम भुक्तानीको माग गर्दै धर्ना दिएका छन्।

उनीहरुले विकास निर्माणको काम बापतको रकम भुक्तानी दुई वर्ष वितिसक्दा पनि नदिएको भन्दै प्रदेश सरकारविरुद्ध धर्नामा बसेका हुन्।  उनीहरुले धर्नामा मन्त्रीको राजीनामा समेत माग गरेका छन्।

प्रदेशसभा भवनभित्र भइरहेको कार्यक्रममा प्रदेश प्रमुख, प्रदेश सभामुख, मुख्यमन्त्री लगायत सांसदहरु सहभागि छन्।

बाहिर उपभोक्ता समितिका पदाधिकारीहरु धर्नामा बसेका छन्। उनीहरुले केही दिनअघि सार्वजनिक ठाँउमै मुख्यमन्त्री तथा मन्त्रीहरूको तस्बिरमा जुत्ता प्रहार गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here