समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विराटनगर। समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं. २ को सरकार परिवर्तन नहुने बताएका छन्।

प्रेस नेपाल मोरङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश नं. २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरू भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने जिकिर गरे। पूर्वउपप्रधानमन्त्री यादवले राजपासँग समाजवादी पार्टीको एकीकरण छिट्टै हुने पनि बताए।     

उनले सबै नेपालीको चाहनाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै विश्वमा संविधान संशोधन भएको इतिहास रहेको उल्लेख गरे।

यादवले सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने चेतावनी पनि दिए। एक प्रश्नको जवाफमा उनले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको बताए।  

समाजवादप् अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरू गर्ने बताए। संसदीय संरचना, शासकीय स्वरूप तथा राज्य पुनःसंरचनाका सवालमा संविधान संशोधन हुनुपर्ने यादवको माग छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग संसद्प्रति उत्तरदायी हुने पर्नेमा जोड दिँदै पूर्वाग्रहको आधारमा कारबाही नगरी सबैलाई समान व्यवहार गर्नुपर्ने तथा प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने औंल्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here