समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
चन्द्रदेव साह
जनकपुरधाम, १५ पुस ।
श्रम तथा रोजगार कार्यालय जनकपुरले वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको श्रम स्वीकृति दिने कार्यको आजबाट सुरुवात गरेको छ ।
प्रदेश २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट आएको टोलीको सहजिकरणमा आजबाट श्रम स्वीकृतिको काम सुरु गरेको हो ।
श्रम स्वीकृति गराएका पहिलो सेवाग्रही धनुषाका जिलानी मोमिनलाई फूलको माला र अबिर लगाएर विभागका महानिर्देशक उदय कुमार गुप्ता, शाखा अधिकृत गणेश श्रेष्ठ र कार्यालय प्रमुख मनोज कुमार यादबले स्वागत् गरे ।
श्रम स्वीकृतिको काम प्रदेशमै गराउन पाएपछि समय र खर्चको वचत भएको धनुषा बहुअर्वाका मोहम्मद जिलानी मोमिनले खुशी ब्यक्त गरे ।
महोत्तरीको बर्दिबासबाट श्रम स्वीकृति गराउन आएका मनोज कुमार महतोले जनकपुरबाटै श्रम स्वीकृति सुरु भएपछि खाने, बस्ने, भाडावापत् ५ हजारभन्दा बढी रकम कम लाग्ने भन्दै श्रमको काम जनकपुरबाट हुनु सुखद भएको अनुभूति सुनाए ।
श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मनोज कुमार यादबले श्रम स्वीकृतिको लागि १५ सय राजश्व र उमेर अनुसार बिमाको रकम लाग्ने जनाए । दैनिक १५ सयदेखि २ हजारसम्म सेवाग्रहीको चापले ताहाचलस्थित श्रम तथा कार्यालयमा स्वीकृतिको लागि जाँदा भारी खर्च र बढी समय लाग्ने झञ्झटबाट मुक्ति पाउने सेवाग्रहीले आशा गरेका छन् ।
श्रम तथा रोजगार कार्यालय जनकपुरमा श्रम स्वीकृतिको सुविधा थपिएपछि १५ जना कर्मचारीको दरबन्दी रहेकोमा ७ जना कर्मचारीबाट सेवाको सुरुवात गरिएको छ । प्रदेश २ को ८ जिल्लाबाट मात्रै विदेश गएका श्रमिकको संख्या ५ लाख ८२ हजार २ सय ८१ रहेको छ ।
भिडियो रिपोर्ट यहा :