समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारहरु माथि भएको हातपातको विरोधमा आन्दोलनको कार्यक्रम तय गर्नका लागि संघर्ष समिति गठन गरेको छ ।
गत पुस २२ गते मंगलवार सूचना लिन गएका पत्रकारहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहकै कार्यकक्षमा पत्रकारहरुसँग भएको हातपात तथा कुटपिटको विरोधमा महासंघ धनुषाले आन्दोलनको कार्य तयगर्न समिति गठन गरेको हो ।
यसअघि पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषी माथि कारबाही गर्नका लागि ज्ञापन पत्र मार्फत दिएको पाँच दिने अल्टिमेट समाप्त भएपछि महासंघले आन्दोलनको कार्यक्रम तय गर्न लागेको हो ।
संघर्ष समितिमा पत्रकार किरण कर्ण, विरेन्द्र रमण, अजय अनुरागी, राजेश कर्ण, सुजित झा, उपेन्द्रभगत नागवंशी, नित्यानन्द मण्डल, मनिका झा लगायत प्रेस संगठनका धनुषा संयोजक शैलेन्द्र महतो, प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, प्रेस नेपाल धनुषाका अध्यक्ष अर्जुन मण्डल, प्रेस मञ्च नेपाल धनुषाका अध्यक्ष जयन्त ठाकुर र मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष शुभाष कर्ण रहेका छन् ।
समितिले आन्दोलनको कार्यक्रम तय गर्नुका साथै दोषीमाथि कारबाहीका लागि थप दवाब श्रृजना गर्नका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्थासंग समन्वय गर्ने निर्णय समेत गरेको हो ।
साथै पत्रकार कुटपिट सम्बन्धमा विभिन्न राजनीतिक पार्टी, संघ संस्थाहरुले देखाएको सदभाव प्रति धन्यवाद ज्ञापन गर्दै पत्रकारहरु माथि भएको कुटपिट तथा हातपात घटनाको छानविन गर्न पत्रकार महासंघको केन्द्रिय मिशन टोली, प्रादेशिक मिशन टोली, राष्ट्रिय मानव अधिकार आयोग सहितका विभिन्न अधिकारवादी टोलीहरुलाई पत्राचार गरि मिशन टोली माग गर्ने निर्णय गरेको छ ।
गत मंगलवार जानकी मन्दिरको फुलवारी अतिक्रमण सम्बन्धमा प्रतिक्रिया लिन जाँदा पत्रकारहरु माथि कुटपिट तथा हातपात भएको थियो । उक्त घटनामा ४ जना पत्रकार घाहिल समेत भएका थिए ।