निरीक्षकलाई चमार, दलित भनेर हेपे

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । दुई नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर शाहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्ष तथा निरीक्षकहरुलाइ गालीगलौज गर्दै दादागिरी देखाएका छन् ।

एसईई परीक्षाको पहिलो दिन आइतवार बिहान प्रदेश राजधानी जनकपुरस्थित सरस्वती नमुना उच्च माध्यामिक विद्यालयमा निरीक्षण गर्न पुगेका मन्त्री शाहले केन्द्राध्यक्षसहित परीक्षा हलमा निरीक्षक बसेका विद्यालयका शिक्षकहरूलाई गालीगलौज गर्दै धम्काएका हुन् ।

बिहान ९ बजे विद्यालय पुगेका मन्त्री साहले निरीक्षकको परिचयपत्रमा फोटो नभएको भन्दै गालीगलौज गरेका हुन् । विद्यालयका शिक्षक बेचन रामलाई मन्त्री साहले हिन्दीमा गालीगलौज गर्दै भने,-‘तुम्हे संस्कार नही हैं । फोटो क्यूं नै रखा ।’ उक्त विद्यालयकै स्थायी शिक्षक रहेका निरीक्षक बेचन रामले आफूलाई चमार/दलित भनेर मन्त्रीले हप्काएको बताए । बेचन रामले आफू यसै विद्यालय स्थायी शिक्षक भएको भन्दै मन्त्रीलाई परिचयपत्र पनि देखाएका थिए ।

त्यस्तै मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डलमाथि पनि हप्कीदप्की गरेका छन् । केन्द्राध्यक्ष मण्डलले भने,-‘मलाई पनि आएर गाली गर्नुभयो । तपाईको जागिर खाइदिन्छु । तपाईलाई हटाइदिन्छु । ‘बेवकुप’ भनेर हप्काउनुभयो ।’ मण्डलका अनुसार मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले केन्द्राध्यक्ष बनाएको भनेर हप्काए ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मण्डलले मन्त्रीको हर्कत सहेरै भएपनि परीक्षा सञ्चालन गरेको बताए ।

परीक्षा केन्द्रमा चार जनाको परिचयपत्रमा फोटो थिएन । फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन् ।

मन्त्रीको हप्कीदप्कीपछि नेपाल शिक्षक संघ धनुषाले पत्रकार सम्मेलन गर्दै मन्त्रीको राजीनामा मागेको छ । संघका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको हुनसक्ने भन्दै उक्त व्यवहारप्रति कटु आलोचना गरेका छन् ।

मन्त्रीको हर्कतबारे उनका स्वकीय सचिव राजकुमार यादवले भने, ‘कतिपयको फोटो नभएका कारण मन्त्रीज्यूले हप्काउनु भएको हो । चमार वा दलित भनेर हेपेको भने होइन ।’

उक्त केन्द्रमा ११ वटा विद्यालयको सेन्टर परेको छ । परीक्षाका लागि ४०८ विद्यार्थी सहभागी हुनुपर्नेमा ३९४ जना विद्यार्थी उपस्थित भएको केन्द्राध्यक्ष मण्डलले जानकारी दिए । परीक्षाका लागि १८ जना खटाइएको पनि उनले जानकारी दिए ।

यसअघि पनि मन्त्री साहले आफ्नै गृहजिल्ला सप्तरीमा पत्रकारहरुलाइ जुत्ताले हान्नुपर्ने अभिव्यक्ति दिदाँ विवादमा परेका थिए । पदीय मर्यादा बिर्सेर पटकपटक यस्ता हप्कीदप्की, गालीगलौज तथा विवादित अभिव्यक्ति दिदै आएपनि मन्त्री साह माथि कुनै किसिमको कारवाही हुनसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here