This image has an empty alt attribute; its file name is 1768155835_nepal_vs_malaysia_c.jpg
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले मलेसियामाथि ७ विकेटको शानदार जित हात पारेको छ। मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ८३ रनको योगफल तयार गरेको थियो।

बने दुई रेकर्ड

कप्तान ज्ञानेन्द्र मल्ल (५१ रन)को विष्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियामाथि जित हात पारेको हो। अर्धशतक प्रहार गर्ने क्रममा उनले मात्र २१ बलको सामना गरे। यो अन्तर्राष्ट्रिय टी-२० मा नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको द्रुत अर्धशतक हो। मल्लको पारीमा ५ चौका र ३ छक्का सामेल छ।

पारस खड्का घाइते भएपछि कप्तानीको समेत जिम्मा पाएका ज्ञानेन्द्र आफ्नो भूमिकामा खरो उत्रिएका हुन्।

ज्ञानेन्द्र आउट हुनुअघि अर्का प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीसँग मिलेर कीर्तिमानी साझेदारी गरेका थिए। १२ रन बनाएका प्रदीपले ज्ञानेन्द्रसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन्। यो नेपालका लागि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक साझेदारी हो।

यसअघि कतारसँग मंगलबार भएको खेलमा पारस खड्का र ज्ञानेन्द्र मल्लले गरेको ४९ रनको साझेदारी नै यसअघिको उत्कृष्ट प्रारम्भिक साझेदारी थियो।

यस्तै विनोद भन्डारीले छक्का प्रहार गर्दै एक ओभरअघि नै नेपाललाई जिताएका हुन्। उनले १३ रन प्रहार गरे।

मलेसियाका मुहम्मद स्याहदातले सबै ३ विकेट हात पारेका थिए।

यसअघि सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसियाले सुरुवातमै विकेट गुमाएको थियो। पहिलो ओभरमा नै उसले प्रारम्भिक ब्याट्सम्यान अनवर अरुदिन र सफिक सिरफलाई शून्य रनमा गुमाएको थियो। मलेसियाका दुवै प्रारम्भिक ब्याट्सम्यानलाई सोमपाल कामीले पेवेलियन फर्काइदिएका थिए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सइद अजिजले सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुनुअघि ३० रनको पारी खेले। आक्रामक ब्याटिङ गरेका उनले मात्र १५ बलमा ५ चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन्।

अमिउद्दिन राम्ली(५ रन) सोमपालको बलमा बोल्ड हुँदा मुहम्मद स्याहदात (१ रन) करण केसीको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुन पुगे।

१ चौका र १ छक्काको मद्दतमा भिरानदिप सिंहले २१ रन बटुले। उनी वसन्त रेग्मीको बलमा सन्दीप लामिछानेबाट क्याच आउट भएका थिए। कप्तान अहमद फैजले ९ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। महँगो सावित भएका उनले २ ओभरमा २१ रन दिएका थिए। यसबाहेक वसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट हात पारे।

पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो। यसकारण पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण शृंखला ‘क्लिनस्विप’ गरेको थियो।

हारपछि पनि अंकतालिकामा मलेसिया नेपालभन्दा माथि

जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। २ खेलमा समान एक/एक जित र हार ब्यहोरेको भए पनि मलेसिया अंकतालिकामा नेपाल भन्दा माथि छ। मलेसिया २ अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।

आयोजक सिंगापुर ३ अंकसहित पहिलो स्थानमा छ। जारी एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता जित्ने टोली टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

नेपालले तेस्रो खेल शनिबार कुवेतसँग र अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here