समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । अज्ञात समूहले गराएको बम विस्फोटबाट धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको दुई दिन नबित्दै धनुषामा फेरी बम आतंक देखिएको छ । २४ घण्टाभित्र धनुषाको विभिन्न तीन ठाउँमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको छ ।

धनुषा सदरमुकाम समेत रहेको प्रदेश २ को राजधानी जनकपुरमा दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित उच्च मा.वि. पर्वतामा शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकटमोचन मन्दिर देखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु आईतबार राति ९ बजे फेला परेको हो । बम हो वा होइन भन्ने यकिन नभइसकेको र घटनास्थल वरपर कडा सुरक्षा बीच आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ । स्थानीय एक पसलको पर्खालमा झोलाभित्र राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ । शंकास्पद वस्तु भेटिएपछि रंगभूमि मैदान वारहविघा छेउमा स्थानीयहरु त्रसित बनेका छन् । घटनास्थलमा घेरा हालेर आवतजावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलि पुगिसकेको छ ।

याे पनि : जनकपुरमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकामा एउटा बम डिस्पोज नहुँदै वडा नम्बर ९ कै सरस्वती नमुना माध्यमिक विद्यालय नजिकै सोमबार बिहान फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ । प्लाष्टिकमा बेरिएको अवस्थामा बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित उच्च मा.वि. पर्वतामा शंकास्पद वस्तु फेला परेको छ । विद्यालयको झ्यालमा शंकास्पद बस्तु भेटिएपछि विद्यार्थीहरुमा भागभाग भएको छ । विद्यालयको झ्यालमा शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीहरुमा भागमभागसँगे गाउँलेहरु पनि त्रसित भएका छन् । बम जस्तै देखिने शंकास्पद बस्तु विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लाष्टिकमा बेरिएर राखिएको वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरीले विद्यालय खाली गराएको हो ।

विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्यहाँबाट विद्यार्थीसहित गाउँलेलाई पनि आवतजावत बन्द गरेको छ । सेतो प्लाष्टिमा राखिएको शंकास्पद वस्तु बम हो वा होईनन भनेर यकिन गर्न सेनाको बम डिस्पोज टोलीलाई खवर गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here