समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


धनुषा। धनुषाका १३ वटा स्थानीय तहको अनुदान काटिएको छ।

राजस्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारबाहीस्वरूप ती स्थानीय तहको अनुदान कटौती गरिएको हो।

प्रदेश २ कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिर हुन नदिने स्थानीय तहलाई पनि कारबाही गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, मुख्यपट्टी मुसरनिया, नगराइन, कमला, बटेश्वर, औरही, जनक नन्दनी, गणेशमान चारनाथ, क्षिरेश्वरनाथ, मिथिला बिहारी र हँसपुर नगरपालिका कारबाहीमा परेको प्रदेश कोलेनिकाले जनाएको छ।

धनुषाका सबैला नगरपालिका, शहीदनगर नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र लक्षमिनियाँ गाउँपालिका भने कारबाहीबाट बचेका छन् । यी पाँच स्थानीय तहले समयमै सबै काम गरेकोले अनुदान पठाउने निर्णय भएको प्रमुख गेलालले जानकारी दिए।

स्थानीय तहले संकलन गरेको राजश्वमध्ये ६० प्रतिशत राखेर ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने प्रावधान छ।

राजस्व नबुझाउने स्थानीय तहको अनुदान पनि कटौती हुने भए पनि अधिकांश स्थानीय तहले प्रदेश सरकारलाई राजस्व बुझाएका छैनन् ।

प्रदेशलाई राजस्व बुझाउन सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।

“राजश्व बुझाउन पत्राचार भएको छ। नबुझाउने स्थानीय तहको सेवा सुविधा काटिनेछ”, गेलालले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here